टिप्पणी: गगन पराजित होलान्, तर प्रतिस्पर्धा हार्दैन



काठमाडौं — लेनिनले भनेका छन्, ‘राजनीतिमा सित्तै कसैले केही दिदैंन, संघर्ष गरेर जित्नुपर्छ ।’ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेतामा उम्मेद्वारी दिएर एउटा आशान्वित् संघर्षको आरम्भ गरेका छन् ।


त्यसो त देउवा पनि गिरिजाप्रसाद कोइरालालाई चूनौती दिएरै स्थापित भएका हुन् । तर पुराना पार्टीहरु संकटमा पर्दै गरेको बेला युवा नेता गगनले बृद्ध देउवालाई चूनौती दिंदै भनेका छन् — कांग्रेसको भविश्य अव तपाई होइन, म हुँ । शान्तपूर्वक उम्मेद्वारी फिर्ता लिनुस् ।’

गगनले हिम्मत नगरेको भए उनी पार्टी महाधिवेशनबाट सर्वाधिक मतसहित महामन्त्री निर्वाचित हुने थिएनन् । अव प्रधानमन्त्री नै बन्ने हो भन्ने दृढता नराखेका भए संसदीय दलको नेतामा प्रतिस्पर्धा पनि गर्ने थिएनन् । गगन एउटा आम कांग्रेसी नेता जस्तै हुन्थे, शायद देउवाले दिएको एकथान मन्त्री हुन्थे र एउटा आम कांग्रेसी चरित्र धारणा गरेर रामचन्द्र पौडेलजस्तै पिंध नभएका लोटाको पहिचानमै सिमित हुन्थे ।

हेर्दाहेर्दै,कांग्रेसमा अव रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाहरु धेरेको राजनीति सकियो किनकी यिनले राजनीतिको उत्तरार्धमा देउवाका सहयोगीवाहेक कुनै पहिचान बनाउन सकेनन् । पार्टी सभापतिमा शेखरलाई साथ दिएको भए देउवाको राजनीतिमा पूर्णविराम लाग्थ्यो, शायद उनीहरुलाई शेखरभन्दा देउवा सहज लागे । प्रधानमन्त्रीको आश्वासन बाँडेपनि कम्तिमा एउटा मन्त्रीसम्म दिन्छ वा सांसदसम्म भएपनि बनाइदिन्छ भन्ने लागेको थियो । र, भयोपनि त्यही तिनजनै सांसद भए देउवाकै निगाहमा ।

गगनले संसदीय दलको नेतामा देउवालाई पराजित गर्छन् वा गर्दैनन्, त्यो फरक बिषय हो तर कांग्रेसका अवका नेता गगन हुन् भन्ने निर्विवाद स्थापित गरेका छन् । देउवालाई सभापतिमा हराउनुपर्छ भनेर शेखरलाई उभ्याउने मुख्य भूमिकामा गगननै थिए, शायद त्यही कारणले उनले प्रधानमन्त्रीमा आफूलाई प्रस्तुत गर्दा शेखरको समर्थन पाउने विश्वास राखेका थिए । शेखर–गगन समुहको छलफलमा आफूसँग परामर्श नगरी गगनले प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्ने सार्वजनिक घोषणा र दावी गरेकोमा शेखरमात्र होइन, उक्त समुहका बुढा नेताहरुको पनि असन्तुष्टी व्यक्त भएको थियो । शेखरलाई गगनको पालो आउँछ नै, यसपटक तपाई नै संसदीय दलको नेतामा लड्नुपर्छ भन्ने राय दिने एक दर्जन सांसद पनि थिए । र, शेखरले अधिकतम प्रयास गरेर गगनलाई रोक्ने कोशिश पनि गरे । अन्ततः उनी पछि हट्न बाध्य भए ।

