मदन भण्डारी स्मृति दिवस: एमाले पटक–पटक सरकारको नेतृत्वमा पुग्यो, रहस्यमय घटनाको छानवीन भएन

डाक्टरको रिपोर्टमा निधन पानिमा पर्नु अगावै भएको ठहर हुनु ले गर्दा घटना अझै रहस्यमय भयो ।



नेपाली कम्युनिष्ट आन्दोलनका प्रेरणदायी व्यक्ति मदन भण्डारी को जन्म वि.सं. २००९ साल असार १४ गते सुक्रवार ताप्लेजुङ जिल्ला, ढुङ्गेसाँघु गाविस ८ ठोट्नेमा भएको थियो । वि.सं. २०२८ मा पुष्पलाल समुहको नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक संघको केन्द्रीय सदस्यबाट राजनैतिक यात्रा आरम्भ गरेका मदन भण्डारी नेकपा मालेको चौथो महाधिवेशन (२०४६) बाट महासचिव हुँदै, नेकपा एमालेको प्रवक्ता र २०४९ मा पाचौ महाधिवेशनबाट पुन एमालेको महासचिवमा भएका थिए, २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित मदन भण्डारी नेपाली राजनीतिक क्षेत्रमा सबैले सम्झने व्यक्ती हुन् । नेपाली समाजको वस्तुस्थिति विश्लेष्ण र पहिचान गर्न सक्ने तथा विश्वको राजनैतिक परिवेश बुझ्न सक्ने विशिष्ट क्षमता उनमा थियो ।

युवा अवस्थामानै कम्युनिष्ट भुमिगत राजनीति हुदै वि.सं. २०४६ सालको लोकतान्त्रिक आन्दोलनबाट नेपाली राजनीतिमा आफुलाई महत्वपूर्ण स्थानमा पुर्याउन सफल मदन भण्डारी र उनका सहयात्री जीवराज आश्रितका बारेमा वि.सं. २०५० जेठ ३ गते साँझ एउटा अशुभ समाचार ओहोर–दोहोर हुन थाल्यो ।

जनताको छोरो देशको नेता, रहस्यमय जिप दुर्घटना र बेपत्ता ? मोवाईल र इन्टरनेट नभएको बेला अकस्मात रेडियो बाट आएको समाचार, जसले समाचार सुने तिनिहरुले विश्वास गर्न सकेनन्, समाचार पत्ताउन गाह्रो भयो । अपुष्ट समाचार थियो–“मदन भण्डारी र जिवराज आश्रीत सवार जिप दासढुङ्घामा दुर्घटना” ।

जति जनताले राजनीति बुझेका थिए, जो बुझ्न खोज्दै थिए, हराएको जिपबाट मदन जिवितै भेटिन्छन् कि ? केहि चमत्कार हुन्छ कि भन्ने हल्लीखल्ली देशैभर चलिरह्रयो ।

२०५० जेठ ३ गते साँझ ५ः३० बजे त्रिशुलीमा खसेको जिपको ड्राइभर अमर लामा उद्धारकार्य छोडि नारायणगढ तर्फ लागे । पार्टी कार्यकत्र्ता, सेना, प्रहरी र स्थानिय जनता खोजि कार्यमा लागिरहेका थिए । राती १० बजे जिप त्रिशुली नदीमै भएको पत्ता त लाग्यो तर निकाल्न भने सकेनन् ।

जेठ ४ गते बिहान ८ बजे अपार जनसमुदाय र मस्र्याङ्दी आयोजनाको क्रेनको सहायताबाट जिप पानिबाट बाहिर निकालियो, जिपमा जिवराज आश्रीत मृत अवस्थामा भेटिए । तर मदन भण्डारीको कुनै अत्तोपत्तो नपाइनुले घटना रहस्यमय र नियोजित भएको अनुमान लगाउन आम जनतालाई गाह्रो परेन ।

दुर्घटना भएको जिपको चालकको ढोका खुल्ला र अन्य तिन ढोकाहरु बन्द (लक्ड) गरेको अवस्थामा पाइनु । ड्राइभर सकुसल भाग्नु आश्रीत जिप भित्र मृत अवस्थामा भेटिनु मदनको रहस्यमय गायवी हुनु, यो आफैमा रहस्यपुर्ण घटना हुन पुग्यो ।

दुर्घटनाको सिलसिलामा फुटेका सिसाका टुक्राहरु, मदन भण्डारीको भिजिटिङ् कार्ड, एकाध थोपा रगत चप्पल र ब्रिफकेस भेटिनु ? अनि दुर्घटना भएको जिपको ढोका बन्द पनि छ र खोल्नपनि नसकिने अवस्थामा हुनु ? मदनको शरीर कसरी जीपबाट बाहिरियो ? संका र रहस्यको कुरा यहि भयो ।

