विद्रोही लक्षित इजरायली सेनाकाे आक्रमणमा ११ जना प्यालेस्टाइनीको मृत्यु, १०० घाइते


रासस

११ फाल्गुन २०७९, बिहिबार  

0
Shares

इजरायल। इजरायली सेनाले वेस्टबैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तिमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने १०० जनाभन्दा बढी घाइते भएका छन्। इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो। इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन्। इस्लामिक जिहाद लडाकु समूहले इजरायली सेनासँगको भीडन्तमा आफ्ना दुई कमाण्डर मारिएको बताएको पनि सीएनएनले उल्लेख गरेको छ।
लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भीडन्तमा संलग्न भएको पुष्टि गरेको छ तर तिनीहरूका सदस्यहरू मारिएका छन् वा छैनन् भनी स्पष्ट पारेको छैन। नाब्लस आक्रमणमा मारिएका मध्ये एक हमास सदस्य रहेको प्यालेस्टिनी लडाकु समूहले जनाएको छ। हमासले हुसम सलीमलाई सदस्य र शहीद भएको दाबी गरेको छ ।
आइडीएफले एकजनालाई भाग्ने क्रममा गोली लागेको र अन्य दुईजना सेनासँगको गोली हानाहानमा मारिएको सीएनएनले जनाएको छ। इजरायली अधिकारीहरूले जनाएअनुसार संदिग्धहरूले इजरायली सेना विरुद्ध ढुङ्गा, मोलोटोभ ककटेल र विस्फोटक उपकरणहरू प्रहार गरेका थिए।
त्यसैगरी प्यालेस्टाइनका अनुसार सो झडपमा कम्तिमा १०२ जना घाइते भएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १२ : ०९ बजे