मुख्यमन्त्री पाए नयाँ गठवन्धन, नपाए वर्तमानकै निरन्तरताका पक्षमा माओवादीको प्रदेशसभा

एमाले नेतृत्वकै सरकारलाई निरन्तरता दिंदा पार्टीलाई फाइदा



विराटनगर – केन्द्रमा गठवन्धन फेरवदल भएसँगै प्रदेशमा पनि नयाँ गठवन्धन बनाउने प्रयासमा सत्तारुढ दलहरु लागेका छन् ।
तर कोशी प्रदेशमा भने सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्र गठवन्धन परिवर्तन गर्ने पक्षमा देखिएको छैन । कोशी प्रदेशम माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।

आफूले सरकारको नेतृत्व गर्न पाएमा गठवन्धन फेर्ने तर नपाएमा एमालेसँगै गठवन्धन कायम राखेर अघि बढ्न सक्ने यहाँका माओवादी नेताले बताएका छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुईमन्त्री छन् ।

गठबन्धनभित्र सत्ता समीकरणको मोडालिटी तयार गरेपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा छलफल हुने आङ्बोले बताए । ‘प्रदेश सरकारका विषयमा माथि छलफल भएको छैन,’उनले भने, ‘हाम्रो प्रदेशको अवस्था विशिष्ट छ, अहिले नै समर्थन फिर्ता लिनेबारे सोचेका छैनौं ।’ ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ र प्रतिपक्षी दुवै पक्षसँग बहुमत छैन । नेकपा एमाले र राप्रपाको मत एक ठाउँमा हुँदा ४६ छ । त्यस्तै, सत्तारुढ घटकको सिट संख्या पनि ४६ नै छ । सभामुख माओवादीका छन्, उनले मत वरावर भएमा मात्र मतदान गर्न सक्छन् ।

माओवादी केन्द्रका नेता आङ्बोले नेतृत्वले भागबण्डा गर्दा प्रदेशको अवस्थालाई बुझेर मात्रै गर्नुपर्ने र त्यस्तो सुझाव आफूले नेताहरुलाई पनि दिएको उनले बताएका छन् । अहिले सत्तारुढ दलहरुबीच कोशी प्रदेशको नेतृत्व चार सिट नेकपा एकीकृत समाजवादी पार्टीले गर्ने वारेमा छलफल केन्द्रित भइरहेका बेला त्यसमा माओवादी केन्द्रको कोशी प्रदेशसभा नेताहरुले असन्तुष्टी राखेका छन् ।

प्रदेशका माओवादी केन्द्रका नेता र सांसदहरुले भने एमाले नेतृत्वकै सरकारलाई निरन्तरता दिंदा पार्टीलाई फाइदा हुने बताइरहेका छन् । एक माओवादी नेताका अनुसार, वर्तमान सरकारलाई कायम राखेर अघि बढ्दा आधा कार्यकालपछि माओवादी केन्द्रले नै मुख्यमन्त्री पाउने समझदारी एमालेका प्रदेश तहका नेताहरुसँग भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ९ : ५५ बजे