बङ्गलादेशका प्रधानमन्त्रीको राष्ट्रपति भवनमा स्वागत, आजै प्रधानमन्त्री मोदीसँग वार्ता



भारतको चारदिने भ्रमणमा सोमबार यहाँ आउनुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालाई आज बिहान राष्ट्रपति भवनमा औपचारिकरूपमा स्वागत गरिएको छ ।

उहाँलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको हो । विदेशमन्त्री एस जयशङ्कर पनि प्रधानमन्त्री मोदीका साथमा हुनुहुन्थ्यो । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको स्वागतका निम्ति राष्ट्रपति भवन सजिएको थियो । बङ्गलादेशकी प्रधानमन्त्री हसिनाले आज राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उहाँले समकक्षी नरेन्द्र मोदीसँग पनि आजै भेटवार्ता गर्नुहुनेछ ।

सोमबार यहाँ आउने वित्तिकै उहाँले भारतका विदेशमन्त्रीसँग भेट गरी द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको थियो । हिजै उहाँले दिल्लीको प्रमुख पर्यटकीय एवम् तीर्थस्थल निजामुद्दीनको पनि भ्रमण गर्नुभयो । सतह र सामुद्रिक सीमाङ्कन, रक्षा सहयोग बढाउने, सम्पर्क सञ्जाल विस्तार, विकास सहायता, सांस्कृतिक आदानप्रदान, ऊर्जा प्रवद्र्धन एवम् त्यसको व्यापार, बन्द व्यापार एवम् वाणिज्य दक्षिण एसियामा दिगो स्थायित्व कायम गर्नेलगायत पारस्परिक हित र चासको विषय वार्ताका शीर्ष विषयवस्तु हुनेछन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र शेख हसिनाको दूरदर्शी नेतृत्वमा भारत र बङ्गलादेश बीचको बहुआयामिक सम्बन्ध क्रमशः सुमधुर बन्दै गएको छ भने प्रधानमन्त्री हसिनाको यो भ्रमणले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन बल मिल्ने बताइएको छ । भारतको ‘छिमेकीलाई पहिलो प्राथमिकता’ नीतिअनुरूप बङ्गलादेश एक महत्वपूर्ण साझेदार हो । नयाँदिल्लीले सुरक्षा, व्यापार, वाणिज्य, ऊर्जा, यातायात र विज्ञान तथा प्रविधि, प्रतिरक्षा, नदी तथा समुद्री मामिलालगायत सबै क्षेत्रमा सहयोग विस्तार गर्दै आएको छ । दक्षिण एशियामा बङ्गलादेश भारतको सबैभन्दा ठूलो व्यापार साझेदार हो । पछिल्लो पाँच वर्षका द्विपक्षीय व्यापार नौ अर्ब अमेरिकी डलरबाट बढेर १८ अर्ब डलर पुगेको छ ।

भारतका निम्ति बङ्गलादेश चौथो ठूलो निर्यात गन्तव्य पनि हो । सन् २०२१ मा दुई देशबीचको सम्बन्ध ५०औँ वर्षमा प्रवेश गरेपछिको उहाँको यो पहिलो भ्रमणलाई भारतले उच्च महत्व दिएको छ । सोही वर्ष प्रधानमन्त्री मोदीले बङ्गलादेशको भ्रमण गर्नुभएको थियो । सन् २०१५ यता दुवै देशका प्रधानमन्त्रीबीच १२ पटक भेट भइसकेको छ । गत वर्ष बङ्गलादेशको स्वतन्त्रताको ५०औँ वार्षिकोत्सव तथा त्यसका संस्थापक शेख मुजिबुर रहमानको १००औँ जन्मजयन्ती पनि मनाइएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ६ : २७ बजे