समाचार टिप्पणी

प्रचण्ड प्रधानमन्त्री हुन कि जनयुद्धका सुप्रिम कमाण्डर ?

माओवादीलाई कुनै देशीविदेशी साम्राज्यवादी शक्ति र प्रतिक्रियावादी शक्तिले घेरा हाल्नुपर्दैन वा समाप्त पार्नुपर्दैन, यो आफैं विघटनउन्मुख छ । २०६४ को पहिलो माओवादी दल र त्यसका सुप्रिमो प्रचण्डको त्यो बेलाको क्रेज र १५ बर्षपछि आजको ३२ सिटे तेश्रो माओवादी र त्यसका अध्यक्ष प्रचण्डको क्रेज तुलनामात्र गर्दा पुग्छ ।



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २३ मा सरकारसँग एउटा माग राखे – शान्तिप्रक्रियाका वाँकी काम टुङयाउन तुरुन्तै कानुनी व्यवस्था गरियोस् ।’ प्रधानमन्त्रीले नै सरकारसँग माग राखेपछि अव कुन सरकारले यो संवोधन गर्छ, त्यो पनि प्रतिक्षाकै बिषय भयो ।


तर प्रधानमन्त्री निवास वालुवाटारमा त्यसदिन भएको माओवादीका आठ भंगालाको वैठकमा प्रचण्डले ‘अदृश्य’ सरकारसँग मागमात्र राखेनन्, जनयुद्धका मुद्दा ब्युँताउनु ‘रहस्यमयी’ र ‘षड्यन्त्रकारी’ समेत भएको वयान दिए । प्रचण्डको भनाई उद्धृत् गर्दै वैठकमा सहभागि एक नेताले दृष्टान्तसँग भने– ‘यो वाह्य साम्राज्यवादी र आन्तरिक प्रतिगमनकारीको खेल हो ।’ शायद रिट निवेदन हाल्ने युद्धपिंडित र रिट निवेदन दर्ता गर्न आदेश दिने न्यायाधीशलाई उनले उक्त खेलका घरेलु पात्र ठानेका हुन सक्छन्, जो मिथ्या हो ।

जनयुद्धका क्रममा संगै लडेका माओवादी नेताहरु जनयुद्धसँग सम्वन्धित मुद्दामा एकठाउँमा आइपुग्नुलाई अस्वभाविक नठानौं किनकी जनयुद्धको खिलापमा कुनै माओवादी नेताले आजसम्म वयान दिएका छैनन् । जनयुद्धप्रति कसैको चर्को आक्रोस छ भने जनयुद्ध लडेका तर पार्टीबाटै अपहेलित भएका कार्यकर्ताको छ, जसको संख्या ठूलो छ । प्रचण्डले आफन्त र नातागोतालाई पहिलो प्राथमिकतामा राख्दा यी लडाकुहरुको आक्रोस स्वभाविक पनि छ ।

तर विडम्वना चाँही के भने जनयुद्धका सर्वोच्च कमाण्डर, जनसेनाका प्रमुख र पार्टी सुप्रिमो प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आएपछि यसअघि नै दुइपटक देशका प्रधानमन्त्री भएका थिए तर यो मुद्दा टुङयाउने राजनीतिक नेतृत्व लिन सकेनन् । जनयुद्धकै नेतृत्व गर्नेले जनयुद्धका मुद्दा टुङयाउँदैन भने अर्को पार्टीमाथि दोष थोपर्नु सफेद् झुट भयो । एमाले अध्यक्ष केपी ओलीले जनयुद्धका मुख्य दुई सरोकार पक्षका नेता प्रचण्ड र शेरबहादुर देउवालाई सक्रमणलिन न्यायलाई टुङयाऊ भन्दा विभिन्न वहानामा रोक्ने काम भएको बताएका छन् । यसमा प्रचण्ड र देउवाको जवाफ नआउनुले पनि केही अर्थ राख्छ ।
यति हुँदापनि पूर्व सहयोद्धाबाट प्रचण्डले ‘शंकाको सुविधा’ पाउनु एकहदले उदारताको उत्कर्ष हो, जसले काल्पनिक अफ्ठ्यारोमै भएपनि अतिक्रान्तिकारिता र संसोधनवादी जस्ता आरोप–प्रत्यारोपलाई प्रतिकूलता रहेसम्म स्थगन गर्छ । २०७६ माघ १ मा प्रचण्डले खुलामञ्चमा १७ हजारको होइन, पाँच हजारको हत्याको जिम्मा लिन्छु भनेको आधारमा दायर भएको रिटकै आधारमा माओवादीका आठ गुट एउटै पार्टी बन्छन् ? यो तत्काल सम्भव देखिदैंन । त्यसै त प्रचण्ड माओवादी पार्टीको नाम बदलेर समाजवादी राख्ने तयारीमा छन् भने फेरी बलियो माओवादी पार्टी बन्दैन ।

