असललाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गरौँ : सहकारी अभियन्ता



काठमाडौँ । मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको तथा स्थापनाको मूल्य मान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शङ्काको दृष्टिले नर्हेन सुझाव दिएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल सुरु गरिसकेको सन्दर्भमा सबै सहकारीलाई एउटै दृष्टिकोणले नर्हेन उनीहरुले आग्रह गरे । सहकारीका सन्दर्भमा बुधबार यहाँ आयोजित छलफलमा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले समस्याग्रस्त सहकारी समाधान समितिलाई समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाबाट बचतकर्ताको रकम शीघ्र फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन भइसकेको बताए ।

समितिले यसबीचमा बचतकर्ताको रु. ४५ करोड फिर्ता गराइसकेको छ भने एक हजारभन्दा बढी सहकारीको श्रेस्ताको अनुसन्धान गरिरहेको छ । सहकारी विभागले सहकारीको मूल्य मान्यताविपरीत कार्य गर्ने सञ्चालकको राहदानी र बैंक खाता रोक्का गरी बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको सचिव रेग्मीले जानकारी दिए ।

मन्त्रालयले असल सहकारीलाई प्रोत्साहन गर्ने र गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने कार्यमा सहयोग गर्न सविच रेग्मीले सहकारी महासङ्घका पदाधिकारीसँग आग्रह गरे । मन्त्रालयले सबै जिल्ला सङ्घलाई यस्तो भूमिका निभाउन आग्रह गर्दै सहकारी महासङ्घमार्फत निर्देशन पठाइसकेको छ ।

महासङ्घका अध्यक्ष मीनराज कँडेलले गलत गर्ने सहकारीलाई कुनै पनि जिल्लाका पदाधिकारीले प्रोत्साहन नगर्न र यसमा सचेत हुन सबै सञ्चालकलाई सुझाव दिए । सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले समस्यामा परेका बचतकर्ताको समस्या सुन्न र समस्या समाधान गरिदिने निकाय देशमा रहेकाले आशाको सञ्चारको सन्देश प्रवाह गर्न ध्यानाकर्षण गराएका छन्।

विभागका रजिष्ट्रार नमराज घिमिरेले गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन विभाग सक्रिय रहेको जानकारी दिए । कार्यक्रमका अन्य सहभागी वक्ताले सहकारी अभियान गलत नभएकाले केही सञ्चालकको गलत क्रियाकलापबाट उत्पन्न समस्यालाई समाधान गर्न सबै सरोकारवालाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको सुझाव दिए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ११ : ४८ बजे