युक्रेनका खार्किभ र ओडेसामा रुसी आक्रमण तीव्र


रासस

२५ फाल्गुन २०७९, बिहिबार  

380
Shares

किएभ । रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ । महिनौँदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरेर रुसले पानी र बिजुली आपूर्तिमा अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

खार्किभका गभर्नर ओलेग सिनेगुबोभले ती क्षेत्रका महत्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताएका छन् । प्रारम्भिक जानकारीअनुसार खार्किभ क्षेत्रको एउटा निजी आवासीय भवनमा आक्रमण भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आक्रमणबाट भएको क्षति एवम् हताहतिबारे विवरण सङ्कलन भइरहेको उनले बताए ।

खार्किभ नगरका प्रमुख इगोर तेरेखोभले ऊर्जा पूर्वाधारमा आक्रमण भएको जनाउँदै त्यसबाट विद्युत् आपूर्तिमा समस्या भएको बताएका छन् । ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम माच्र्नेकोले पनि शत्रुले ऊर्जा क्षेत्रका पूर्वाधार तथा आवासीय भवनमा क्षति भएको बताएका छन् । भाग्यवश आफ्नो क्षेत्रमा मानवीय क्षति नभएको उनले उल्लेख गरेका छन् ।

स्थानीय सैन्य प्रशासनका अनुसार किभए क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय पारिएको छ । पश्चिमी खेमेलेन्स्किी क्षेत्रका गभर्नर सेइगे गमालीले देशका महत्वपूर्ण पूर्वाधारमा रुसी आक्रमण जारी रहेको बताउँदै त्यहाँका बासिन्दालाई घरबाहिर ननिस्कन तथा सावधानी अपनाउन आग्रह गरेका छन् ।

यसैबीच, किएभका नगरप्रमुख भिटाली क्लित्सकोले देशका विभिन्न भागमा हवाई आक्रमण भइरहेका बेला राजधानीमा पनि विष्फोट भएको जानकारी दिएका छन् । राजधानीको होलोसिम्स्की जिल्लामा विष्फोट भएको जनाउँदै उनले सुरक्षा निकाय तथा सेवा प्रदायकहरू घटनास्थलतर्फ प्रस्थान गरेका बताएका छन् ।

औद्योगिक शहर बाख्मुतलाई क्रमशः आफ्नो नियन्त्रण लिएको बुधबार जनाउँदै मस्कोले अन्य क्षेत्रमा पनि आक्रमणलाई तीव्र बनाएको हो । बाख्मुत दुश्मनको कब्जामा आएमा रुस अझ उत्साहित हुने भन्दै युक्रेनले शत्रुलाई रोक्न हरप्रयास गर्नुपर्नेमा जोड दिएको छ । युक्रेनी उपरक्षामन्त्री गन्ना मलियारले बाख्मुतमा बुधबार गरिएको प्रतिकारलाई विजय मान्नुपर्ने बताएका छन् ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ९ : ४८ बजे