त्यसो भए, अहिलेको माओवादीको आक्रोस र रोदन के हो ? फेरी युद्धको धम्की दिएर जर्वजस्त जनअनुमोदनको प्रयास गर्नु र त्यही वहानामा शक्तिको सञ्जय गर्ने प्रचण्ड रणनीतिमात्रै हो । जसमा माओवादीका उपगुटहरु स्वार्थवश सहकार्यमा आएजस्ता देखिएकामात्र हुन् ।

माओवादीलाई कुनै देशीविदेशी साम्राज्यवादी शक्ति र प्रतिक्रियावादी शक्तिले घेरा हाल्नुपर्दैन वा समाप्त पार्नुपर्दैन, यो आफैं विघटनउन्मुख छ । २०६४ को पहिलो माओवादी दल र त्यसका सुप्रिमो प्रचण्डको त्यो बेलाको क्रेज र १५ बर्षपछि आजको ३२ सिटे तेश्रो माओवादी र त्यसका अध्यक्ष प्रचण्डको क्रेज तुलनामात्र गर्दा पुग्छ । कहाँका त्यसबेलाका शक्तिशाली प्रचण्ड र कहाँ आजका शक्तिहिन प्रचण्ड । प्रचण्डको मात्र होइन, प्रचण्डसँग व्यक्तित्वको टकराव भएर पार्टी फुटाएका कुनैपनि गुट समाप्तिको चरणमा छन् । त्यसैले अहिले प्रचण्ड, बाबुराम, बैद्य र बिप्लवले एउटै मंचबाट दिएका धम्की हुन् वा बेग्लाबेग्लै गरिएका हिंसाप्रेरित हर्कत, तीनबाट कोही त्रसित हुँदैनन् र त्यसलाई समयले नै निषेध गर्छ ।

कांग्रेस निकट अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी (दुवै आफैं जनयुद्धका पिंडित हुन्) ले दिएका रिटलाई देखाएर बाह्य साम्राज्यवादी र आन्तरिक प्रतिगमनकारीको खेलको काल्पनिक शत्रु खडा गरी भावनात्मक युद्ध लड्न खोजेका छन्, यो उठ्दैन । जनयुद्धलाई अलग राखेर हेर्दाको करिव १८ बर्षको खुला प्रतिस्पर्धात्मक शान्तिपूर्ण राजनीतिमा सबैभन्दा विकृति र विसंगति कुनै पार्टीमा देखियो भने त्यो माओवादीमै देखियो । धेरै विभाजन कुुनै पार्टीमा देखियो भने माओवादीमै देखियो । आफन्त र नातागोताको चहलपहल कतै देखियो भने माओवादीमै देखियो । वास्तवमै माओवादी समाजबाट परित्यक्त हुँदैआयो । र, आज जहाँबाट जनयुद्ध सुरुभयो, त्यतै सिमित देखिदैंछ ।

विचारमा अडिग हुन नसकेको, पेण्डुलमको स्विङ जस्तो चरम व्यक्तिगत अवसरवादमा रुपान्तरित भएको माओवादी नै हो र त्यसको अकन्टक नेतृत्व प्रचण्डले गरिरहेका छन् । दुई ठूला दलसँग बार्गेनिङ गरेर व्यक्तिगत फाइदा लुट्ने तर देशलाई अनन्त अस्थिरतातर्फ धकेल्ने खराव राजनीतिका नायक प्रचण्ड हुन् । नेपालका कोही अविश्वसनीय नेता छ भने प्रचण्ड छन् । एमालेले प्रधानमन्त्री बनाएको ६१ दिनमै कांग्रेससँग सहकार्य गरी आफ्नो अवसरवादी चरित्र थप उदांगो गरेका छन् ।

त्यसैले अहिले अदालतमाथि, जनयुद्धका पिंडितमाथि धम्कीको भाषा बोल्ने र देशलाई हिंसाउन्मुख गराउने माओवादी रणनीतिले अव अनुकूल परिणाम दिंदैन । प्रधानमन्त्री हुने र फेरी आफूविरुद्धको रिटलाई साम्राज्यवादीको षड्यन्त्र देख्ने प्रचण्डले विधिको शासन र न्यायलयमा विश्वास नराख्ने हो भने उनी थप खतरामा पर्नेछन् । प्रधानमन्त्री हिंसाको वकालत गर्दै बक्तब्य दिन्छन् र घरेलु मुद्दामा बाहिरी हस्तक्षेप देख्छन् र त्यसलाई रोक्न सक्दैनन् भने पदमा रहनुको अर्थ रहँदैन ।

प्रचण्डले रोज्नुपर्छ प्रधानमन्त्री र विधिको शासन कि माओवादी नेता र हिंसाको वकालत ?

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : ४७ बजे