नेपाल आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ



नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको हो।

निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ। निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ।

हाल एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १७० रूपैयाँ छ। निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ९ : ५९ बजे