राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्र बनाउने अभ्यास नगरौं– एमाले सांसद पन्त



काठमाडौं– नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हुने भन्दै छुट्टै सल्लाहकार नचाहिने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा पन्तले अहिले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्र बनाउने अभ्यास गरिएको भन्दै त्यो उचित नभएको बताएका हुन् । यस्तो कार्य संसदीय व्यवस्थाका लागि उचित नभएको उनले बताए ।
राष्ट्रपति रामचन्दै पौडेललाई भारतीय र अमेरिकी राजदूतले भेट गरेपछि त्यसको समाचार राष्ट्रपतिको परराष्ट्र मामिला सल्लाहकारको रुपमा बाहिर आएको भन्दै वेग्लै सल्लाहकार नचाहिने बताएका हुन् ।

उनले भारतको उदारण दिंदै राजेन्द्रप्रसाददेखि द्रौपदी मुर्मूसम्म भारतमा १५ जना राष्ट्रपति भएकोमा अहिलेसम्म सल्लाहकार बनाएको थाहा नभएको समेत बताए । ‘हामीले अभ्यास गर्दै गरेको संसदीय व्यवस्था हो । राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो । संवैधानिक राष्ट्रपति भए पनि सुरुदेखि नै यसमा गडबडी सुरु भएको छ । राजाको पालामा विभिन्न सचिवालयहरू राखे जस्तो अभ्यास राष्ट्रपतिको पनि भयो’ पन्तले भने ।

राष्ट्रपतिको सचिवालयमा ठूलो संख्यामा कार्मचारी भर्ना गर्नु गलत रहेको उनले बताए । कानुनमा राष्ट्रपतिले ७ जना विज्ञ र सचिवालयमा ३१ जना भर्न गर्न पाउने व्यवस्था रहेपनि त्यसलाई संसोधन गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘राष्ट्रपतिलाई छुट्टै शक्ति केन्द्र बनाउने गरी विज्ञ पनि चाहिँदैन । यसले संसदीय प्रणालीलाई कमजोर बनाउँछ । राष्ट्रपतिको सल्लाहकार मन्त्री र मन्त्रिपरिषद् हो ।’ संशोधन गरेर भए पनि उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने उनले बताए । भारतमा उपराष्ट्रपतिले राज्यसभाको अध्यक्षता गर्ने अभ्यास छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ४ : ४८ बजे