उपराष्ट्रपति छाड्नुपर्दा सीकेका शर्त : संघमा उपप्रधानमन्त्री र मधेश प्रदेशको मुख्यमन्त्री



काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपराष्ट्रपति आफ्नो पार्टीले नपाए मधेश प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन् । मुख्यमन्त्री तत्काल नपाउने भएमा केन्द्रमा उपप्रधानमन्त्रीको अर्को शर्तसमेत राखेका छन् ।

सत्तारुढ दलको हिजो प्रधानमन्त्री निवास वालुवाटारमा भएको वैठकमा उनले उपराष्ट्रपति आफ्नो पार्टीले नछाड्ने अडान राख्दै छाड्ने अवस्थामा आएमा सशर्तमात्रै छाड्ने बताएका थिए । उपराष्ट्रपति छाड्ने हो भने मधेश प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दावी रहन्छ, वैठकमा उनले भनेका थिए । जनता समाजवादी पार्टीलाई मधेशको मुख्यमन्त्री र उपराष्ट्रपति पनि छाड्न आफ्नो पार्टी तयार नभएको उनले बताएका थिए ।

अघिल्लो गठवन्धनमा एमालेको पहलमा मधेश प्रदेशमा जसपा र जनमतले आधा आधा कार्याकाल मुख्यमन्त्री चलाउने समझदारी बनेपछि पहिलो आधा कार्याकाज जसपाले लिएको थियो । मधेश प्रदेशमा सबैभन्दा ठूलो दल एमाले हो भने दोश्रो ठूलो दल कांग्रेस हो । जसपा तेश्रो र जनमत चौथो ठूला दल हुन् ।

‘हामीले उपराष्ट्रपतिमा सहयोग गरौंला । तर के जसपाले मधेस प्रदेशको नेतृत्व अहिले नै छाड्छ त ? छाड्दनै भने किन गठवन्धन बनाउने ? किन एउटै पार्टीलाई सवै पद दिने ?,’ बैठकमा राउतले प्रश्न उठाएका थिए । डा. राउत स्वंम पनि संघीय सरकारमा उपप्रधानमन्त्री भएका जान चाहान्छन् । अघिल्लो गठवन्धनमा उनले उपप्रधानमन्त्री दावी गरेका थिए तर नपाउँदा पार्टीबाट उपाध्यक्षको नाम प्रस्ताव गरेका थिए । राउतले उपप्रधानमन्त्रीसहित केन्द्रमा दुई मन्त्रालय र मधेस प्रदेशको मुख्यमन्त्रीमा दावी गर्दा उपराष्ट्रपति लगायतका पदमा सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : १४ बजे