टिप्पणी : स्वर्णिमहरुको आगमनमा प्रतिरक्षात्मक गगनहरु

गुरुराज घिमिरेदेखि गोविन्द पोखरेलहरुसम्मका लागि अव गगनभन्दा स्वर्णिम नजिक हुनेछन् किनकी रास्वपामा अवसर छ कांग्रेसमा छैन । फेरी कांग्रेसमा गगनको केही चल्दैन, अव रास्वपामा स्वर्णिमको चल्छ । किनकी तुलनात्मक रुपमा अवसर नपाएका तर समाजमा राम्रो छवी बनाएका युवा कांग्रेसीलाई रास्वपामा तान्न रविले स्वर्णिमकै भर गर्नेछन् ।




काठमाडौं– आज लोकतन्त्र दिवस । राजनीतिक व्यवस्थाका दृष्टिकोणले यो भन्दा उत्कृष्ट व्यवस्था छैन । जनयुद्ध, जनआन्दोलन र जनताको समर्थनमा लोकतन्त्र आएको हो । त्यसमा कुनै न कुनै ढाँचाको राजतन्त्रको अलिखित समझदारीको प्रसंग बेलाबेला उठ्छ, तर त्यसको यर्थाथ सार्वजनिक छैन । राजासहितको लोकतन्त्रको मागदावी कसैले गर्छ भनेपनि विचारप्रति सम्मानै गर्नुपर्छ । तर सत्य चाँही लोकतन्त्र नै हो ।

लोकतन्त्रको अभ्यास कसरी भयो, नेताले लोकतन्त्रलाई कसरी परिवारतन्त्रमा सिमित गरे र कसरी लोकतन्त्रमाथि निरन्तर प्रश्नहरु उठिरहेका छन् भन्ने वारे वहस भइरहेका छन् । र, निश्कर्ष छ– तन्त्र आफैं खराव हुँदैन र होइन, नेताले, नेतृत्व गर्नेले बिगारे ।’ लोकतन्त्र दिवसको शुभकामना व्यक्त गरिरहँदा आज विहान आएको कांग्रेस महामन्त्री गगन थापाको फेसबुक स्टाटसमाथि टिप्पणी गर्न खोजिएको मात्र हो ।

लोकतन्त्रको शुभकामना दिंदै थापा लेख्छन् – राज्य सञ्चालनका व्यवस्थाहरू मध्येको उत्कृष्ट व्यवस्था हो, लोकतान्त्रिक व्यवस्था छ, लोकतन्त्र छ र त यो स्वतन्त्रता छ, लोकतन्त्र छ र त हामी छौँ । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो ।’ वास्तवमा थापाले लेखेका शब्द र सार सही छन् । लोकतन्त्रको विकल्प पनि उन्नत लोकतन्त्र नै हो । यसमा अन्यथा प्रतिक्रिया आवश्यकै छैन ।

लोकतन्त्र दिवसका दिन दिएको यो भनाईप्रति नकारात्मक टिप्पणी गर्नुपर्ने केही छैन । तर संयोग कस्तो पर्यो भने हिजो बैशाख १० मा भएको उपनिर्वाचनको परिणाम पनि फटाफट आउन थालिरहेको छ । परिणामले नेपाली कांग्रेससहितको सत्ता गठवन्धन र प्रतिपक्ष एमालेका पक्षमा मत बढेको देखिदैंन, बरु घटिरहेको छ । शुभकामना दिंदै गरेका महामन्त्री थापा आफैं तनहुँ १ मा आफ्ना र सत्ताका उम्मेद्वार गोविन्द भट्टराईलाई जिताउने अभियानका प्रमुख हुन । तर परिणामले के संकेत गरिरहेको छ भने रास्वपाका स्वर्णिम वाग्ले एक्लैले ५० प्रतिशतभन्दा बढी मत ल्याएर जित्दैछन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले गगनको लोकतन्त्रको शुभकामना पढेपछि प्रतिक्रिया जनाए, जसमा नकरात्मक टिप्पणीको बाढी नै छ । उनी आफैं सामाजिक सञ्जालमा बढी फलोवर भएका नेता हुन र उनले बोलेका वा लेखेका बिषयहरुमा बढी रेस्पोन्स हुन्छपनि । तर केही महिनाअघिसम्म युवाहरुका ‘आइकन’ मानिएका गगन अहिले ‘भिलेन’ का रुपमा चित्रित छन् । खासगरि, कांग्रेस छाडेर स्वर्णिम रास्वपामा आएपछि र तनुहँबाट उम्मेद्वार भएपछि गगनले कांग्रेस जिताउन गरेका भाषणप्रति नै शुरुदेखिनै नकारात्मक टिप्पणी आएका छन् र त्यो क्रम जारी छ ।

