संविधानको अक्षरशः पालना गर्ने प्रमुख दायित्व : नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार भएका नेता रामचन्द्र पौडेलले नेपालको संविधानको अक्षरशः पालना गर्ने आफ्नो प्रमुख दायित्व हुने बताएका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवार दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको रक्षा गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र गणतन्त्रलाई संस्थागत गर्न आफ्नो सहयोग हुने बताए ।

नेता पौडेलले भने, “नेपाली जनताको हातमा आएको सार्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नु पर्नेछ, हालसम्मका परिवर्तनका उपलब्धिलाई रक्षा गर्दै मुलुकको उन्नति अगाडि बढाउने र राष्ट्रिय एकता तथा अखण्डतालाई सवल बनाउन काममा मेरो सहयोग हुनेछ ।”

उनको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न पार्टीका शीर्ष नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका थिए । उनको प्रस्तावकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान छन् ।

यसैगरी उम्मेदवार पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मिुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

यसअघि आजै बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा पार्टीका तर्फबाट पार्टीका पूर्वकावा सभापति एवं पूर्वसभामुख पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय गरेको थियो ।
रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ९ : १३ बजे