गोरखनाथ उत्पत्ति दिवसमा देशभरका मन्दिरमा रोट अर्पण



काठमाडौँ । गुरु गोरखनाथ उत्पत्ति दिवसका अवसरमा आज पशुपतिनाथलगायत देशभरका गोरखनाथ मन्दिरमा रोट अर्पण गरिएको छ ।

रोट गुरु गोरखनाथको प्रिय वस्तु भएकाले उहाँको उत्पत्ति दिवसका अवसरमा रोट अर्पण गर्ने गरिन्छ । गुरु गोरखनाथको पहिलो प्रकटस्थलको सौभाग्य पाएकाले नै नेपाल अक्षुण र स्वतन्त्र रहेको विश्वास गरिन्छ ।

नेपालका शक्तिशाली छिमेकी राष्ट्र पराधीन हुँदासमेत नेपाल सदा नै स्वाधीन रहनुको आध्यात्मिक कारण यहीँ रहेको विश्वास गरिन्छ । प्राचीनकालमा नेपालीले गुरु गोरखनाथ र माता गोरखकालीको पुकार गरेर ठूला ठूला युद्ध जितेका तथा विश्वभरि नै वीर गोर्खालीको नामले प्रशंशित भएका उदाहरण पनि इतिहासका पानामा भेटिन्छन् ।

महायोगी गुरु गोरखनाथ समयको कालखण्डभन्दा माथि, नाथका महानाथ, देश, काल, स्थानभन्दा धेरै माथिका अद्वितीय महापुरूष हुनुहुन्छ । श्री गुरु गोरक्ष अनादि, अजर अमर मानिनुहुन्छ । गुरु गोरखनाथले ब्रह्माजीसमेतलाई सृष्टि गर्न सघाउनुभएको धार्मिक विश्वास छ ।

गुरु गोरखनाथ सृष्टिभन्दा पनि पहिले विराजमान हुनुहुन्थ्यो भन्ने मान्यता छ । हालसम्म पनि नेपालको मुद्रामा गुरु गोरखनाथको नाम तथा पादुका अङ्कित भएको पाइन्छ । नेपालीका गर्वका प्रतिमूर्ति महायोगी गुरु गोरखनाथकै कृपा आशीर्वादले नेपाली सेनाले बन्दुक र गोलावारीका बावजुद जय गोरख शब्दसँगै शत्रुलाई खुकुरीले परास्त गर्न सक्षम भए । महायोगी गुरु गोरखनाथ शिव नै हुनुभएकाले शिव गोरक्षका रूपमा आदरका साथ श्रद्धा भक्ति र विश्वासको केन्द्र मानी पूजा आराधना गरिन्छ ।

“गोरखनाथ चारै युगमा सशरीर हुनुहुन्छ, अनेक महात्मा योगी राजा आदिलाई समय समयमा मार्गदर्शन गरेका कुरा हामीले पढ्ने पनि गरेका छौँ, यस्ता महायोगीका बारेमा जान्नु र अरूलाई सुनाउनु सक्नु नै हाम्रो महानता हुनेछ, जय गोरख, जय गुरुदेव, अलख निरञ्जन, गोरखनाथ र रोट गोरखनाथलाई प्रत्येक दिन, हप्ता, महिना र प्रत्येक वर्षको गोरक्ष पूर्णिमा वा वैशाख शुक्ल पूर्णिमाका दिनमा सवालाख रोट अर्पण गरिन्छ”, इतिहासमा भनिएको छ ।

सवा सङ्ख्या गुरु गोरखनाथलाई मन पर्ने हुनाले नै सवालाख रोट चढाइन्छ । रोट महाप्रसाद हो । सद्गुगुरुदेवको चरणकमलमा अर्पित रोट खान पाउनु मानवजीवनको उच्च सौभाग्य मानिन्छ ।

महाप्रसाद रोट ग्रहण गर्नाले हुने शारीरिक, मानसिक र आध्यात्मिक फाइदा वर्णनातीत छन् । बत्तीस थरी मसला र जडीबुटी मिसाएर बनाइने हुनाले पनि रोटको विशेष महत्व हुन्छ । काजु, किसमिस, छोकरा, नरिवल, ल्वाङ्, सुकुमेल आदि फलादि गुणले युक्त छन् । यी वस्तुलाई विभिन्न आयुर्वेदिक खुराकमा पनि मिसाइएको पाइन्छ । जडिबुटीलगायतको मिश्रणबाट शुद्ध घ्यूमा तयार हुने रोटको विशेषतालाई शब्दमा भने कैद गर्न सकिन्न । सेवन गरेर नै यसको महत्वलाई आँक्न सकिन्छ ।

काठमाडौँमा गुरु गोरखनाथको प्रसिद्ध मन्दिर पशुपति परिसरको मृगस्थलीमा छ । गुरु गोरखनाथलाई हठ योगका प्रवर्तक मानिन्छ । साथै नाथ पन्थको सुरुवात पनि उहाँबाट नै भएको मानिन्छ । यस पन्थबाट अघोर पथ जस्ता पन्थ निस्केका छन् । नाथपन्थी साधु नेपालमा प्रशस्त छन् ।

काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित गुरु गोरखनाथ मन्दिर क्षेत्रमा पनि आज पूजा आराधनाका साथै रोट अर्पण पनि गरिएको छ । यसैगरी हाँडीगाउँस्थित गोरखनाथ पीठमा पनि पूजा, आराधनासहित रोट अर्पण गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ६ : ३० बजे