कुन हाँसो उचित र कुन हाँसो अनुचित



हाँसो मानव जातिमा निहित जन्मजात स्वभाव हो । तपाईँलाई थाहा छ रु हाँसो उचित र अनुचित दुई प्रकारको हुन्छ । यदि हाँस्न योग्य ठाउँमा वा हाँस्नै पर्ने ठाउँ र परिवेशमा हाँसो उठ्यो त्यो हाँसो उचित हाँसो हो भने हाँस्न अनुचित ठाउँमा वा हाँस्नै नहुने ठाउँमा हाँसो उठ्यो भने त्यो अनुचित हाँसो हो । ख्याल गर्नुस् है, बिहानदेखि बेलुकीसम्म तपाईँ कति ठाउँमा जानुहुन्छ र त्यो दिन तपाई पटकपटक हास्नु पनि हुन्छ होला । तपाईँ जुन हाँसिरहेको हुनुहुन्छ त्यो हाँसो उचित हो या अनुचित भन्ने कुरो कमै हेक्का राख्नुहुन्छ वा सायद हेक्का नै पनि हुन्न होला । यो लेख पढेर तपाईको हाँसो उचित हो या अनुचित हो सेल्फ टेस्ट अर्थात् स्वपरीक्षण गर्नुस् है ।

तपाईलाई यहाँनिर एउटा भनिहालूँ, अर्थात् झुक्याएर केही सिकाइ पनि हालूँ । यदि तपाई उचित हाँसो हाँस्नुहुन्छ भने त्यो हास्य रस हो, यदि तपाई अनुचित हाँसो हाँस्नुहुन्छ भने त्यो हास्यको आभास वा हास्याभास हो । हाम्रो पूर्वीय साहित्य शास्त्रमा उचित हाँसोलाई हास्य रस भन्ने गरिन्छ भने अनुचित हाँसोलाई हास्य रस भनिँदैन, त्यसलाई हास्य रसको आभास मात्र अर्थात् हास्याभास भनिन्छ ।

तपाई हाँस्दा तपाईलाई हेर्ने दर्शकले पनि तपाईको हाँसोलाई उचित ठान्यो भने अथवा उसले पनि तपाईसँगै हाँसेर आनन्द लिने र आस्वाद लिने स्थिति सिर्जना भयो भने त्यो हाँसो उचित हो । अव भन्नुहोस्, तपाई हाँसिरहँदा लोकले, समाजले र व्यक्तिले त्यो हाँसोको आस्वाद लिएको छ वा छैन ! लिएको छ वा लिने खालको हाँसो हाँस्नुभएको छ भने त्यो हास्य हो नत्र भने त्यो अनुचित हो र हास्याभास हो ।

बालक जब जन्मन्छ उ जन्मनासाथ रून्छ । मानिसलाई जिन्दगीभरि यसरी रुनुपर्छ भनेर सिकाउन पर्दैन । रुन उसले नजन्मँदै सिकेर आएको हुन्छ । त्यसैले रुनुलाई मानवको जन्मजात स्वभाव मानिन्छ । यसरी माया गर्न, हास्न, रुन, रिसाउन, खुसी हुन, जोश ( वीरता ) हुन, घिन मान्न, अनौठो मान्न र शान्त हुन सिकाइ रहनपर्दैन । यस्तो परिस्थिति विभिन्न वातावरणबाट पैदा हुँदा मान्छेभित्रको त्यो भाव आफै जाग्छ र ऊ हास्छ रुन्छ र रिसाउँछ । यस्ता मानिसमा हुने यी जन्मजात स्वभाव हुन् । साहित्यशास्त्रमा यस्ता स्वाभाविक रूपमा मानिसका हृदयमा हुने भावका रति, हास, शोक, क्रोध आदि शृङ्गार, हास्य, करुण, आदि नौवटा प्रकार बताइएको छ । यिनै भावबाट क्रमशः शृङ्गार, हास्य, करुण, रौद्र आदि नौवटा रस निष्पन्न हुन्छन् । यी सबैको कुरो म यसै स्तम्भमा क्रमशः लेख्ने नै छु ।

