नक्कली भूटानी शरणार्थी प्रकरणका थप दुई विचौलिया काठमाडौँबाट पक्राउ

खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी



काठमाडौँ । प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।

काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार उनीहरू उक्त घटनामा विचौलिएका रूपमा काम गरेको पाइएपछि पक्राउ गरिएको हो । उनीहरूलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।

पक्राउ पूर्जी जारी भएका नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अहिले सम्पर्कमा नभएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरले उनीहरू विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।

पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइसकेको पनि रेग्मीले जानकारी दिए ।

खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी
त्यस्तै नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो रहेको आरोप लागेपछि प्रहरीको खोजी सूचीमा रहेका नेकपा (एमाले) का सचिव एवं पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा आज प्रहरीले खानतलासी लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१५ सातदोबाटो नजिक रहेको रायमाझीको घरमा खानतलासी लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा काठमाडौँबाट गएको टोलीले उनको घरमा खानतलासी लिएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा जोडिएपछि रायमाझीलाई एक साताअघि नै प्रहरीले पक्राउ पुर्जीको अनुमति लिएर खोजी गरिरहेको छ । त्यसपछि रायमाझी सम्पर्कमा नभएकाले खोजी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले तत्कालै पक्राउ गरिसकेको छ ।

प्रहरीमा शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर एक सय छ जनाले कूल रु २३ करोड २५ लाख ठगी भएको भन्दै २० वटा जाहेरी दिएका छन् । प्रहरीका अनुसार गिरोहले २०७६ देखिनै गृहका अधिकारीसँगको मिलेमतोमा काम गरेको पाइएको छ ।

कतिपयलाई भने नक्कली शरणार्थी बनाइसकेको फेला परेको छ । यसरी शरणार्थी बनाएबापत उनीहरूबाट प्रतिव्यक्ति लाखौँ रकम उठाएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ९ : ०१ बजे