सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।
महाशिवरात्रि पर्वको अवसरमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतले बताउनुभयो । मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको उहाँले जानकारी दिनुभयो । अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आजको दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
महाशिवरात्रि पर्वमा सहज एवं छिटो दर्शन गर्ने व्यवस्था मिलाइनुका साथै सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ । मन्दिरमा लाइन बसेको आधा घण्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ । गत वर्ष करिब ५० हजार दर्शनार्थी आएकोमा यस वर्ष एकलाख दर्शनार्थी आउने अनुमान गरिएको छ । महाशिवरात्रि पर्वका लागि भारतबाट तीन सयभन्दा बढी साधुसन्त आएको उहाँले जानकारी दिनुभयो ।
यहाँ आएका साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने र फर्कने बेलामा भेटीको रुपमा यातायात खर्चको व्यवस्थासमेत गरिएको छ । दर्शनका लागि आएका भक्तजनलाई समेत प्रसादी एवं भोजनको व्यवस्था गरिएको छ । जगातीबाट डोलेश्वर जाने यातायातको साधन बिहानदेखि नै जाम भएपछि जगातीबाट डोलेश्वर र सूर्यविनायक चोकबाट डोलेश्वर जाने दुई सडकलाई एकातर्फी गरिएको छ ।
प्रतिक्रिया