रुसी राष्ट्रपतिका सहयोगी बेलारुसका राष्ट्रपति चीन भ्रमणमा, पश्चिमा देश सशङ्कित


रासस

१६ फाल्गुन २०७९, मंगलबार  

152
Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटका सहयोगी बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को चीनको राजकीय भ्रमणमा यहाँ आउनुभएको छ ।

आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा उहाँको भ्रमण भएको हो । युक्रेन युद्धलाई लिएर भूराजनीतिक तनाव बढिरहेका बेला राष्ट्रपति लुकासेन्को भ्रमणलाई पश्चिमा देशले आशङ्काका साथ हेरिहेका छन् । चीनले रुसलार्य सैन्य सहायता उपलव्ध गराउने विवरण सार्वजनिक भइरहँदा उनीहरू त्यसबाट चिन्तित छन् । अमेरिकाले चीनबाट रुसलाई हतियार सहायता भएमा त्यसले गम्भीर परिणाम ल्याउने चेतावनी दिएको छ ।

राष्ट्रपति लुकासेन्को भ्रमणलाई चीन र बेलारुसबीचको चौतर्फी सहयोग अभिवृद्धि गर्न तथा पारस्परिक सहयोग एवम् विकास प्रवद्र्धन गर्ने अवसरका रुपमा लिइएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । चीनले युक्रेनलाई रक्षात्मक हतियार उपलव्ध गराएर वासिङ्टन र उसका सहयोगीले द्वन्द्वलाई उकासेको अरोप लगाउँदै आएको छ । बेइजिङले शान्ति वार्तालाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै अमेरिकी आरोपलाई धब्बापूर्ण अभियानको संज्ञा दिएको छ । “अमेरिकालाई चीन र रुसबीचको सम्बन्धबारे औँला उठाउने अधिकार छैन, हामी कुनै पनि हालतमा अमेरिकी दबाब र जवरजस्ती स्वीकार गर्दैनौँ,” विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार नियमित पत्रकार सम्मेलनमा भन्नुभयो ।

बेइजिङले एक वर्ष पुरानो युक्रेन युद्धमा तटस्थ अडान कायम राखेको स्पष्ट गर्दै रुससँगको मैत्री असिमित रहेको बताएको छ । चीनले युक्रेन आक्रमणको आलोचना पनि गरेको छैन भने मस्कोलाई युद्ध अन्त्य गर्न आह्वान पनि गरेको छैन । चीनले संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)लाई द्वन्द्व उक्साएको आरोप लगाएको छ भने रुस र उसको सैन्य प्रयासलाई सहयोग गर्ने संस्थाविरुद्ध लगाइएको प्रतिबन्धको निन्दा गरेको छ । राष्ट्रपति लुकासेन्को रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी मानिनुुहुन्छ । उहाँले युक्रेनमा मस्कोको आक्रमणलाई समर्थन गर्नुभएको छ । बेलारुस आर्थिक र राजनीतिकरूपमा आफ्नो छिमेकीमा निर्भर छ ।

चीनका विदेश मन्त्री छिन गङले आफ्ना बेलारूसी समकक्षी सर्गेई अलेनिकलाई गत शुक्रबार टेलिफोन गरेर बेइजिङले मिन्स्कसँग पारस्परिक राजनीतिक विश्वासलाई अझ प्रगाढ बनाउन चीन इच्छुक रहेको बताउनुभएको थियो । साथै उहाँले ‘बेलारुसको राष्ट्रिय स्थायित्व कायम राख्न सहयोग गर्न जारी राख्ने, बाह्य शक्ति उसको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा मिन्स्कमा गैरकानूनी एवम् एकपक्षीय प्रतिबन्ध लगाउने प्रयासको विरोध गर्ने’ बताउनुभएको थियो । गत वर्षको सेप्टेम्बरमा राष्ट्रपतिद्वयबीच उज्बेक शहर समरकन्दमा भेटवार्ता भएको थियो । त्यसबेला उहाँहरूले पारस्परिक सहयोग एवम् रणनीतिक साझेदारीको घोषणा गर्नुभएको थियो ।

युक्रेन र रुससँग सीमा जोडिएको बेलारुसले गत वर्ष युक्रेनमाथि आक्रमण गर्न मस्कोलाई आफ्नो भूमि प्रयोग गर्न अनुमति दिएको थियो । बेलारुसले मस्कोको युद्ध प्रयासमा फेरि सहयोग गर्न सक्ने किएभले चिन्ता व्यक्त गरेको छ । युक्रेन युद्धबारे शुक्रबार चिनियाँ विदेश मन्त्रालयले १२ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै युक्रेन सङ्कट समाधानका निम्ति तत्काल शान्तिवार्ता थालिनुपर्नेमा जोड दिएको थियो । बेइजिङले शान्ति वार्ताको थालनी तथा क्षेत्रीय सार्वभौमसत्ताको सम्मान गर्न युद्धरत पक्षलाई आह्वान गरेको छ । त्यसकानिम्ति अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो भूमिका निर्वाह गर्न आह्वान गर्दै चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ । चीनले युक्रेन युद्ध अन्त्य गर्ने प्रस्ताव सार्वजनिक गरेपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने योजनामा आफू रहेको बताउनुभएको छ । यद्यपि चीनले यस सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन । आफ्नो भूमिमाथि रुसी आक्रमणको वार्षिकीका सन्दर्भमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले प्रस्तुत प्रस्तावबाट चीन शान्तिको खोजीमा रहेको सङ्केत गरेको बताउनुभयो ।

राष्ट्रपति जेलेन्स्कीले रुसलाई चीनले हतियार उपलव्ध गराउँदैन भन्नेमा आफू विश्वस्त हुन चाहेको पनि बताउनुभयो । चिनियाँ प्रस्तावले शान्तिवार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गरेको उहाँले उल्लेख गर्नुभयो । चिनियाँ प्रस्तावमा रुसी सेना युक्रेनबाट फर्किनुपर्ने विषय समेटिएको छैन । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि चिनियाँ प्रस्ताव सकारात्मक रहेको उल्लेख गर्दै बेइजिङले मस्कोलाई हातहतियार सहयोग गर्छभन्ने आफूलाई नलागेको बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि चिनियाँ प्रस्तावको प्रशंसा गर्नुभएको छ । बेलारुसले मस्कोप्रति दृढ समर्थन गर्दै आएको छ । गत वर्ष युक्रेन आक्रमणका बेला आफ्नो क्षेत्रलाई प्रयोग गर्न उसले अनुमति दिएको थियो । बेलारुसले रुसी सेना, लडाकु विमान र अन्य हतियार राख्न सहयोग गर्दै आएको छ । सन् १९९४देखि बेलारुसका एकमात्र राष्ट्रपति लुकासेन्कोसँग चीनले घनिष्ठ सम्बन्ध कायम गरेको छ । लुकासेन्कोले सन् २०२० मा विवादका बीच पुनःनिर्वाचित भएपछि विपक्षी र पश्चिमी देशप्रति असहिष्णु भएको तथा विरोधीलाई दबाएको आरोप छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ७ : २६ बजे