एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै

डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।



काठमाडौँ । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको छ । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

वन तथा भू–संरक्षण विभागले दिएको जानकारी अनुसार एकैदिन तीन सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।

नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ । विभागको तथ्याङ्कअनुसार यही वैशाख १ गते २६ जिल्लाका एक सय १२, २ गते आठ जिल्लाका २८ , ३ गते १२ जिल्लाका ३२ , ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका एक सय ८० स्थानमा डढेलो लागेको थियो ।

नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । पछिल्ला दिनमा दाङ, चितवन, अर्घाखाँची, प्यूठान, सुर्खेतमा बढी वन डढेलो लागेको उनले बताए । हाल देखिएको डढेलोमा छत्र डढेलो (ठूलो रुखको माथिसम्म हुने आगलागी) सिन्धुली र रामेछापमा मात्र देखिएको छ भने अन्य जिल्लामा देखिएको सतही डढेलो (जमिनमा झारपातमा हुने आगलागी) हो । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ ।

वन डढेलो घटना मानवीय गतिविधिका कारण बढी हुने गरेको छ । स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ ।

मानिसको जानाजानीबाट ६४ प्रतिशत डढेलो
विभागका उपमहानिर्देशक नवराज पुडासैनीले वनजङ्गलमा मानिस वनभोज जाने र आगो त्यतिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठूटाबाट समेत वन डढेलो लाग्ने गरेको जानकारी दिए । कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ ।

ठूलोस्तरमा लागेको डढेलो वर्षाको पानी नपरिकन नियन्त्रण हुने सम्भावना कम रहेको उनले बताए । विभागले वन डढेलोको नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । गर्मी मौसम र भौगोलिक विकटता डढेलो नियन्त्रणको मुख्य समस्या बनेको छ ।

हालसम्म डढेलो धेरै बढेपनि मानव बस्ती, मानवीय र वन्यजन्तु क्षति नभएको उपमहानिर्देशक पुडासैनीले बताए । उनले भने,“यस वर्ष समयमै अग्निरेखा निर्माण र सरसफाइ गरेका कारण डढेलो राजमार्गको आसपास देखिएको छैन ।”

वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि विभागले वन ढडेलो सूचना कक्ष सञ्चालन गरेको छ । कक्षमा रहने टोली खटिइ भौगोलिक सूचना प्रणालीमा आधारित वन डढेलो सूचना प्रणालीमार्फत सबै डिभिजनल वन अधिकृत र वन कर्मचारीलाई चौबिसै घण्टा वन डढेलोको सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

सशस्त्र वन रक्षक तालिम केन्द्रमा रहेको जनशक्तिलाई चौबिस घण्टा सजग रहि वन डढेलो नियन्त्रण र व्यवस्थापनमा परिचालन हुन निर्देशन दिइएको उपमहानिर्देशक पुडासिैनीले बताए ।

विभागले डिभिजनल वन अधिकृतले बन डडेलो नियन्त्रणका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गरी वन डढेलो नियन्त्रणमा सहयोग लिनुहुन, तथा उपभोक्ता समूह तत्काल परिचालन गर्न र उपलब्ध औजार सामग्रीको अधिकतम परिचालन गर्ने व्यवस्था मिलाउन देशभर परिपत्र गरेको छ । साथै विभागले यसमा आवश्यक सहयोगका लागि रक्षा र गृह मन्त्रालयलाई पत्राचार गर्नका लागि वन तथा वातावरण मन्त्रालयलाई समेत आग्रह गरेको जनाएको छ ।

पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुश्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि हुँदै आएको देखिन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सन् २००८ देखि सन् २०२१ सम्म वन डढेलोका ३४ हजार सात सय २५ घटना घटेका छन् ।

विगत १४ वर्षसम्म सङ्कलन गरिएको डढेलोका घटनामध्ये सन् २०१६ मा सबैभन्दा बढी सात हजार सात सय ६७ र सन् २०१५ मा सबैभन्दा कम सात सय छ वटा घटना घटेको पाइएको छ ।

तथ्याङ्कअनुसार सन् २००५ देखि सन् २०२१ सम्म वन डढेलोको घटनामा परी एक सय १६ जनाले ज्यान गुमाएका थिए । मानिसहरुको जानाजानीबाट ६४ प्रतिशत, लापरवाही र दुर्घटनाबाट ३२ प्रतिशत र अज्ञातकारकबाट चार प्रतिशत वन डढेलो लाग्ने गरेको तथ्याङ्क छ ।

शुक्रबारदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत

पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री सेल्सियस तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा तापक्रम वृद्धि भएसँगै लु समेत चलेको छ ।

यो तापक्रम बढ्ने बेला भए पनि बिचबिचमा बादल थपिँदा तापक्रममा केही कमी हुने वा र उस्तै रहने अवस्था हुन्थ्यो तर अहिले त्यस्तो नहुँदा तापक्रम लगातार बढिरहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । अर्कोतिर वर्षाका गतिविधि हुन नसकेका कारण र नयाँ मौसमी प्रणाली विकास नहुँदा मौसम स्थिर रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताए ।

आजदेखि सूदूरपश्चिमतिरबाट बाक्लो बादल देखिएकाले भोलिदेखि केही मौसममा त्यसकोे केहीअसर देखिने उनले अनुमान गरे । ठूलो वर्षा नभए पनि हल्का तथा क्षणिक वर्षा हुनसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ५ : १० बजे