अहिले भने म तपाईहरूलाई यी भावका नौ प्रकारमध्ये हास्य वा हाँसोका बारेमा मात्र बताउँदै छु । त्यसैक्रममा उचित हाँसो, अनुचित हाँसो र त्यसको खास साहित्यिक र व्यावहारिक पक्षबारे अलिकति बताइहाल्छु । मनोज गजुरेलले मोदी, ट्रम्प आदिको भेषभूषा, आकृति, चेष्टा आदिको अनौठो अभिनय गर्दा बोल्दा दर्शकहरू बडो मजाले हाँसेका हुन्छन् । अनौठो अभिनय भन्नु नै साहित्यशास्त्रमा अस्वाभाविक र विकृत अभिनय हो । गजुरेलको अर्कै परिवर्तित वा अर्कै खालको बोली पोशाक र चेष्टा देखेर र सुनेर दर्शक हाँसेका हुन् । नेपाली टेलिसिरियलहरूमा आउने धुर्मुस सुन्तली र पाँडेकाजीका अभिनय होऊन् वा विभिन्न मिडियाबाट प्रतिस्पर्धात्मक रूपमा आयोजना गरिने कमेडी शोमा प्रतिस्पर्धीहरूले गरेका क्यारिकेचर वा व्यङ्ग्य आदि अभिनय होऊन् ती सबैमा विकृत आकृति, विकृत बोली विकृत पोशाक, र विकृत चेष्टा नै हँसाउने माध्यम बनेको देखिन्छ । हाँसोको पात्र जेलाई बनाइएको हुन्छ त्यो हाँसो उठ्ने वस्तुलाई वा हाँसो पैदा हुने स्रोतलाई साहित्य शास्त्रमा आलम्बन भनिन्छ ।

यसरी क्यारिकेचर वा कसैको नक्कल गरेर हिड्ने, आफूलाई आफैले विकृत रूपमा प्रस्तुत गरेर वा सिल्ली बनाएर बोल्ने वा अभिनय गर्ने गर्यो भने पनि त्यो सुन्ने वा देख्ने दर्शक हाँसेका हुन्छन् । व्यावहारिक रूपमा यस्तो देखेर वा त्यस्तो कुराको वर्णन गरेको साहित्य पढेर हाँस्नु उचित हाँसो हो । साहित्यशास्त्रका विद्वान् विश्वनाथले खासमा कुनै व्यक्तिको विकृत आकृति वा अनुहार देख्दा, कुनै प्राणीको वा वस्तुबाट निस्कने विकृत आवाज, कुनै प्राणीका विकृत वेशभूषा र कसैका विकृत चेष्टा वा हाउभाउ देख्दा उत्पन्न हुने हाँसो चाहिँ उचित हाँसो हो भनेका छन् । यसो भनौँ, मान्छे हौँहौँ गरेर कुकुरको आवाज निकालेर भुक्दा वा आफनो बोलीभन्दा अर्कै वा अरुको नककल गरेर बोल्दा हाँसो लाग्नु उचित हाँसो हुन्छ । अहिलेका टिकटक हरूमा बाँदरले लुगा लगाएर मान्छेको बोली बोलेको, मान्छेले आफ्नो आकृति विद्रूप पारेर नाचेको गाएको उफ्रेको बाजेको हामी जुन देखिरहेका छौँ त्यो ‍सबै उचित हाँसो हो । तपाईँ पनि यस्ता परिस्थिति र वातावरणमा पक्कै हाँस्नुहुन्छ वा यस्तै व्यक्ति, परिस्थिति वा वातावरणलाई विषय बनाई लेखिएको साहित्यमा प्रयोग भएको हास्य उचित हाँसो हो ।

अब म तपाईलाई अनुचित हाँसोका बारेमा बताउँछु । तपाई कहिले आफना बाबुलाई हाँसोको पात्र (आलम्बन ) बनाउनुभएको छ र बाबुलाई उडाउँदै आफु हाँस्नु भएको छ र अरुलाई पनि सुनाएर हँसाउनु भएको छ भने त्यो अनुचित हाँसो हो । आफ्नी आमालाई हाँसोको पात्र (आलम्बन ) बनाउनुभएको छ र हाँस्नुभएको छ भने त्यो अनुचित हाँसो हो । आफुले अत्यन्त आदर गर्नु पर्ने आफ्ना गुरु वा गुरुआमालाई हाँसोको पात्र (आलम्बन) बनाउनुभएको छ भने त्यो अनुचित हाँसो हो । सोझो अर्थमा यसो भनौँ बाबुले छोरालाई हाँसोको पात्र बनाउँदा उचितअनुचितको प्रश्न आउँदैन तर छोराले बाबुलाई हाँसोको पात्र बनाउँदा चाहिँ अनुचित नै हुन्छ । अतः जसलाई देखेर हाँसिन्छ वा जस्लाई हाँसोको पात्र बनाएर हाँस्ने गरिन्छ यदि त्यो पात्र उचित भएन भने अनुचित हाँसो हुन्छ ।

