साढे दुई करोड पार्टीलाई बुझाउने भन्दै रास्वपा सांसद श्रेष्ठले दुर्गा प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यापारी दुर्गा प्रसाईसँग साढे २ करोड घुस मागेको अडियो टेप सार्वजनिक भएको छ ।

आफू स्वास्थ्यमन्त्री बन्ने पक्का भएको भन्दै त्यसका लागि पार्टीलाई अढाई करोड बुझाउनुपर्ने भन्दै उनले प्रसाईसँग पैसा मागेका छन् । उनले पार्टीभित्र पैसा उठाउने तीन जना नेताको समिति रहेको भन्दै निर्णयकै आधारमा पैसा मागेको पनि बताएका छन् ।
मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको पनि उनले उल्लेख गरेका छन् ।

उनको यो अडियो सार्वजनिक भएपछि पार्टीले कारबाहीको तयारी गरेको छ । एकदिन अघि मात्र रवि लामिछानले भ्रष्टाचारी जेल कोच्ने चर्को उद्घोष गरेको भोलिपल्टै उनको संलग्नतामा मन्त्री र सांसद बन्न पैसाको चलखेल हुने गरेको खुलेको हो ।
रास्वपाका महामन्त्री डा। मुकुल ढकालले अडियो आफूले पनि सुनेको र त्यसबारे सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालिने बताएका छन् । उनले यसबारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।

उनले भने,‘यो विषयमा पार्टीको अनुशासन समितिलाई ७ दिनको समय दिएर छानबिन प्रतिवेदन तयार गर्ने जिम्मेवारी हुन्छ । सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण सोधिँदैछ । कानुनी रूपमा पनि निर्णय गर्नुपर्छ । केन्द्रीय समितिले निर्णय नगरेसम्म उहाँलाई सांसद र पार्टी सदस्यका रूपमा काम गर्न रोक लगाउँछौं ।’

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  २ : १५ बजे