जेठ ४ गते दिनभर मदनको खोजि भयो । भारतको गंगा नदि पौडेर वारपार गर्न सक्ने मदन कतै जिवितै भेटिन्छन कि भन्ने झिनो आस आम शुभेच्छुकमा रह्रिरहेको थियो ।

तर जेठ ५ गते बिहान ८ः१५ बजे दासढुंगा देखि ३२ कि. मि. तल चितवन गुन्जनहरमा एमाले स्थानिय नेता हरि सापकोटाले मदन भण्डारीको शव सनाखत गर्नु भएपछि उहाँको जीवन सम्वन्धी आम जनताको आशा समाप्ती भयो । आशा र भरोसा बोकेका युवा तथा जनता द्धारा स्थापित कम्युनिष्ट नेता, जनता र देशले नचाहा नचाहादै अल्पआयुमै सदाका लागी गुमाउनु पर्‍यो ।

शव भेटिएको समाचार देशभर हावासरी फैलियो तत्काल प्रगतिशिल साहित्यकार रामचन्द्र भट्टराईको शब्द रामेशको संगीतका जेबि दुहुरेले मदन प्रति श्रद्धाञ्जली दिए ……….
मृत्युपनि मान्छे पिच्छे फरक हुदो रै छ,
देशभक्त छोरो मर्दा देशै रुदो रै छ ।
आखाँ बाट आसु हैन माया बग्दो रै छ,
शोक सगैं वेदनाको हुरी चल्दो रै छ ।
आफ्नो प्रिय नेता लाई काँधमाथी बोकि,
मानिसको लाम आफै घाट जादों रै छ ।
बाकीं सारा सपनालाई पुरा गछौं भन्दै,
मुठिकसि मलामिले कसम खाँदो रै छ ।
मृत्युसंग नडराउने वीर मान्छे हुन्छ,
सगरमाथा चड्नेले नै चुचुरोलाई छुन्छ ।
एकै बचन जिन्दगीको मुलमन्त्र हुन्छ,
हराएको मानिसको यादआईरहन्छ ।

“सिद्धान्तका लागि जीवन होइन, जिवनका लागि सिद्धान्त हुनुपर्छ”, “बन्दुकको शक्तिबाट मात्र हैन जनमत द्धारा कम्युनिष्टहरु राज्यसत्तामा पुग्न सक्छन्”, “राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन” भन्ने विचारहरु भण्डारीले नेपाली राजनीतिमा स्थापित गराउन क्रियाशिल रहिरहे ।

मदन भण्डारी जो बिश्वमै प्रतिरक्षामा गएको कम्युनिष्ट आन्दोलनलाई नेपालबाट भिन्न तरिकाले सम्वोधन गर्दै थिए । सन् १९९१ मे २७ मा न्युजविकले “नेपालमा कार्लमाक्र्स जीवित छन्” भन्ने शिर्षकमा मदन भण्डारीको अन्तर्वार्ता छापेको थियो । न्युजविकका मिचेल लिट् भिनले १२ प्रश्न गरेका थिए । यो अन्तर्वार्ताको मुख्य सन्देश कम्युनिष्टले धर्मसंस्कृतिको सम्मान गर्छ भन्ने थियो । कम्युनिष्टहरु धर्मसंस्कृतिको खिलाप हुन्छन् भन्ने आम धारण प्रचार गरीरहेका साम्राज्यवादीका लागी मदनको यो गतीलो प्रहार थियो । जनताको बहुदलिय जनवाद लाई उनले सिद्धान्त बनाए, यसलाई पहिलेको नेकपा एमालेले अहिलको नेकपाले अझै पनि अनुसरण गरिरहेको छ ।

लौहपुरुष गणेशमान सिंहले शोकपुस्तीकामा लेख्नुभयो —“भन्डारीको निधनले देशको मुख्य प्रतिपक्ष एमालेलाई मात्र होइन, राष्ट्रले दिशावोध गरेको प्रजातान्त्रीक राजनीतिको प्रगती माथि नै ठुलो धक्का पु¥याएको छ । राष्ट्रले एक सशक्त नेता र मैले एक ठुला सहयोगी मित्र गुमाएको छु । म प्रखर मित्रको सहयोग बाट बन्चित भएको छु ।”