हाँसो हास्याभास हुने अर्को अवस्था हाँसोका लागि अनुपयुक्त वातावरणलाई मानिन्छ । तपाई कुनै मरण परेर किरिया बसेको ठाउँमा पुग्नु भयो र त्यहाँ हास्न थाल्नु भयो भने त्यो हाँसो अनुचित हुन्छ । भोक मेटाउन भिख मागिरहेको भिखारी देखेर हाँस्नु अनुचित हो । दुखी मान्छेलाई देखेर हाँस्नु अनुचित हो । कतै कुनै दुर्घटना भएको र मानिसको कोलाहल भइरहेको ठाउँमा हाँस्नु भयो भने त्यो पनि अनुचित हुन्छ । अर्थात् तपाई यसरी बुझ्न सक्नुहुन्छ, कुनै पनि गम्भीर र दुखात्मक वातावरणमा हाँस्नु अनुचित हो । किनभने त्यस्तो अवस्थामा लोकले हाँस्ने मान्छेको हाँसोको औचित्य देख्दैन । चाहे आदरणीय व्यक्तिलाई हाँसोको पात्र बनाइयो भने वा अनुपयुक्त वातावरण हाँसोको रूपमा प्रयोग गरियो भने त्यसरी हाँसेको हाँसो हेर्ने मान्छेका हृदयले र सम्बन्धित समाजले त्यस हाँसोमा नैतिक वा व्यवहारिक खोट देख्छ । बाबुलाई हाँसोको पात्र बनाएर कविता रचना गरियो भने जुन व्यक्ति वा पाठक छ त्यसले हास्यको उचित आस्वादन गर्न सक्तैन । यस्तो अवस्थामा पाठक वा भावकले हाँसोको उचित आस्वाद लिन सक्तैन । किनकि त्यस हाँसोलाई नैतिक, सामाजिक, लौकिक वा व्यवहारिक रूपमा राम्रो मानिँदैन । यस्तो अवस्थामा हास्ने व्यक्ति जसलाई देखेर हाँसेको हुन्छ उसको हाँसोलाई देखेर अरू दर्शक हाँस्दैनन् बरू त्यही हास्ने व्यक्तिप्रति अरुहरूको क्षोभ वा घृणा पैदा हुन्छ ।
उचित र अनुचित भनेको के हो रु यसबारे पनि अलिकति भनिहालूँ । उचित र अनुचित भन्ने कुरो पनि जाति, देश, काल, वय, अवस्था, स्वभाव, र व्यवहार सापेक्ष हुन्छ । यो सबै ठाउँ सबै समय र सबै जातिमा एउटै हुँदैन । उचित र अनुचित एकल सत्य होइन । सम्बन्धित लोक र त्यस लोकले अँगालेको शास्त्र र सम्बन्धित मुलुकको कानुन र नियमसिद्ध उचित द्रव्य क्रिया आदि जुनजुन छन् तिनीबाट भिन्न हुनु अनुचित हुनु हो भने त्यस्तो भाव चाहिँ अनौचित्य हो । कुनै समुदाय वा जातिमा सुंगुरको मासु उचित हो भने कुनै धर्मविशेष मान्ने वर्गका लागि सुँगुरको मासुको कुरै छाडौँ शब्द सुन्नुसमेत घोर अनौचित्य हो ।

र अन्त्यमा हाँसोको पात्र उचित हो वा होइन भन्ने कुरो टेस्ट गर्ने व्यक्ति भनेको नाटकमा दर्शक हो । कविता, कथा र काव्यमा पाठक हो । समाजमा त्यो समाजको व्यक्ति हो । तपाई हाँस्दा तपाईलाई हेर्ने दर्शकले पनि तपाईको हाँसोलाई उचित ठान्यो भने अथवा उसले पनि तपाईसँगै हाँसेर आनन्द लिने र आस्वाद लिने स्थिति सिर्जना भयो भने त्यो हाँसो उचित हो । अव भन्नुहोस्, तपाई हाँसिरहँदा लोकले, समाजले र व्यक्तिले त्यो हाँसोको आस्वाद लिएको छ वा छैन ! लिएको छ वा लिने खालको हाँसो हाँस्नुभएको छ भने त्यो हास्य हो नत्र भने त्यो अनुचित हो र हास्याभास हो । आफ्नो हाँसो आफै छुट्याउनुहोस्, हाँसो प्रयोग भएका कविता, कथा र निबन्ध पढ्दैहुनुहुन्छ भने त्यहाँ प्रयोग भएको हास्य हो वा हास्याभास हो, पत्तो लगाउनुस् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ११ : २७ बजे