प्रकाश सपूतका गीतको दम र विरोधको स्टन्ट



प्रकाश सपूतका गीतमा विचित्रको दम हुन्छ, यो कुरो आज तमाम दर्शकले अनुभूत गरेको र भ्यिउजमार्फत् अनुमोदित समेत गरेको कुरो हो । गीतका शब्द, भाव, लय र त्यसको दृश्यीकरण (भिज्वलाइजेसन ) उनी आफै गर्छन् । यसरी शक्तिशाली शब्द र भावसहितका कथात्मक गीत सिर्जना गर्न सक्ने शक्ति एउटै व्यक्तिभित्र हुनु र ती गीतको निर्देशन, गायन र तिनको सम्पूर्ण पक्षलाई एक्लै यस रूपमा प्रस्तुत गर्नुले उनीभित्रको सहज, अद्भुत र बहुमुखी प्रतिभा तथा उच्च कलात्मक चेतको साक्ष्य प्रस्तुत गरेकै छ ।

पछिल्लो समय उनका गीत बजारमा आउनासाथ तिनले लोकप्रियताको धुरी छुने तर केहीले भने उनको सिर्जनात्मक प्रतिभामाथि छुरी धस्ने गरेका छन् । उनको गीत आउनासाथ स्टन्टका रूपमा विरोध गर्ने फेसन नै चलेको छ । उनका “पिर” र “सकम्बरी” मा यो नियोजित विरोध मुखर हुन पुगेको छ ।

‘पिर’मा आरोप लगाइयो, “ गीतले जनयुद्धको अपमान गर्यो र अवमूल्यन गर्यो । युद्धका लागि लडेका सबै लडाकू यौन पेशामा छन् भन्ने भाष्य खडा गर्यो ।“

यो आरोप सरासर गलत र आग्रही थियो । किनकि स्रष्टाले समाजको कुन पक्षलाई आफ्नो सिर्जनाको विषय बनाउने भन्ने उसको स्वतन्त्रताको कुरो हो र स्रष्टाले कुने एक विषयलाई लिएर रचेको सिर्जनालाई सबै विषयसँग मिसाएर सामन्यीकरण गर्नु गलत हो ।

उनले जुन विषय र समस्या पक्रेर जसरी त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्, जुनजुन विषय उठाएका छन् ती विषय उनले कोठामा बसेर कल्पना गरेकै भरमा उठाएका छैनन् । उनी ग्राउन्ड जिरो अर्थात् जमिनमै पुगेर र अझै भन्ने हो भने तिनका जरामै पुगेर नेपाली समाजमा लुकेर रहेको कारूणिक विबशताका विरुद्धको कलात्मक युद्धको फायरिङ् खोलेका छन् । उनले हाम्रा आँखाले देखेको यथार्थ मात्र होइन, पात्रमार्फत उनहरूले भोगेका पीडाको अतियथार्थको चित्रणसमेत गरेका छन् ।

‘पिर’ले पक्रेको दमदार विषयकै बारेमा कुरा गरौँ न ! महान् भनिएको जनयुद्ध के का लागि लडिएको थियो ? के यो युद्ध नारी मुक्ति, सर्वहाराको अधिनायकत्व र बन्दुकको नालबाट सत्ताको सौन्दर्यमय सपना बाँडेर सुरु गरिएको थिन रु तर यस्तो सुन्दर सपनाको लागूपदार्थमा लठ्याएर कलिला लालाबाला, किशोरकिशोर किशोरी र बालबलिका हातबाट कापी र कलम खोसेर बन्दुक थमाइएको थिएन र रु ती बालबालिकालाई कसका विरुद्ध उतारिएको थियो रु संसदीय व्यवस्था विरुद्ध लडेका लडाकूकुको युद्धपोतलाई टाइटानिक डुबेझै डुबाएर टाठाबाठा बसेको जनयुद्धको जहाजलाई पारिवारिक व्यवस्थापनका बारबुँदेको धावनमार्गमा फोर्स ल्यान्डिङ् गरिएको हैन र ?

हो, जनयुद्ध लड्नेहरूको मन कञ्चन थियो होला, तर लडाउनेहरूको नियत सफा थिएन भन्ने इतिहासले बकिसक्यो । त्यतिबेला लडाउनेहरूले अहिले गणतन्त्रको निरन्तर दोहन गरेर डकार्दै छन् र उनीहरूले युद्धले निम्त्याएको बीभत्स र बिद्रूप पक्ष देख्ने कुरै भएन । युद्धको वीभत्सताले निम्त्याएको यो कुरूप र कारुणिक पक्षलाई उनीहरूका सत्तामादले फुलो परेका आँखाले देखेन । लडाइँमा संलग्न भूइँ लडाकूहरूमध्ये केहीले गणतन्त्रमा भोगेको चरम पीडा र वेदना र पिरलाई प्रकाश सपूतको सर्जकीय नयनले देख्यो र त्यसलाई सिर्जनाका रूपमा लेख्यो । प्रकाशको कलाले र गलाले मार्मिक रूपमा चित्रण गर्यो । उनले त धेरै देखेका छन्, युद्धमा लडेका योद्धाहरू पानीभन्दा सस्तो मूल्यमा पसिना बेचेको, दुइ कौडीमा श्रम बेच्न र चार पैसामा बैँस बेच्न विवश भएको यथार्थलाई जब जीवन्त रूपमा उतार्यो, त्यो यथार्थ माओवादीका केहीलाई पचेन र उनीमाथि धम्की र त्रासको वर्षा गरियो । सपूतले विभिन्न दोहोरीसाँझमा गीत गाउने क्रममा साक्षात् देखेका भेटेका लडाकुहरूको पीडालाई जब कलाको रूप दिए, केहीलाई त्यो सत्य पचेन । गणतन्त्र भनिएको व्यवस्थामा एउटा लोकप्रिय कलाकारमाथि तानासाही हमला गरियो ।

