तीन बर्षमा तीन घोषणा

राष्ट्रपति सीद्वारा नयाँ कार्यक्रम ‘जीसीआई’ घोषणा, विश्वका प्रमुख नेताको समर्थन

यसअघि उनले सन् २०२१ मा जीडीआई र सन् २०२२ मा जीएसआई घोषणा गरेका थिए ।



काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङले नयाँ कार्यक्रम ‘ग्लोवल सिभिलाइनजेसन इनिसिएटिभ्’ (जीसीआई) प्रस्ताव गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका राजनीतिक दलका नेताबीच बुधवार भएको भर्जुअल वैठकमा राष्ट्रपति सीले यो नयाँ कार्यक्रम जीसीआई प्रस्ताव गरेका हुन् ।
राष्ट्रपति सीले यसअघि सन् २०२१ मा ग्लोबल डिभलपमेन्ट इनिसिएटिभ (जीडीआई) को घोषणा गरेका थिएभने सन् २०२२ मा ग्लोवल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) घोषणा गरेका थिए । सीपीसीले आयोजना गरेको ‘पाथ टुवार्ड्स मोर्डनाइजेसन ः द रेस्पोन्सीबिलिटी अफ पोटिकल पार्टीज्’ शिषर्कको उच्चस्तरको संवादको उद्घाटन मन्तब्यमा राष्ट्रपति सीले जीसीआई घोषणा गरेका हुन् ।
आफ्नो २३ मिनेट लामो संवोधनमा उनले विश्वमा रहेका सभ्यताहरुको पारस्परिक सम्मान, मौलिक सभ्यताहरुको संरक्षण गर्दै साझा विकास र साझा भाग्य निर्माण र सहअस्तित्वसहितको शान्तीपूर्ण विश्व निर्माणको सोच चीनले राखेको बताएका हुन् । यसैलाई उनले ‘विश्व सभ्यता पहल’ नाम दिएका हुन् ।
बिश्वको साझा विकास, स्थायी शान्ति र मानव सभ्यताको संरक्षणका लागि जीडीआई, जीएसआई र जीसीआई महत्वपूर्ण घोषणा भएको भन्दै त्यसमा सहकार्य गरेर अघि बढ्न सबै देशलाई आव्हानसमेत गरे ।
विकासको अरुको बाटोलाई रोकेर कोही पनि अघि बढ्न नसक्ने भन्दै विकासमा अघि देखिएका राष्ट्रहरुले अन्य अवकसित र विकासशिल राष्ट्रहरुलाई सहयोग गर्नुपर्ने उनले बताए । आधुनिकताका उपलब्धीलाई सबैले उपभोग गर्न पाउनुपर्ने भन्दै त्यसलाई रोक्ने काम कसैले गर्छ भने त्यसका विरुद्ध एकभएर साझा विकास र भाग्य निर्माण गर्न सबै लाग्नुपर्ने राष्ट्रपति सीले बताए ।
चीनले निरन्तर रुपमा अन्तराष्ट्रिय शान्ति र सामाजिक न्यायको रक्षाका लागि लड्दै आएको उल्लेख गर्दै राष्ट्रपति सीले कुनै राष्ट्र वा शक्तिको एकाधिकारलाई नसहने र सवैले जित्ने विश्व प्रणालीको पक्षमा आफू रहेको पनि बताए ।
एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका बिभिन्न पार्टीका करिव चार सय नेता सहभागि कार्यक्रममा राष्ट्रपति सीको जीसीआईको प्रस्तावलाई केही राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखले समर्थन गरेका थिए । उनीहरुले जीडीआई, जीएसआई र जीसीआईको पक्षमा आफूहरु रहेको भन्दै त्यसले कुनै देशको एकाधिकार अन्त्य गर्ने र सवैले जित्ने विश्व प्रणाली विकास गर्ने बताएका थिए ।
सीको प्रस्तावको दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामाफोसा, भेनुजुएलाका राष्ट्रपति निकोलस मडुरो, सर्बियाका राष्ट्रपति अलेसान्दर भुसीलगायतले समर्थन गरेका थिए । उनीहरुले चीनियाँ विकासबाट आफूहरु प्रभावित रहेको भन्दै राष्ट्रपति सीको प्रस्तावको पक्षमा रहेको बताएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १० : ०० बजे