निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर बस्ने ३५ वर्षीया निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको अभियोगमा झापाबाट बिनोद विश्वकर्मालाई प्रहरीले प्रकाउ गरेकाे छ । मेचीनगर नगरपालिका १० घर भई भक्तपुर नगरपालिका १ लोकन्थली डेरा गरी बस्ने ३५ वर्षीय बिनोद विश्वकर्मालाई शनिबार राति प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिका सरस्वतिनगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर पसलमा वैशाख ७ गते दिउँसो आचार्यको शरीरको विभिन्न भागहरूमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको अवस्थामा फेला पारी उपचारको लागि त्रिवि शिक्षण अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजी गर्दै जाने क्रममा प्रहरीले घटनामा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा बिर्तामोड नगरपालिका १ ईलाम बस स्टपस्थित सार्वजनिक बाटोमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

आज पत्रकार सम्मेलन गरी प्रहरीले अहिलेसम्मको अनुसन्धानबारे जानकारी दिएको हो ।

सरस्वतीनगरकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्मा एक्लै जिम्मेवार रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ५ : २५ बजे