प्रकाश सपूतले अर्को गीति कोसेली ल्याए “ सकम्बरी” । सकम्बरीको विवशता नेपालमा विद्यमान कतिपय नारीहरूको एउटा विशिष्ट समस्या हो । त्यही विशिष्ट समस्यालाई सपूतले कलामार्फत् पोखे । कलालाकारले समाजमा विद्यामान कुनै विशिष्ट समस्यालाई विषय बनाउने हो । सबै समस्यालाई र समाधानलाई विषय बनाउन सकिने कुरो होइन । अब महिलावादीहरूले सपूतलाई हमला गर्न थाले । स्रष्टाले विशिष्ट समस्याका रूपमा चित्रित गरेको कुरोलाई सामन्यीकृत गरियो नेपालका सबै नारीहरूलाई सकम्बरीका रूपमा प्रस्तुत गरे भनी कोकोहोलो गरियो ।

समाजमा फूलमायाहरू छन्, ती फूलमयाहरूलाई विवशताले र समाजकै पुरुषले सकम्बरी बनाइरहेछ । यो विषय समाजमा छैन भने अर्कै कुरो होला, छ भने सपूतले प्रस्तुत गरेको यो विषयलाई लिएर महिलाहरूले धन्यवाद दिनु पर्ने पो थियो कि ? किनकि एउटा विशिष्ट परिवेश र परिघटनालाई टिपेर सिर्जना गरेको कुरोलाई अतिसामन्यीकरण गर्नु गलत हो ।

गुलाफको फूलजस्ती गाउँकी एउटी सरल अर्गानिक फूलमाया आफ्ना बैँसालु रहर पूरा गर्ने धुनमा सहर पस्दा कसरी कक्टेल सकम्बरीमा अनुवाद भइरहेकी छिन् ? तिनका जवानीका फूलको रसपान गर्ने पुरुषहरूले उनलाई फुलमायाबाट कसरी सकम्बरी बनाए ? सपूतले यही विषयलाई आफ्नो कलाको विषय बनाए । समाजमा भएको कुनै विशिष्ट समस्यालाई उनले विशेष रूपमा प्रस्तुत गरे । उनले फुलमायाहरूलाई सकम्बरी बनाउने पुरुषमाथि सकम्बरीकै मुखबाट भद्र प्रतिरोध गराए । समाजको कुनै विशेष पाटोमा लागेको रोगको निदान सपूतले गरे। समाजका सबै त्यो रोगबाट ग्रस्त छन् भनेर सपूतले भनेका छैनन् तर यसलाई विरोधका लागि विरोध मात्र वा विरोधको स्टन्टका रूपमा केही बहसमा अझै सहभागी छन् ।

सपूतका ‘पिर’ र ‘सकम्बरी’मा प्रश्न उठाउने र बहस गर्नेहरूले जथाभावी बहस गर्नुभन्दा अरु सिर्जना र सर्जकहरूतर्फ पनि नजर दौडाउनु जरुरी छ । सोमदत्त पात्रमा यौनभाव जगाउन विश्वेश्वर कोइरालाले आफ्नो उपन्यास “सुम्निमा”मा किरात कन्या सुम्निमा पात्र लाई सर्वड्ग नाङ्गो रूपमा प्रस्तुत गरेका छन् । के विश्वेश्वरप्रसाद कोइरालाले सबै किरात कन्याहरू यस्तै निर्वस्त्र हुन्छन् भन्न खोजेका हुन् ? कदापि होइनन् र यस्तो कुतर्क गरेर बहस गर्नु बेकार छ । सीता पाण्डेका यौन कथा होऊन् वा पुष्कर लोहनीका नग्न कथा त्यहाँ उपस्थित विशिष्ट पात्रहरूले घटाएका घटनालाई के भन्ने ? बहस नै गर्ने हो भने नेपाली साहित्य, चलचित्र र सिरियलहरूमा दृश्यहरू होऊन्, यसरी बहस गर्दै जाने हो भने त्यसको सीमा नै रहँदैन । स्रष्टाको कृतिको आलोचना र स्वस्थ बहस जरूरी छ । तर स्रष्टामाथि हमला हुनु शोभनीय हुँदै होइन ।

हो, कृतिको आलोचना र समालोचना हुन्छ । आलोचना र समालोचना हुनु स्वभाविक हो । सकम्बरीले अन्त्यमा अलि कडै ढङ्गले प्रतिरोध गरेको भए र आफन्त बनी यौन शोषण गरेको पात्रलाई अलिकति कसेर एक झपड दिई प्रतिरोध गरेको भए हुन्थ्यो भन्ने त मलाई पनि लागेकै हो । जसरी “कुरा बुज्नु पर्च” मा महिला हिंसा गर्ने पुरुषप्रति नायिकाले एक थप्पड हिर्काएर दर्शकप्रति काव्यिक न्याय गरेको देखिएको छ त्यसै गरी प्रकाश सपूत पात्र बनेको यस अंशमा पनि सकम्बरीमार्फत् त्यसरी हिर्काउन र कडा प्रतिरोध गर्न लगाएको भए दर्शकस्रोताप्रति काव्यिक अर्थात् सिर्जनात्मक न्याय पो हुन्थ्यो कि रु विरोधको स्टन्ट यसरी बौरिने पो थिएन कि ?

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ५ : १८ बजे