वहस: एमालेलाई यसरी बलियो राजनीतिक शक्ति बनाउन सकिन्छ (भाग १)




सक्किने कि सच्चिने ? अहिले यो विषय राजनीतिक वहसमा छ । रास्वपाका स्वर्णिम वाग्लेले तनहुँमा सत्तारुढ गठवन्धनलाई पराजित गरेपछि र रवि लामिछाने आम निर्वाचनभन्दा पनि मतान्तर बढाएर चितवनबाट उपनिर्वाचन जितेपछि पुराना र ठूला दलमा यो वहसले प्रवेश पाएको छ ।

तर यो वहस अहिलेसम्म भाषामा सिमित छ, एक्सनमा छैन– नक्कली भुटानी शरणार्थी काण्डमावाहेक ।
अर्थात् कांग्रेस, एमाले र माओवादी यस्तो सक्किने वा सच्चिने परामर्श, छलफल र वहसमा अझै इच्छुक देखिदैंनन् । गगन थापाको ‘अत्ति भो’ स्टाटसले देउवालाई दवाव पर्दैन । गगन र विश्वप्रकाशले बिद्रोह गरे, समानान्तर गतिविधि गरे वा नयाँ पार्टी बनाउनेसम्मका पहल गरेछन् भने त्यसलाई एक्सन मान्न सकिन्छ, अन्यथा अव पुराना दलका नेताका बोलीबाट कार्यकर्तासमेत थामिने सम्भावना छैन, नागरिकको ती पार्टीप्रतिको आकर्षण त परको बिषय भो ।

त्यसको अर्थ अरु कोही आएर देश बनाउने होइन । यिनै पुराना दल सच्चिएर आउँदा र नयाँ दलले इमान्दारीपूर्वक राजनीति अघि बढाउँदा विकास हुने हो । त्यसैले सक्किने कि सच्चिने ? प्रश्नको उत्तर सरल छ । पुराना दल अहिले सक्किदैंनन् र शायद सच्चिन पनि समय लाग्छ । दल सकिन र सच्चिन समय लाग्छ । फेरी रास्वपा, जनमत लगायतका नयाँ दलपनि परिक्षणमा छन् । र, यी पनि सँधै नयाँ रहँदैनन् । नयाँ दलले केही गर्छन भन्ने आशा गरौं तर पुरा भर भने नपरौं ।

यो वहस पुराना वा नयाँ दलले के गर्छन् भन्नेतिर केन्द्रित छैन । नेकपा एमाले अव कसरी अघि बढ्नुपर्छ भन्ने बिषयमा केन्द्रित छ । एमालेको आजदेखि शुरु केन्द्रीय कमिटीको वैठकका सन्दर्भमा पार्टी सुधारको वहस अघि बढोस् भन्ने चाहना यसमा मुखरित छ । किनकी, देशमा रहेका ठूला पार्टीमा विचार, संगठन र नेतृत्वका दृष्टिकोणमा एमाले अहिले पनि अरु पार्टीभन्दा अघि छ । तर सुधार भने आवश्यक छ ।

कांग्रेस, माओवादीसहितका सत्तारुढले पार्टीले गठवन्धन बनाएर पनि तनुहँ र चितवनमा लज्जास्पद हार ब्योहोरे तर वारामा जिते । एमालेको मत मंसिर ४ यताको पाँचमहिनामा घटेको देखिन्छ । तनहुँमा आफ्ना उम्मेद्वारलाई नहालेर रास्वपाका स्वर्णिम वाग्लेलाई एमालेले मत हालेको र त्यसका कारण मत घटेको भन्ने विवरण पनि आएका छन् । त्यो हो भने झन सोचनीय भो । समानुपातिक मत हेर्दा चितवन र बारामा पनि एमालेको मत घटेको छ । सत्ता हार्यो भनेर खुसी हुन पाइन्छ तर त्यसले एमालेको पक्षमा रणनीतिक लाभ प्राप्त हुँदैन । कांग्रेस हार्दा, त्यो मत एमालेमा आएर जितिने अवस्था छैन किनकी त्यो मत नयाँ पार्टीमा गएको छ ।
त्यसो भए एमाले अव कसरी अघि बढ्नुपर्छ ? त्यसवारे केही बुँदागत वहस यहाँ गरिएको छ ।

