हजयात्रामा भ्रष्टाचारको आशंका, अख्तियारलाई संसदीय समितिको निर्देशन



दृष्टान्त संवाददाता (काठमाडौं, ९ साउन) – प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले हजयात्रामा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको छ ।
सांसदहरुले हजयात्रामा भ्रष्टाचार भएको आरोप लगाएपछि समितिले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । मुस्लिम आयोगको आर्थिक वर्ष २०७७÷०७८ को बार्षिक प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको बैठकमा सांसदहरुले हजयात्रामा पठाउने क्रममा अनियमितता भएको भनी प्रश्न उठाएका थिए ।
‘हजयात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमिततामाथि अनुसन्धान गरि निष्कर्षमा पुग्न समितिको यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ’, समितिको निर्णयमा भनिएको छ ।
मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले गएको वर्ष हज जानेहरुसँग दुई लाख ३० हजार रुपैयाँ लिइएको र यस वर्ष बढेर ४ लाख ६३ हजार ८०० रुपैयाँ पु¥याइएको भन्दै भ्रष्टाचार भएको आशंका गरेका छन् । यसरी महँगो हुनुको कारण खोजी गर्दा आयोगले नै नपाएको उनको भनाइ छ ।
समितिले हजयात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नहुनुको कारण जानकारी गराउन मुस्लिम आयोगलाई निर्देश गरेको छ ।
आयोग अध्यक्ष स्वयम अन्सारीले अजयात्राको व्यवस्थापन गृह मन्त्रालयत अन्तर्गत रहने हज कमिटीले गर्ने बताएका थिए । साथसाथै उनले हजयात्रामा अनियमतिता भएको आशंका गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ४७ बजे