चिप्स उत्पादन गर्दै रामपुरका महिला



रामपुर (पाल्पा) । घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँझबिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ ।

रामपुर नगरपालिकाका महिलाहरु हिजोआज आयमूलक क्षेत्रमा सक्रिय हुँदै गएका छन् । यहाँका महिलाहरु आलु चिप्स बनाउने र बजारमा बिक्री गर्न व्यस्त बनेका छन् । रामपुर नगरपालिका–६ मा विजयपुर चिप्स उत्पादन लघुउद्यम व्यवसाय समूहमार्फत आलु चिप्स उत्पादन भइरहेको छ ।

बिमलादेवी ढकाल, गीता अधिकारी, बिमला गैरे, देवी अधिकारी, निर्मला पोखरेल, सरिता पोखरेलले समूहमा मिलेर चिप्स तयार पारिरहेका छन् । अहिले नयाँ आलु उत्पादन लिएपछि आलु चिप्स बनाउन भ्याइनभ्याइ रहेको समूहका अध्यक्ष बिमलादेवी ढकाल बताउँछिन् । “सीप जानेपछि महिलाकै सक्रियतामा व्यावसायिक रुपमा उद्योग थालिएको छ, यो क्षेत्रमा नयाँ व्यवसाय भएकाले सबैले हौसला दिनुभएको छ, चिप्सले बजार पाएको छ”, उनले भनिन् ।

व्यावसायिक चिप्स उत्पादन गर्ने उद्योग रहेकाले यहाँ चिप्स उत्पादन प्रविधि अवलोकन गर्न तथा प्रविधि सिक्न, खरिद गर्न जाने गर्दछन् । यसले महिलाहरुमा व्यवसायमा उत्साह थपिएको छ । समूहले गत भदौदेखि चिप्स बनाउन थालेको हो । अहिलेसम्म छ क्विन्टलभन्दा बढी चिप्स तयार भएको छ । समूहमा महिलाहरु मिलेर काम गरेपछि दिन बितेको पत्तो नभएको बताउँछिन् देवी अधिकारी । उनीले भनिन्, “बिहान–साँझ घरकै कामले व्यस्त भइन्छ, दिउँसो खाली समय चिप्स बनाउन थालेपछि धेरै सदुपयोग भएको छ, हामीजस्ता गृहिणी महिलाका लागि यो व्यवसाय राम्रो रहेछ, प्रशस्त जग्गा छन्, आलु फलाएर चिप्स बनाएर बिक्री गरियो भने अरूको निर्भर रहनु परेन ।”

उत्पादन स्थानीय बजारमा अहिले खपत भइरहेको छ । स्थानीयमा बजार राम्रो लिएको हुँदा धेरै सहज भएको छ । उत्पादन बढाएर रामपुर बजार मात्र नभई अन्यत्र बजारमा पठाउने तयारी भइरहेको निर्मला पोखरेलले बताइन् । अन्य बजारमा उत्पादन भएको चिप्सको तुलनामा यहाँको चिप्स स्वास्थ्यका लागि हित गर्ने, दैनिकजसो उत्पादन हुने हुँदा उपभोक्ताले ताजा चिप्स उपभोग गर्न पाइरहेको गीता अधिकारी बताउँटिन् ।

दुई वर्षअघि यहाँका महिलाले रामपुर नगरपालिकामार्फत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम पाएपछि व्यावसायिक उत्पादन सुरु गरेका हुन् । ग्राहकको चाहनालाई दृष्टिगत गर्दै प्रति प्याकेट (साइजअनुसार) रु २०, ३०, ४० र ५० मा धमाधम बिक्री भइरहेको छ । व्यावसायिक उत्पादनका लागि चिप्सबाट धेरै फाइदा लिन सकिने विमला गैरेले बताइन् । अहिलेलाई रामपुरका विभिन्न बजारका पसलका व्यापारीसँग समन्वय गरेर बिक्री भइरहेको छ । रामपुर क्षेत्रमा हुने विभिन्न कार्यक्रममा साथमा लिएर महिलाहरुले चिप्स बिक्री गर्छन् । चिप्स बनाउन नगरपालिकाले आलुको बोक्रा फाल्ने, काट्ने, सुकाउने, जमाउने मेसिनलगायत विभिन्न सामग्री सहयोग गरेको छ । नयाँ व्यवसाय भएकाले धेरैबाट प्राप्त साथ, सहयोग र हौसलाले महिलाहरु उत्साहित छन् ।

हावा भर्ने मेसिन, मिक्चर, रङ्गीन प्लास्टिक अति आवश्यक रहेको हुँदा स्थानीय सरकार या विभिन्न निकायसँग सहयोगको अपेक्षा महिला समूहले लिएको छ । महिलाले घरमै आफैँले उत्पादन गरेको आलुबाट चिप्स बनाइरहेका छन् । घरकै उत्पादन भएकाले पनि लगानी धेरै गर्नु परेको छैन । अहिलेसम्मको आम्दानी समूहले केही व्यवसायमा लगानी गरेको छ भने केही बचतसमेत गरेको जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  २ : ३७ बजे