फिलिपिन्स सैन्य मञ्चन गर्ने स्थल बन्ने छैन: राष्ट्रपति मार्कोस



मनिला । फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोसले उनको अमेरिका भ्रमणका क्रममा अमेरिकी समकक्षी जो बाइडेनसँग सोमबार हुने भेटवार्ताअघि फिलिपिन्सलाई सैन्य कारबाहीका लागि ‘स्टेजिङ पोस्ट’ बन्न नदिने बताएका छन् ।

फिलिपिन्स र यस क्षेत्रका सहयोगी राष्ट्रहरूले चीनको बढ्दो आक्रामकता र विवादित पानी, टापुहरू र किनारहरूमा चीनको व्यापक दाबीको सामना गर्न चाहन्छन् । यसैका लागि मनिलाले हालै वासिङ्टनलाई थप फिलिपिनी सैन्य अखडाहरूमा पहुँच प्रदान गरेको छ ।

“फिलिपिन्सलाई अन्य कुनै पनि देशले संलग्न गराउने कुनै पनि उत्तेजक कार्यलाई हामी प्रोत्साहन गर्ने छैनौं,” मार्कोसले आइतबार वासिङ्टन जाने क्रममा विमानमा पत्रकारसँग भने ।

“हामी फिलिपिन्सलाई कुनै पनि प्रकारको सैन्य कारबाहीका लागि ‘स्टेज पोस्ट’ को रूपमा प्रयोग गर्न दिने छैनौँ ।”

फिलिपिन्सको तटरक्षक बलको जहाजसँग ठोक्किएपछि दक्षिण चीन सागरमा ‘उत्तेजक र असुरक्षित आचरण’ रोक्न अमेरिकाले चीनलाई आग्रह गरेपछि मार्कोसको यो भ्रमण हुन लागेको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले शनिबार भने, “हामी बेइजिङलाई आफ्नो उत्तेजक र असुरक्षित आचरणबाट अलग रहन आग्रह गर्दछौं । मनिला र वासिङ्टनबीच सन् १९५१ मा भएको पारस्परिक प्रतिरक्षा सम्झौता छ ।

अप्रिल २३ को घटना दुवै पक्षको हताहती निम्त्याउन सक्ने दुर्घटना नजिकको घटना थियो, ”फिलिपिन्सको राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा मार्कोसले भने । “हामी यही कुराबाट बच्न चाहन्छौं,” उनले थपे ।

फिलिपिन्सका नेताले यसै वर्षको सुरुमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दक्षिण चीन सागरमा अतिव्यापी दाबीसँग सम्बन्धित विषयमा ’प्रत्यक्ष सञ्चार संयन्त्र’ स्थापना गर्न भएको सहमतिलाई पालना गर्न चीनलाई आग्रह गरेका छन् ।

मार्कोसका अनुसार मनिलाले आफ्नो टोली गठन गरेको छ भने बेइजिङले यस सम्बन्धमा अझै कुनै कदम चालेको छैन ।

बेइजिङले दक्षिण चीन सागरको लगभग सम्पूर्ण भूभागमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ र अन्तर्राष्ट्रिय अदालतको फैसलालाई ‘बेवास्ता’ गरेको छ ।

मार्कोसले चीनलाई समुद्रमा फिलिपिन्सको अधिकारकुण्ठित हुन नदिने बताउँदै आएका छन् र रक्षा सम्बन्धलाई मजबुत बनाउन अमेरिकातर्फ आकर्षित भएका छन् ।

गत महिना फिलिपिन्सले चार वटा सैन्य अखडाको पहिचान गरेको थियो, जसमा पाँचवटा विद्यमान स्थलका अतिरिक्त अमेरिकी सेनाको पहुँच हुनेछ । जसमध्ये एउटा विवादित स्प्राट्ली टापु नजिक र दुईवटा ताइवानको सामना गर्नुपर्ने छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ५ : ०८ बजे