१.सामुहिक प्रणालीमा पार्टी संचालन गर्ने
एमालेमा क्षमता, अनुभव र ज्ञानका दृष्टिकोणमा अध्यक्ष केपी शर्मा ओलीको हाराहारीको अर्को नेता छैन । ओली पार्टीमा सक्रिय रहँदासम्म उहाँको एकल नेतृत्वले पार्टीलाई अफ्ठ्यारा र संकटबाट पनि बचाएको छ । तर ७० बर्ष कटेपछि नेतृत्वको प्रतिस्पर्धामा भाग लिन नपाउने विधानको व्यवस्था छ । त्यो व्यवस्था सवैका हकमा लागू हुन्छ । यद्धपी अभिभावकत्व ग्रहण गर्न यसले रोक्दैन । ओलीलाई हेर्दा, उमेरले त्यति अर्थ राख्दैन किनभने उनीपछिका दोश्रो र तेश्रो पुस्तामा राजनीतिक बुढ्यौली देखिन्छ तर ओलीमा देखिदैंन । सोच, कार्यक्रम, अध्ययन, गतिशिलतामा ओली अब्बल छन् ।
तर ओलीपछि कसरी पार्टी चलाउने ? अहिलेका नेताहरु हेर्दा, ओलीपछिको नेतृत्व सामुहिक प्रणालीमा जानुपर्छ । किनकी उनीपछिका नेताहरुको सर्वस्विकार्यरतामाथि वारम्वार प्रश्न उठेका छन् । एउटै नेतामा बिचार, संगठन संचालन र संसदीय मोर्चा सम्हाल्ने क्षमता देखिदैंन । बिचारको नेतृत्व गर्ने नेता संसदीय फाँटमा कमजोर देखिन्छ, जनतामा तुलनात्मक लोकप्रिय वा संसदीय चरित्र भएको नेतासँग बैचारिक नेतृत्व क्षमता छैन । त्यसैले सवैका एकएक सकारात्मक बिशेषताको संग्रहित नेतृत्व अवको एमालेमा हुनुपर्छ । जसको जुन क्षमता छ, उसलाई त्यही फाँटमा लगाएर सामुहिक क्षमतामा पार्टी चलाउनुपर्छ ।

२. जिम्मेवारी र अवसर
कुनै पार्टीमा कोही किन आकर्षित हुन्छ ? पहिलापहिला बिचारले आकर्षित हुन्थ्यो, देश बदल्ने क्रान्तिकारी र बिद्रोही चेतबाट निर्देशित हुँदा मान्छे कम्युनिष्ट बन्थ्यो । हरेक व्यक्ति पहिला कम्युनिष्ट हुन्थ्यो, त्यसपछि बाटो बदल्थ्यो । तर अहिले अवसरबाट निर्देशित हुन्छ । जव एमालेमा कोही पनि युवा वा कोही अवसर देख्दैन, उ पार्टीमा बस्दैन । एमालेमा सवैलाई समान अवसर छ भन्ने सुनिश्चतता हुनुपर्छ । जस्तो ः कोही समान क्षमताका छन् भने एकजनालाई राजकीय जिम्मेवारी दिइएको छ भने अर्कोलाई पार्टी जिम्मेवारीमा लैजानुपर्छ । अहिले के छ भने उस्तै क्षमताका दुईमध्ये एकै व्यक्ति सांसद र केन्द्रीय सदस्य छन् । सांसद भएकालाई केन्द्रीय सदस्य बनाउनु आवश्यक छैन । कार्यकर्तामाथि न्याय भएको सार्वजनिक रुपमा पनि देखिनुपर्छ ।
केन्द्रीय सदस्य रहेर पार्टीमा काम गरिरहेकालाई नै सांसद बनाउनु पर्दैन । यसपटक सांसद पाइन, केन्द्रीय सदस्य भएको छु भन्ने अवस्था त रहन्छ । तर एउटाले वारम्वार राजकीय र पार्टीका जिम्मेवारी एकैपटक पाइरहने तर त्यही क्षमताको अर्कोले केही पनि नपाउने हुँदा निराशा र पलायनको अवस्था आउँछ । प्रदेश, स्थानीय तहसम्म यो लागू गर्नुपर्छ । तपाई अवसर दिनुहुन्न भने तपाईका पछि कोही लाग्दैनन्, यति बुझौं । यो वर्तमान यर्थाथवादी विश्वको चरित्र नै हो ।

