आरतीको मृत्युपछि महोत्तरी गौशालामा तनाव



महोत्तरी । एक युवतीको मृत्यु प्रकरणले महोत्तरीको गौशाला तनावपूर्ण भएको छ । विष सेवनबाट गत शुक्रबार राति मृत्यु भएकी गौशाला–४ मल्हनियाँपोखरीकी २७ वर्षीया आरती साहको मृत्यु प्रकरणले तनाव बढाएको हो ।

आरतीलाई घरका परिवारजन मिलेर यातना दिई विष ख्वाएर मारेको भन्दै आज दिउँसो तीन सयभन्दा बढी महिलाले नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीसँग झडप हुँदा ११ जना घाइते भएका छन् । महिलाहरुले आरतीका ससुरा, सासू र नन्दलाई समेत पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गर्दै उमेश साहको घर घेर्न पुगेपछि प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोज्दा दोहोरो झडप भएको थियो । उमेश मृतक आरतीका पति हुन् । उनलाई भने प्रहरीले आरतीको मृत्युलगत्तै गत शनिबार बिहानै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

आज बाँसका फट्टा लिएका प्रदर्शनकारी महिला उमेशको घरतर्फ गएपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । यसै क्रममा प्रदर्शनकारीले बाँसका फट्टाले प्रहरीमाथि जाई लागेपछि स्थिति नियन्त्रण गर्न सशस्त्र प्रहरीले १३ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यसलगत्तै हवाई फायरसमेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक लेखनाथ खनालले बताए । यस क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी आठजना घाइते भएका छन् ।

त्यसैगरी, प्रदर्शनकारीतर्फ पनि तीनजना सामान्य घाइते भएका इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य छ । प्रहरीले प्रदर्शनकारीलाई तितर बितर पार्न थप पाँच राउन्ड हवाई फायर गरेको प्रनि यादवले बताए ।

दिनभरि तनावपूर्ण बनेको गौशाला–४ मल्हनियाँपोखरीचोकमा अहिले सशस्त्र प्रहरीको बर्दिबास–४ माईस्थानस्थित मधेस प्रदेश मुख्यालयबाट थप सुरक्षाबल पु¥याइएको छ । त्यसैगरी, नेपाल प्रहरीको पनि थप बल परिचालित गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । गत शुक्रबार राति विष सेवनबाट गम्भीर अवस्थामा पुगेकी आरतीको बर्दिबास–१ स्थित ओमसाई मल्टिस्पेसिलिटी हस्पिटल एन्ड ट्रमा सेन्टरमा शनिबार बिहानीपख उपचारकै क्रममा मृत्यु भएको थियो ।

मृतक आरतीका माइतीपक्षले उनका पति उमेश साह, सासू, ससुरा र नन्दसमेत मिली यातना दिएर विष ख्वाई मारेको बताएका छन् । आरतीका पिता धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ बेलाका वलि साहले सबैलाई पक्राउ गरी अनुसन्धान गरिनुपर्ने माग गरेका छन् । आज प्रदर्शनमा उत्रेका गौशाला–४ का महिलाले दिउँसो माईस्थान–गौशाला सडकका ठाउँठाउँ टायर बालेर प्रदर्शन गर्दै केहीबेर यातायात अवरुद्ध पनि गरेका थिए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय महोत्तरीले आरती प्रकरणमा सूक्ष्म अनुसन्धान थालिएको जनाएको छ । अनुसन्धानबाट घटनामा कोही दोषी पाइएमा सबैलाई कारबाही हुने प्रहरी उपरीक्षक प्रकाश मल्लको भनाइ छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ०३ बजे