विद्यार्थीलाई धमाधम पुस्तक बाँड्दै विद्यालय



बेदकोट । कञ्चनपुरमा सामुदायिक विद्यालयका विद्यार्थीका लागि पाठ्यपुस्तक पुगेका छन् । विद्यालयले शैक्षिकसत्र अगावै पुस्तक पाएपछि विद्यार्थीलाई धमाधम बाँड्न थालेका छन् ।

विद्यालयले विद्यार्थी भर्ना गराएर पुस्तक वितरण गरिरहेका छन् । अहिले विद्यालयमा भर्ना अभियान चलिरहेको छ । “यसपटक पुस्तक समयमै पुगेको छ”, लालझाडी गाउँपालिका–४ पर्सियास्थित स्वतन्त्र माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बडायकले भने, “भर्ना भइरहेका विद्यार्थीलाई पुस्तक वितरण गरिरहेका छौँ ।”

समयमै पाठ्यपुस्तक पुगेपछि भर्नासँगै पुस्तक पाउँदा विद्यार्थी खुसी भएका छन् । “विगतमा धेरै ढिलोगरी पुस्तक आउथ्यो, गत वर्ष असारसम्म पनि पुस्तक आएको थिएन”, बडायकले भने, “समयमै पुस्तक नआउँदा धेरै विद्यार्थीले त पुस्तक नै पाएनन् ।”

यसपटक समयमै पुस्तक पाएको महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद सिंहले बताए । “कक्षा सुरु हुनुपूर्व नै पुस्तक पाइयो, विगतमा धेरै ढिलाइ हुन्थ्यो”, उनले भने, “समयमै पुस्तक पाएपछि विद्यार्थीलाई पढ्नका लागि दिन सजिलो भएको छ ।”

कञ्चनपुर जिल्लाभरका सामुदायिक विद्यालयमा धमाधम पुस्तक वितरण भइरहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपकराज कलौनीले बताए ।

“कक्षा ५ सम्मको पुस्तक पूरै आएको छ, त्यसमाथिको केही दिनमा आउँछ”, उनले भने, “अहिले आएका पुस्तक विद्यालयलाई दिइरहेका छौँ ।” स्थानीय तहले सामुदायिक विद्यालयको खातामा रकम निकास गरेसँगै विद्यालयले पुस्तक लगिरहेको उनको भनाइ छ । भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, पुर्नर्वास, लालझाडी र बेलाडाँडीले विद्यालयको खातामा रकम निकास गरिसकेको छ ।

कक्षा ५ भन्दा माथिको पुस्तक नआएकाले विद्यालयलाई तत्काल दिन नसकिएको प्रमुख कलौनीले बताए । “आगामी ११ गते थप पुस्तक आउँछन्, त्यसपछि बाँकी रहेका कक्षाका पुस्तक पनि वितरण हुन्छन्”, उनले भने, “कक्षा सुरु हुनुपूर्व सम्पूर्ण विद्यार्थीको हातमा पुस्तक हुन्छ ।”

केही वर्षयता कक्षा ५ सम्मको पाठ्यपुस्तकको छपाइ स्थानीयस्तरको मुद्रणले गर्ने गरेको छ । कञ्चनपुरमा एक सय १० माध्यमिक र एक सय ४९ आधारभूत गरेर दुई सय ५९ सामुदायिक विद्यालय रहेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ४५ बजे