३. छड्के प्रवेश (ल्याटरल इन्ट्री)
एमाले अव क्याडरबेस पार्टीमात्र रहेन, यो पनि मासबेस पार्टी नै भयो । कम्युनिष्ट पार्टीहरु क्याडरबेस हुन्छन् भन्ने माक्र्सवादी दृष्टिकोण हो, जसलाई लेनिनले प्रयोग गरेर सफल पनि भएका हुन् । तर सय बर्षअघि लेनिन बनाएको जस्तो पार्टी अव एमाले होइन । यो सवै बर्गको, सवै जातको र सबैको पार्टी हो । बर्गीय दृष्टिकोणले नेपालका कुनै पार्टीलाई बिभाजन गर्न सकिदैंन । किनकी एउटा बर्ग हेरेरमात्र राजनीति गर्ने यो समय होइन । पार्टी सवै बर्गको हुनुपर्छ । यसमा चित्त बुझे पार्टीमा रहन्छ, नबुझे छाडेर अर्को पार्टीमा जान्छ वा पलायन हुन्छ, त्यसको अर्को बाटो छैन ।

तर यदी पार्टीमा सबै खालका व्यावसायिक व्यक्तिहरु, व्यापारिक प्रतिनिधिहरु, बिज्ञहरु, सामाजिक पहिचान बनाएकाहरुलाई पनि आकर्षित् गर्ने हो भने छड्के प्रवेशको व्यवस्था गर्नुपर्छ । कुनै बिषयको बिज्ञ जस्तै अर्थशास्त्री, राजनीतिक शास्त्री, तथ्याङ्घशास्त्री, विदेशमामिला विज्ञ वा यस्तै, समाजसेवामा अग्रणी योगदान गरेको, कला अभिनयमा अव्वल ठहरिएको व्यक्ति वडा कमिटीमा बस्दैन । उनीहरुलाई सिधै केन्द्रीय कमिटीमा मनोनित गर्ने व्यवस्था मिलाउनुपर्छ । त्यसका लागि सम्पूर्ण केन्द्रीय सदस्यको ५ देखि १० प्रतिशत व्यवस्था गर्न सकिन्छ । वडा कमिटीबाट प्रमोशन हुँदै आएकाले मात्र पार्टी चल्दैन । दुःख गरेको छ, दिउँ भनेरमात्र अव पार्टी चल्दैन । दुवैको संयोजनबाट पार्टी चलाउने हो ।

४.जनप्रतिनिधिमा दुई कार्यकालको सिलिङ
एउटा व्यक्ति कतिपटक गाउँदेखि प्रतिनिधिसभासम्म निर्वाचन लड्ने हो ? निर्वाचनमा हारजित हुन्छ, हरेक उम्मेद्वार जित्नकै लागि उठ्ने हो । तर हारजित जे होस्, एउटा व्यक्ति दुइपटक भन्दा बढी निर्वाचन लड्नु हुँदैन । जितेको हकमा पनि तेश्रोपटक अर्काले अवसर पाउनुपर्छ । हारेको हकमा पनि तेश्रोपटक अर्कोलाई छाडिदिनुपर्छ । दुइपटक जनप्रतिनिधि हुँदा गर्नसक्ने जति उसले गरिसकेको हुन्छ, तेश्रोपटक उम्मेद्वार बन्दा हार्ने हो, जितेपनि नयाँ केही गर्न सक्दैनन् । राजनीतिमा ‘एन्टी इन्कम्बेन्सी’ पक्ष यति बलियो हुन्छ कि राम्रै गरेको व्यक्तिपनि बारम्बार निर्वाचन लड्यो भने हार्छ । मान्छेले नयाँ अनुहार खोज्छ ।

