अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभ बीच भेट



नयाँ दिल्ली । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ । रुस-युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएको बताइएको छ ।

भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी २० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त भेटवार्ता भएको हो । करिब १० मिनेटसम्म चलेको वार्तामा सामान्य कुराकानी भएको बताइएको छ ।

लाभरोभले जी २० को दोस्रो सत्रको बीचमा सङ्क्षिप्त भेट गरेका हुन् । यद्यपि त्यहाँ कुनै वार्ता वा वास्तविक बैठक भएन,ू द टाइम्स अफ इन्डियाले एक रूसी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्तालापको क्रममा ब्लिन्केनले रुसलाई विशेष सैन्य कारबाही अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुन, नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्व अमेरिकी मरीन पल व्हेलनलाई रिहा गर्न आग्रह गरेको छ ।

तर रुसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्वीकार्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ४ : ४६ बजे