‘युक्रेनलाई विश्व मानचित्रबाट मेट्ने रूसी प्रयास’



संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी छन् ।

सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले विश्व मानचित्रबाट युक्रेनलाई मेट्न रूसले खोजेकामा अब कुनै शङ्का नरहेको बताइन् ।रूसका पछिल्ला अमानवीय गतिविधिले त्यसतर्फ सङ्केत गरेको उनले बताइन् ।

रूसले पूर्वी युक्रेनी क्षेत्र डोनेस्क र लुहान्स्क, दक्षिणी खेरसोन र जापोरिज्जियालाई अवैध रूपमा आफ्नो कब्जामा लिएर त्यसको आधार निर्माण गरिरहेको उनले दाबी गरिन् । अमेरिकी राजदूतले रूसका विदेशमन्त्री सर्गेई लाभरोभले पनि रूसको युद्धको लक्ष्य पनि त्यही नै भएको अभिव्यक्ति दिएको बैठकमा स्मरण गराइन् ।

विदेशमन्त्री लाभरोभले गत आइतवार कायरोमा भएको अरब शिखर सम्मेलनमा युक्रेनमा मस्कोको मुख्य लक्ष्य आफ्ना जनतालाई अस्वीकार्य शासनबाट मुक्त गर्नु हो भनेका थिए । मस्कोको युद्धको उद्देश्य पूर्वमा डोनेस्क र लुहान्स्क सम्मिलित युक्रेनको औद्योगिक डोनबास क्षेत्रभन्दा बाहिर फैलिएको स्पष्ट गर्दै उनले युक्रेनी जनतालाई जनविरोधी वर्तमान शासनबाट मुक्त हुन मद्दत गर्नेछौँ भनेका थिए । रसियाका नायब राजदूत दिमित्री पोल्यान्स्कीले पनि सुरक्षा परिषद्मा युक्रेनलाई पूर्णरूपमा निःशस्त्रीकरण गरिने बताए ।

डोनबासमा रूस वा युक्रेनबाट जोखिम हुन नहुने भन्दै उनले धेरै वर्षपछि त्यहाँका जनताले पहिलोपटक आफूले चाहेजस्तो जीवन बिताउन पाएका बताए । पोल्यान्स्कीले लामो दूरीमा प्रहार गर्नसक्ने रकेटसहितका हतियार आपूर्ति गर्ने पश्चिमा देशलाई चेतावनी दिँदै रूसी सैन्य कारबाही त्यसलाई परास्त गर्नका निम्ति पनि भएको बताए ।

युक्रेनी नागरिकले आफूले विश्वास गर्ने देश रोजेका बताउँदै रूसी कूटनीतिज्ञ पोल्यान्स्कीले युक्रेनको राजनीतिक र सैन्य नेतृत्वमा फस्टाएको भ्रष्टाचार त्यसको कारक भएको दाबी गरे । उनले पश्चिम राष्ट्रबाट युक्रेनलाई उपलव्ध गराइएका घातक हतियार युरोपसम्म फैलिने चेतावनी पनि दिए । पश्चिमा देशका हतियारले केवल युक्रेनी जनताको पीडा बढाएको दाबी गर्दै उनले आफ्नो देशले गरेको विशेष सैन्य अभियानका उद्देश्य हासिल हुने भइछाड्ने बताए । साथै उनले आगोमा इन्धन थप्नुको कुनै अर्थ नभएको दोहो¥याए । अमेरिकी राजदूतले रूसको नाम नलिइकन सबै देशहरूलाई कूटनीतिक माध्यमबाट समस्याको निकास खोज्न आह्वान गर्दै रूसी कदमबाट वर्तमान सङ्कट समाधान नहुने बताइन् ।

उनले विद्यालय र अस्पतालमा बम आक्रमण, सहायताकर्मी र पत्रकारहरूको हत्या, युद्धको त्रासदीबाट बच्न खोज्ने नागरिकहरूलाई लक्षित गर्दै भएका प्रहार, बुचामा आफ्नो दैनिक व्यवसायमा जानेहरूमाथि भएका अत्याचारको फेहरिस्त उनले प्रस्तुत गरिन् । राजधानी किएभ बाहिरको क्षेत्रमा रूसी सेनाले गरेको नरसंहार,जबरजस्ती हिरासतमा राखेर भएका सोधपुछ, हजारौँ युक्रेनीलाई निर्वासनमा जान बाध्य गरिएका, बालबालिकामाथि भएका चरम दुव्र्यवहारबारे पनि अमेरिकी राजदूतले बैठकलाई जानकारी गराइन् । रूसी बोल्ने उनीहरूलाई बलपूर्वक आफ्नो भूमिमा जान बाध्य पारिएको छ । मानवअधिकार हनन, युद्ध अपराध र ज्यादतीका घटना बढेका छन् । युक्रेनीलाई सास्ती दिन रूसी राष्ट्रपतिका अधिकारीहरूले निरीक्षण एवम् समन्वय गरिरहेका उनले सुनाइन् । यसैबीच, युक्रेनी र रूसी अधिकारीहरूका अनुसार करिब २० लाख युक्रेनी शरणार्थीलाई रसिया पठाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : २१ बजे