एकजना हारेपनि जितेपनि प्रतिनिधिसभाको टिकट लिइरहन्छ, तर संगै कमिटीमा बसेर काम गरेकोले कहिले अवसर पाउँदैन भने पार्टीमा बस्दैन । यस्तोमा पनि पार्टी जिम्मेवारीसँग मिलाउन सकिन्छ । मानौं, जिल्ला अध्यक्षले सांसदको टिकट पायो, सचिवले पाएनभने वा जिल्ला अध्यक्ष सांसद भयो, सचिव भएन भने सचिवलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिने । त्यसोगर्दा सवैप्रति न्याय हुन्छ । सांसदलाई संसदीय फाँटमा बढी केन्द्रित गर्ने, पार्टीको कार्यकारीमा नराख्ने । एउटा मेयर हुन्छ, कार्यकाल सकिने वित्तिकै प्रदेश सभामा टिकट पाउँछ, त्यो सकिनेवित्तिकै प्रतिनिधिसभा टिकट पाउँछ वा मनोनित हुन्छ तर अर्को त्यही हैसियतले केही पाउँदैन भने पार्टी चल्दैन । नेताको चाकरी गरेका आधारमा व्यक्तिको छनौट हुने प्रवृतिले गर्दा पार्टी बिग्रेको हो ।
५. पार्टीभित्र पनि एउटामात्र जिम्मेवारी
पार्टीमा लागेका सबैले केही जिम्मेवारी पाउने अवस्था बनाउनुपर्छ । सवैलाई पद दिनुपर्छ भनेको होइन । मुख्यत् कार्यकारी र कार्यकारिणी समितीका हकमा यो लागु गर्नुपर्छ । एउटा व्यक्ति केन्द्रीय सदस्य, केन्द्रीय विभागको सचिव पनि छ । एउटा केन्द्रीय सदस्य दोहोरो महत्वपूर्ण जिम्मेवारीमा छ तर अर्को केन्द्रीय सदस्य महत्वहिन र एउटा सहायक जिम्मेवारीमा छ । एउटा व्यक्ति प्रदेश कमिटीमा पनि छ, केन्द्रीय विभागमा पनि छ । त्यतिमात्र होइन, जनसंगठनको कार्यकारीको भूमिकामा रहेको एउटै व्यक्ति बिभागको पनि कार्यकारी भूमिकामा छ र प्रदेश कमिटीमा पनि छ । जवकि उस्तै क्षमताको अर्को बिभागमा छैन, प्रदेशमा छैन र जनसंगठनमा पनि छैन ।

केन्द्र्रीय सदस्यले इन्चार्ज, सहइन्चार्ज पाउने वा बिभागको प्रमुख हुने कुरामा आपत्ति भएन तर त्यसमा पनि सवैलाई न्याय गर्नुपर्छ । यसको पनि एउटा आधार छ । राजकीय जिम्मेवारी वडाअध्यक्ष, गाउँपालिका अध्यक्ष, नगर÷महानगर प्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरुलाई सकेसम्म पार्टीका कार्यकारी जिम्मेवारीमा नराख्दा र उक्त जिम्मेवारी अर्कोलाई दिंदा पार्टी गतिविधि चलायमान हुन्छ ।

६. खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन
अव नेताका खल्तीबाट आएका केन्द्रीय सदस्य वा हलबाट सुनाइएका नाम पारित गरेर पार्टी चल्दैन । पार्टी अध्यक्षदेखि केन्द्रीय सदस्य, प्रदेशदेखि वडा कमिटीसम्म निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्छ । अर्को अर्थमा भन्दा पार्टीभित्र प्रतिस्पर्धामा आउन पार्टीभित्रकै प्राइमरी निर्वाचन जितेर आउने व्यवस्था गर्नुपर्छ । जो राम्रो छ, उसले निर्वाचन जितेर पार्टी चलाउँछ । हार्दा प्रतिनिधिले हराएको ठान्छ, जित्दा पनि प्रतिनिधिले जिताएको महसुस गर्छ । चित्त बुझाउने ठाउँ रहन्छ । प्रतिस्पर्धा गर्नबाटै रोक्नुभयो भने पार्टी नेताको नीजि कम्पनी जस्तो बन्छ ।

