आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ ।

प्राधिकरणले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो । विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सूचनामार्फत निर्देशन दिएको छ ।

“सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको तथा सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरी दिनुहोला । प्राधिकरणको सहमति नलिई विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला”, प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : २० बजे