ज्यापू महागुथि र बाजा संरक्षणलाई कामपाले दियो एक करोड ७२ लाख



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ज्यापू महागुथि र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका ८६ समूहलाई रु एक करोड ७२ लाख अनुदान रकम उपलब्ध गराएको छ ।

आज यहाँ भएको कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले ६३ ज्यापू महागुथिअन्तर्गत परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका २३ समूह प्रत्येकलाई रु दुई लाखका दरले अनुदान रकमको चेक हस्तान्तरण गरेका छन् । प्रमुख साहले नदी सभ्यता र काठमाडौँवासीका परम्परागत चालचलनका बीचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताए ।

नदी सभ्यतालाई छुट्याएर काठमाडौँवासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो रहने हुनाले नदी सभ्यता जस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गर्नुपर्ने धारणा उनले राखेका छन् । प्रमुख साहले भने, “अनुदान रकम कम भए पनि यसलाई गुथि, खलका प्रतिनिधिले प्रोत्साहनका रूपमा ग्रहण गर्नुभयो ।”

उपप्रमुख सुनिता डङ्गोलले सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको उल्लेख गरिन् । सामाजिक व्यवस्थापन र पहिचानका लागि सांस्कृतिक क्रियाकलापको महत्त्वलाई कामपाले नीति र कार्यक्रममा समेट्ने उनले विश्वास दिलाइन् । काठमाडौँका संस्कार र संस्कृति बचाए मात्र महानगर सांस्कृतिक सहर हुनेमा आफू सचेत रहेको भन्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले बाद्यवादन, पर्व, संस्कार र संस्कृति बचाउने नीति कार्यक्रमलाई महानगरले कहिल्यै नछोड्ने बताइन् ।

कार्यक्रममा वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले समुदायका सांस्कृतिक क्रियाकलापसँग महानगर केन्द्रीय तहबाट र स्थानीय गतिविधिमा वडागत रूपमा साथ रहेको उल्लेख गरे । महागुथिका अध्यक्ष पञ्चनारायण महर्जनले कामपाको सहयोगमा बाजागाजा संरक्षणमा ठूलो सहयोग पुगेको बताए । सहकार्यलाई अझ नजिक बनाउँदा महानगर र समुदाय दुवैलाई फाइदा हुने उनको भनाइ थियो ।

गुँला बाजा व्यवस्थापन तथा संरक्षण सङ्घका अध्यक्ष अमिरमान शाक्यले बुद्धभूमि लुम्बिनीबाट काठमाडौँ आएका शाक्यहरूसँगै गुँला बाजाको संस्कार भित्रिएको बताए । गुँला बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : ४० बजे