त्यस्तै, पार्टीका जनसंगठनहरुमा पनि खुला प्रतिस्पर्धाबाट नेतृत्व छान्नुपर्छ । अनेरास्वबियुमा खुला प्रतिस्पर्धा भयो, बिद्यार्थी प्रतिनिधिले जसलाई मन पराए उसले नेतृत्व लियो । त्यसले सकारात्मक सन्देश दियो । तर युवा संघमा प्रतिस्पर्धा हुन पाएन, प्रतिस्पर्धा भएको यही नेतृत्व पनि आउन सक्थ्यो । एमालेका जतिपनि जनसंगठन छन्, तीनमा प्रतिस्पर्धा गर्न चाहनले ढुक्कले पाउनुपर्यो । प्रतिस्पर्धाबाट श्रेष्ठता जवजको मुल सिद्धान्त नै हो । जवसम्म नेताले जनसंगठनको नेतृत्व सहमतिका नाममा कसैलाई निषेध गरेर गर्छ, तवसम्म त्यस्तो नेतृत्वले गर्ने नेताको चाकरीमात्र हो । गणेश प्रवृतिले पार्टी चल्दैन । त्यस्तो नेतृत्वसँग पार्टी बनाउने क्षमता नै हुँदैन ।
७. आन्तरिक जनवाद

अहिलेको राजनीति बिचार, दर्शन र बादको सिमाभित्र छैन । यद्धपी बिचारविहिन राजनीति स्थायी हुँदैन । प्रवृतिगत हिसावले हेर्दा पपुलिष्ट राजनीतिको समय आएको देखिन्छ । जनताका मुद्दा उठाएर लोकप्रिय हुनु खराव होइन, तर स्टन्टवाजीले मात्रै त पार्टी चल्दैन ।
जे होस्, पार्टीमा रहेका हरेक कार्यकर्ता र नेतालाई व्यक्तिलाई आफ्ना धारणा राख्नबाट कसैले बञ्चित गर्नु हुँदैन । पार्टीको मुल नीतिभित्र बसेर प्रवृतिगत, व्यावहारिक र राजनीतिक चरित्रका बारेमा बोल्दैमा केही बिग्रदैन । पार्टीमा लागेका हरेक व्यक्तिमा आलोचकीय चेत विकास गर्ने अवसर दिनुपर्छ । नेता रिसाउँछ वा फरक दृष्टिकोण राख्दा पद प्राप्त हुँदैन भन्ने त्रास रहेसम्म पार्टीभित्र विज्ञता र नेतृत्व क्षमताको विकास हुँदैन ।

नेतृत्व निर्वाचित भएर आउनेसवित्तिकै उसले आलोचना सहने क्षमता लिएर आउँछ । किनकी पार्टीका प्रतिनिधिको बहुमतबाटै उ अनुमोदित भएको हुन्छ । तर नेतृत्वसँग सबै क्षमता नहुन सक्छ । त्यस्तो बेला सवैका सुझावलाई ग्रहण गर्ने फराकिलो सोच राख्न सक्नुपर्छ । आफू केही नबोल्ने, शीर्ष नेतृत्वले के बोल्छ भनेर पर्खेर बस्ने, नेता बोलेपछि बल्ल त्यसैमा ताइ न तुइको भाषण छाट्नेबाट पार्टी चल्दैन ।

यी सात बुँदा पहिलो भागमा आएका छन् । नीति, नेतृत्व र संगठनमा आधारित रहेर एमाले अव कसरी अघि बढ्नुपर्छ भनेर वहस हुनु आवश्यक छ । अर्को यस्तै टिप्पणी दोश्रो भागका रुपमा एकसातापछि आउनेछ । त्यसपछि एजेण्डाकेन्द्रित वहसमा जानुपर्छ । त्यसलाई क्रमश वहसमा ल्याउनुपर्छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ९ : ०३ बजे