सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछु : उपप्रधान तथा अर्थमन्त्री पौडेल


रासस

११ पुस २०७९, सोमबार  

57
Shares

काठमाडौँ – नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणपछि पौडेलले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि आफूले काम गर्ने बताउनुभयो । “अर्थतन्त्रका अहिलेका चुनौतीहरू के हुन् ? ती चुनौती सिर्जना हुनुको कारण के हो ? त्यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के हुन् ? र तिनको समाधानका लागि के कदम चाल्नुपर्छ ? भन्ने विषयमा सबै क्षेत्रका विज्ञसँग सघन छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो, “अर्थतन्त्रका समस्या पहिचान गर्ने र त्यसको समाधान गर्ने आत्मविश्वासका साथ यो जिम्मेवारीमा आएको छु ।”

अर्थतन्त्रलाई लयमा फर्काउन विगतका अनुभवबाट पाठ लिने तथा अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्र र विज्ञहरूसँग राय सल्लाह लिएर अघि बढ्ने उहाँको भनाइ छ । त्यस्तै, नेपालको अर्थतन्त्र सम्हाल्नै नसकिने अवस्थामा पुगिनसकेको पनि उहाँले बताउनुभयो । “अर्थतन्त्रका अघि देखा परेका चुनौतीहरू काबु बाहिर छैनन् । तिनलाई समाधान गर्न सकिन्छ । राष्ट्रिय अर्थतन्त्रलाई सबल ढङ्गले अघि बढाउन सकिन्छ भन्ने विश्वास पनि दिलाउन चाहन्छु”, पौडेलले भन्नुभयो । सार्वजनिक खर्चको दायरालाई कसरी कम गर्ने र पूँजीगत खर्च कसरी बढाउन सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने पनि उहाँको भनाइ छ । दलहरूको भागबन्डामा परेर आफू अर्थमन्त्री बनेको नभई निर्वाचनपछि जनताले दिएको जिम्मेवारी पूरा गर्न आएको पनि उहाँको भनाइ छ ।

“हामी भागबण्डामा होइन कर्तव्य निर्वाहमा विश्वास गर्छौं । निर्वाचनको नतिजास्वरूप यो सरकार बनेको हो र मुलुकलाई नेतृत्व गर्ने अभिभाराअनुसार हामी आएका हौँ”, उपप्रधान एवं अर्थमन्त्री पौडेलले भन्नुभयो । जिम्मेवारी सम्हाले लगत्तै पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायको कार्यसम्पादनलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उहाँले आफ्नो पहिलो निर्णयका रूपमा अर्थमन्त्रालय र अन्तर्गतका निकायको कार्यसञ्चालन व्यवस्थापन प्रणालीलाई डिजिटलाइजेसन गर्नेसम्बन्धी निर्णय गर्नुभएको हो । “अर्थमन्त्रालयअन्तर्गतका सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनका लागि डिजिटल प्रणाली कार्यान्वयनमा गर्नेसम्बन्धी निर्णय भएको छ”, अर्थसचिव कृष्णहरी पुष्करले भन्नुभयो ।

पौडेलको उपप्रधानमन्त्रीका रूपमा दोस्रो र अर्थमन्त्रीका रूपमा यो तेस्रो कार्यकाल हो । पौडेलको स्थायी ठेगाना बुटवल उपमहानगरपाकिा ८, रुपन्देही रहेको छ भने हाल ललितपुरमा बस्दै आउनुभएको छ । बाबु देवीलाल पौडेल र आमा रेवती पौडेलको छोराका रूपमा उहाँको जन्म २०१६ मङ्सिर १५ गते स्याङजा भएको थियो । उहाँको श्रीमती दोमाया पौडेल र एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँ रुपन्देही –२ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोओर्डिनेशन कमिटी (माले) को सदस्य भएर २०३५ साल असोजमा राजनीतिमा प्रवेश गर्नुभएका उहाँले २०३५ मङ्सिरदेखि पूर्णकालीन सदस्य भएर काम गर्नुभएको थियो । विसं २०४१ मा नेकपा (माले) को जिल्ला कमिटी सचिव, नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य भएर २०४७ र २०५९ मा एमाले स्थायी कमिटी सदस्य भएर काम गर्नुभयो । उहाँले २०६५ सालमा एमाले सचिव, २०७१ सालमा नवौँ महाधिवेशनपछि एमाले उपमहासचिव तथा २०७५ सालमा नेकपाको महासचिवको जिम्मेवारी लिएर काम गर्नुभएको थियो ।

उहाँले संविधान अभिलेख अध्ययन तथा निक्र्योल समिति सभापति (२०७०) काम गर्नुभएको थियो । अर्थमन्त्री पौडेलले युवा खेलकुद तथा संस्कृतिमन्त्री (२०५३), जलस्रोतमन्त्री (२०६५), रक्षामन्त्री (२०६०), अर्थमन्त्री (२०७२) भएर काम गर्नुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि उहाँ शिक्षक हुनुहुन्थ्यो । उहाँको अर्थ र विकासमा विशेष रुचि रहेको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले राजनीतिक घटनाक्रमका क्रममा २०३५ देखि २०४६ सम्म भूमिगत जीवन बिताउनुभयो । उहाँले २०३७ मा तीन वर्ष जेल र रु तीन हजार जरिवाना गरिएको थियो । उहाँले ४५ दिनमै जेल विद्रोह गर्नुभएको थियो । एमालेका प्रभावशाली नेताका रूपमा परिचित उपप्रधानमन्त्री पौडेल चार दशकदेखि राजनीतिमा क्रियाशील हुनुहुन्छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ३६ बजे