एमालेले बनाएको सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ ।

पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उहाँले आउँदो मङ्गलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गर्नुभयो ।

“वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भन्नुभयो । अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताउनुभयो ।

“बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पु¥याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पु¥याउन सक्छ”, उहाँले भन्नुभयो । उहाँले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताउनुभयो ।

अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताउनुभयो । “निर्वाचनअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली जनता खुसी छन्”, उहाँले भन्नुभयो । एमालेमा जनसङ्गठनको असाधारण महत्त्व रहेको उहाँका धारणा थियो । सोमबारसम्म सञ्चालन हुने कार्यशालामा २३ जनवर्गीय सङ्गठनका एक सय ३० पदाधिकारी सहभागी रहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ५६ बजे