छलफलमा सहभागिहरुका अनुसार, गगनले काठमाडौं ४ का मतदाता समक्ष आफूले मतमाग्दा नै संसदीय दलमा भिड्ने हो र देउवालाई पराजित गरेर प्रधानमन्त्री बन्ने हो भन्ने बाचा गरेकाले पछि हट्न नसक्ने बताएका थिए । आफ्नो समुहबाट समर्थन नपाएपनि संसदीय दलको प्रतिस्पर्धाबाट पछि हट्न नसक्ने भनेपछि समुहको निर्णयमा उनी सर्वसम्मत नै भए । र, उम्मेद्वारी दर्ता गराउँदा गगनको पक्षमा उनको समुहका सवै नेताहरु उपस्थित पनि भए । त्यतिमात्र होइन, प्रदीप पौडेल, दिपक गिरी लगायतका अर्को पक्षमा नेतापनि गगनको पक्षमा खुलेका छन् । निर्वाचनसम्ममा गगनको पक्षमा सांसद बढ्न पनि सक्छन् र उनले देउवालाई पराजित पनि गर्न सक्छन् । यद्धपी, कांग्रेसको संसदीय दलको अहिलेको गणित गगनको पक्षमा भने देखिदैंन ।

शेखरले गगनलाई कुनै लेनदेन नगरी समर्थन गरेका हुन् ? होइनन् । श्रोतका अनुसार, अवको कांग्रेस सभापतिका उम्मेद्वार शेखर हुन् भनेर गगनले सार्वजनिक घोषणा गरेर अघि बढ्नुपर्नेछ । अर्थात्, गगन संसदीय दलको नेतामा पराजित भएपनि कांग्रेस सभापतिमा दावी गर्न भने पाउने छैनन् । त्यही शर्तमा शेखर र उनी पक्षका नेताले गगनलाई संसदीय दलमा समर्थन गरेका हुन् । तर यस्ता सहमतिलाई आकस्मिक परिस्थितिले तोड्न पनि सक्छ, त्यो त्यसबेलानै निर्णय हुन्छ ।

गगन पार्टीभित्रभन्दा बाहिर अझ लोकप्रिय छन् र उनी शायद पुराना पार्टीमा भएका थोरै नेतामध्ये आम जनतामा आशा संचार गर्न सक्ने एक नेता हुन् । निर्वाचन जितेपछि प्रधानमन्त्री उद्घोष गरेका उनलाई देउवा, प्रकाशमानहरु हराउन लाग्छन् भन्ने थाहा भएरै रवि लामिछाने, बालेन्द्र शाहसँग उनले चुनावी हिसावकिताव मिलाएका थिए । उनले घण्टीका उम्मेद्वारलाई पनि मिलाए । र, शायद उनले सोचभन्दा बढी अन्तरमा बिजयी भए ।

गगन माक्र्सवादी–लेनिनवादी होइन, अध्ययन अवश्य गरेका छन् । उनले एकातिर ठोस परिस्थितिको ठोस विश्लेषण गरे र अर्कातिर संघर्षविना राजनीतिमा सित्तैमा कसैले केही दिंदैन भन्ने सोचलाई यर्थाथमा रुपान्तरण गरेका छन् । राजनीतिमा उमेरमात्र पनि सबै कुरा होइन, युवा हुँदैमा सोच युवाको हुन्छ वा नयाँ केही भइहाल्छ भन्ने पनि हुँदैन । उनका कमजोरी पनि छन् । तर तिनका वावजुद पनि गगनमा केही गरौं भन्ने हुटहुटी देखिन्छ र उनी योजनावद्ध रुपमा अघि बढेका पनि देखिन्छन् । गगनलाई हेरेर कांग्रेसको भविश्य छ भन्नेहरुको संख्या ठूलो छ, जुन कम्युनिष्ट र अन्य पार्टीमा देखिदैंन ।

जे होस् गगनले देउवालाई चूनौती दिएर कांग्रेसको दोश्रो नेता आफू भएको स्थापित गरेका छन् । र, डामाडोल राजनीति सम्हाल्न आफू तयार रहेको सन्देशसमेत दिएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : २६ बजे