कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गामा सुरुङ खन्ने काम रोकियो



काठमाडौँ । सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए । अरु काम चलेपनि सुरुङ खन्ने प्रगति कम रहेको छ । त्यहाँको भूवनोट कमजोर रहेको र काम गर्दा उपकरणमा विग्रने समस्या आइरहेको छ ।

आयोजनाले निर्माण कम्पनीलाई राम्रोसँग ‘सिस्टम’ ल्याउन र आवश्यक भएर उपकरणका पार्ट फेर्न भनेको छ । उनले भने, “आयोजना र कम्पनीका बीचमा कुराकानी भइरहेको छ”, निर्माण कम्पनीसँग अहिले जनशक्ति र उपकरण दुबै पर्याप्त भएको आयोजनाले जनाएको छ ।

कम्पनीले तिव्र गतिमा काम गरिरहँदा यो समस्याका कारण ‘ब्रेक डाउन’ भएको प्रमुख श्रेष्ठले बताए । डिजाइनमा यो ठाउँमा यस्तो चट्टान छ भन्ने अनुमान गरिएकामा त्योभन्दा फरक आइरहेको छ ।

धादिङ र काठमाडौँमा जग्गा प्राप्तिको समस्याको समाधान भइसकेको छैन । काठमाडौँतर्फ निर्माणस्थलमा दुई तीन जनाको व्यक्तिगत जग्गा मुआब्जा दिनुपर्ने छ । धादिङतर्फ स्थानीयवासीले उपभोग गरिरहेको जग्गा गुठीको छ । गुठीको जग्गाको मुआब्जा अरुभन्दा कम पाउने भए पनि उनीहरुले बढी मागरिहेको उनले बताए ।

जग्गा उपलब्ध नहुँदा काममा बाधा पुगेको छ । पहिरोको तल पर्खाल लगाउने लगायतका मर्मतको काम गर्नुपर्ने भए पनि जग्गाको कारण गर्न सकिएको छैन । उनले भने, “स्थानीयवासीको पूरा गर्न नसकिने मागका कारण निर्माणमा बाधा पुगेको छ”, आयोजनाले निर्माणस्थलमै ‘आइसोलेशन’ को व्यवस्था गरेर निर्माण अघि बढाइरहेको थियो ।

त्यति हुँदाहुँदै पनि कहिले कामदारलाई सङ्क्रमण देखिएर त कहिले निर्माण सामग्री र उपकरण ल्याउन बाधा पग्दा निर्माणमा ढिलाइ भयो । अहिले आयोजना पूरै ठप्प नभएर सुरुङ खन्ने काममा मात्रै बाधा पुगेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए । अरु संरचना निर्माण नियमित भइरहेको छ ।

मुख्य सुरुङको लम्बाइ दुई किमी छ सय ८८ मिटर रहेकामा अहिलेसम्म जम्मा एक हजार आठ सय ६९ किमी खन्न सकिएको छ ।

सुरुङभित्र ‘कङ्क्रिट लाइलिङ’को काम ३४ दशमव आठ प्रतिशत प्रगति रहेको छ । जमिनमा गर्ने काममध्ये सडकमार्ग उत्खनन ७९ दशमवलव दुई प्रतिशत र तटबन्ध पुर्ने काम (इब्याङमेन्ट फिलिङ) ७० दशमलव ५ प्रतिशत सकिएको छ । आयोजनाअन्तर्गत नै निर्माण गर्नुपर्ने १२ संरचनामध्ये ११ सम्पन्न भइसकेको छ । फ्लाईओभर निर्माणाधीन छ । आयोजनामा तीन अण्डरपास, चार बक्स कल्भर्ट, एक ओभर पास र तीन पुल सकिएको छ ।

आयोजनामा हालसम्म भौतिक प्रगति ५० दशमलव १५ प्रतिशत रहेको छ । जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्ग निर्माणको सुरुमा अवधि ४२ महिना थियो । नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएर कात्तिकमा सो आयोजना शिल्यान्यास भएको थियो । सुरूङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने जाम हट्ने विभागले जनाएको छ । काठमाडौँ उपत्यका प्रवेश गर्ने सडकमा वर्षौदेखि रहेको सडक जाम कम गर्न नागढुङ्गा–मुग्लिन सडक विस्तार समेत अघि बढाइरहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  २ : २५ बजे