काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र सुधार र केही गरेर देखाउनका लागि प्रचण्ड सरकारलाई पाँचमहिनाको समयमात्रै दिएको बताएका छन् । उनले त्यस अवधिमा काम गरेर देखाउन नसकेमा सरकारमा रहनुको अर्थ नहुने समेत बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले मुलुकको ढुकुटी कसरी चलिरहेको भनेर सरकारले खबर राख्नुपर्ने बताए । ‘हामीसँग स्रोतसाधनको अभाव छ, समयको अभाव छ, प्रधानमन्त्रीले त्यो अभावको अनुभूति कति गरेको छ भन्ने कुराले हाम्रो गन्तव्यको अनुमान लगाउन सक्छौँ,’ थापाले भने, ‘अहिले सबैभन्दा धेरै नागरिकमा धैर्यताको अभाव छ । हामीसँग नागरिकलाई आशा जगाउनकालागि पाँच महिनाको समयमात्रै हो, यदि अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले केही गरिरहेको छ, सुधार हुँदैछ भन्ने अनुभूति गराउन सकेन भने संख्या जति भएपनि केही हुँदैन, गठबन्धन जति ठूलो भएपनि केही अर्थ रहँदैन ।’
थापाले सरकार बधाई साटासाटमै अल्झिएको भन्दै देश गम्भीर संकततर्फ उन्मुख रहेको बताए । ‘हामी अहिले राष्ट्रपतिको चुनाव भनेका छौँ, उपराष्ट्रपतिको चुनाव भनेका छौँ, बधाई साटेका छौँ, हिडेका छौँ, तर समय त बितिरहेकै छ,’उनले भने, ‘हाम्रो सरकारका दर्जनौँ मन्त्रालयहरू रिक्त छन, त्यहाँ खर्चमात्रै भइरहेको छ, काम भइरहेको छैन । को व्यक्ति प्रधानमन्त्री, मन्त्री भयो भन्ने कुराले अर्थ राख्दैन, हाम्रो हरेक प्रधानमन्त्रीले आफ्नो खुत्रुक्केमा कति पैसा छ ? कसरी चलिरहेको छ ? भनेर थाहा पाउनुपर्छ । अर्थतन्त्र बिग्रिएर देश श्रीलंका बन्ला कि भनेर नागरिक डराउने होइन, हाम्रो प्रधानमन्त्री डराउनुपर्छ ।’
प्रधानमन्त्रीले आफू उभिएको ठाउँ थाहा पाएमात्रै गन्तव्य तय गर्न सक्ने थापाले बताए । ‘हामी गठबन्धनको सरकारको अभ्यास गरिरहेका छौँ, तर यस्तोमा प्रधानमन्त्री दलको वा गठबन्धनको नेता हुने कि सरकारको नेता हुने भन्ने मुख्य प्रश्न देखिरहेको छु,’ थापाले भने, ‘प्रधानमन्त्रीले सरकारको नेता भएर काम गर्नुपर्ने हुन्छ ।’
प्रतिक्रिया