तर्कमा विश्वास गर्नेहरुबिचमा रवि लामिछानेको राजनीतिप्रति मिश्रित खाले टिप्पणी आएका छन् तर स्वर्णिमको रास्वपा प्रवेशपछि भने वैकल्पिक शक्ति बन्नसक्छ भन्ने खालका विचार पनि आउन थालेका छन् । रविको लोकप्रियतावादी र कस्मेटिक राजनीतिमा स्वर्णिमले राजनीतिक चरित्र भर्नेछन् र स्टन्ट नभई एजेण्डाकै राजनीतिमा रास्वपा प्रवेश गर्छ भन्ने सकारात्मक धारणा पनि आइरहेका छन् ।

तर हिजो कांग्रेसमा रहँदा स्वर्णिममा अथाह सम्भावना देख्ने, आज रास्वपामा जानेवित्तिकै स्वर्णिमको राजनीति चल्दैन भन्ने खालका बिचार महामन्त्रीहरुबाट आउँदा त्यसले महामन्त्रीहरुकै राजनीतिमा प्रश्न उठाएको छ । कांग्रेसभित्र अझैपनि देउवालाई नै सभापति मानेर राजनीति सग्लो हुन्छ भन्ने तुलनात्मक युवा महामन्त्रीहरुले ठानेका छन् भने अव त्यसबाट छिट्टै मुक्त हुँदा राम्रो हुन्छ । त्यसैपनि गगन र विश्वप्रकाशहरुको राजनीतिक क्रेज घटिरहेको छ, त्यसमा पनि स्वर्णिमका पक्षमा आएको यो लहरपछि अव कति कांग्रेसी युवाहरु रास्वपा प्रवेश गर्लान् यो अनुमान गर्न सकिन्छ ।

गुरुराज घिमिरेदेखि गोविन्द पोखरेलहरुसम्मका लागि अव गगनभन्दा स्वर्णिम नजिक हुनेछन् किनकी रास्वपामा अवसर छ कांग्रेसमा छैन । फेरी कांग्रेसमा गगनको केही चल्दैन, अव रास्वपामा स्वर्णिमको चल्छ । किनकी तुलनात्मक रुपमा अवसर नपाएका तर समाजमा राम्रो छवी बनाएका युवा कांग्रेसीलाई रास्वपामा तान्न रविले स्वर्णिमकै भर गर्नेछन् । र, स्वर्णिमले पनि आफूसँग नजिक रहेर काम गरिरहेका र समाजमा केही पहिचान बनाएकालाई पहिलो चरणमा पार्टीमा ल्याउनेछन् ।

राजनीति निकै निर्मम हुन्छ । अहिलेनै रास्वपा २०८४ को निर्वाचनबाट पहिलो पार्टी भन्छ भन्न सकिदैंन, त्यो नहुनपनि सक्छ । तर कांग्रेस र एमालेले यस्तै राजनीति गर्ने हो भने ठूला पार्टीप्रतिको आकर्षण स्वात्तै घट्नेछ । स्वर्णिमको यो शानदाय मतले कांग्रेसलाई भने ठूलै क्षति गर्नेछ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग बरु अहिलेपनि जनतालाई अपिल गर्ने कन्टेन्ट छ किनकी उनी त्यो क्षमता पनि राख्छन् । तर देउवासँग केही छैन । प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवहरुको प्रसंग ल्याउनुपर्दैन किनकी उनीहरुको राजनीति अव यतिमै फुलिस्टप लाग्ने हो ।

गगनसँग अव सहजता छैन, अफ्ठयारामात्र छन् । सत्तारुढ दलका महामन्त्री हुन्, त्यसैले प्रचण्ड सरकारका गलत हर्कतको समेत विरोध गर्न सक्दैनन् । प्रचण्डलाई देश र जनताप्रति त्यति चिन्ता छैन, जति आफ्नो र आफ्नो परिवारप्रति छ । गगन जति कराएपनि प्रचण्डले भाउ दिंदैनन् किनकी देउवा दाहिना हुँदासम्म दिनै परेन । नदिएका दिन सिधै विपक्षमै हो र राजनीति पनि सकिनेनै हो ।

गगनले ओलीसँग सवालजवाफ गर्दा लाग्थ्यो कांग्रेसका उनीमात्र ओलीलाई टक्कर दिन सक्छन् । हुनपनि हो, अरुसँग त अपेक्षा नै थिएन । आज संसदमा गगनको ठाउँ ज्ञानेन्द्रबहादुर शाहीहरु लिंदैछन्, अव स्वर्णिम वाग्लेहरुले लिनेछन्, रविहरुले लिनेछन् । सत्ताप्रति चरम निराशा भएका बेला सत्तारुढ पार्टीको हैसियतविहिन महामन्त्री भएर राजनीति बचाउन सक्छन् त गगनले ? हेरौं ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : ३२ बजे