तात्कालीन हिन्दुस्थानका राजदुत प्रो. डा. विमलप्रसादले स्मारिकामा लेखे —“मैले भण्डारीज्यु सित धेरै अवसरमा भेट्ने मोका पाएँ र परिणाम ः म उहाँप्रति आशक्त बनें । उहाँले मलाई अत्यन्तै समर्पित, निष्कपट र विचारशील व्यक्तिको रुपमा प्रभावित पार्नुभयो । उहाँको निधन मेरो वैयक्तिक क्षति पनि हो । उहाँको साहस र इमान्दारिताप्रति मेरो अगात सम्मान छ ।”

नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्ण प्रसाद भट्टराईले शोकपुस्तीकामा लेख्नुभयो—“मदन भण्डारी एक महान मान्छे हुनुहुन्थो । राजनीतिक नेतामा हुनुपर्ने सबैगुण उहाँमा थियो । भर्खरै कलकत्तामा भएको कम्युनिष्टहरुको अन्तराष्ट्रिय भेलामा उहाँले कम्युनिष्टहरुले अपनाउनु पर्ने उदार नीतिका बारेमा र विश्व समाजमा कम्युनिज्म कसरी फस्टाउन सक्छ भन्नेबारे दिनुभएको बिचारोत्तेजक भाषणलाई विश्वकै माक्र्सवादीहरुले ध्यान दिएर सुनेका थिए । यस्तो व्यक्तित्वलाई गुमाउनु पर्दा मलाई धेरै दुःख लागेको छ । भण्डारीको मृत्युयो राष्ट्रकै निम्ती ठुलो र अपुरणीय क्षति हो ।”

मदन भण्डारीको असमायिक निधनबाट असाध्यै विछिप्त हुँदै मनमोहन अधिकारीले बारम्वार उहाँको शवमा हेर्दै आँशु बगाउँदै –“पार्टीका निम्ति म मर्नु पर्ने थियो र मदन बाँच्नु पर्ने थियो, मलाई भन्दा पहिला मदन भण्डारीलाई लगेर भगवानले पनि अन्याए गरेको” भनेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

राजा बिरेन्द्रले मदन भण्डारी प्रति शोकव्यक्त गर्दै बक्तव्य निकाले —“उहाँको निधनमा देशले एक समर्पित राष्ट्रवादी तथा सिद्धान्तवादी राजनीतिज्ञलाई गुमाएको छ ।”
यस घटनाको नौ बर्ष पछि २०५८ जेठ १९ गते राजा बिरेन्द्रको पनि मदन जस्तै रहस्यमय दरवार हत्याकाण्डमा मृत्युभयो । यी दुबै घटना भएको बेला देशको प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला थिए । दरवार हत्याकाण्ड लाई ग्राण्ड डिजाईन भन्ने गिरिजाप्रसादले यो बिषय बाहिर ल्याउने बताउथे । देशको प्रधानमन्त्री तथा राष्ट्रप्रमुख पनि भएका गिरिजाले यो बिषय बाहिर ल्याउन चाहेनन् र उनको पनि २०६७ चैत ७ गते निधन भयो । दासढुंगाकाण्डका ड्राइभर अमर लामालाई गिरिजाप्रसादले नेपाली कांग्रेसमा प्रवेस गराएका थिए ।

नेपालको राजनीतिक इतिहास हेर्दा सत्ता प्राप्तीका लागी हत्या सामान्य हुनेगरेको पाइन्छ । राजकुमार बहादुर शाहको दुर्भाग्यपुर्ण अवसान, जनरल भिमसेन थापाको आत्मघात वा मुख्यिार माथवर सिंह थापाप्रति विश्वासघात, सत्ता पाउनु वा गुमाउनको लागि एक न एक व्यक्ति मारिनुपरेको नेपालको इतिहास छ ।

तर जनताको छोरो, जो जनताको मतले नेता भएको व्यक्ति रहस्यमय दुर्घटना बाट मर्नु एक प्रकारको राजनैतिक हत्या नै हो । ड्राइभरका बयान फेरिनु, आश्रीतको शव जिपमै पाईनु र भण्डारीको शव गाजिपुर छेउ नारायणी नदि किनारमा भेटिनु, मदन भण्डारीको शवको प्रकृति हेर्दा दुवै खुट्टामा मोजा लगाएको, सर्ट लगाएको तर छालाको पेटिले कसिएको पाइन्ट नभएको, आँखा, हात, कुहिना र दुइटै घुडामा चोट हुनु र डाक्टरको रिपोर्टमा निधन पानिमा पर्नु अगावै भएको ठहर हुनु ले गर्दा घटना अझै रहस्यमय भयो ।

मे— जुलाई १९९३ “तीसरी दुनियँ“” मा आनन्द स्वरुप वर्मा लेख्नुहुन्छ — “जुन परिस्थितिमा नेपालमा दुई वरिष्ट कम्युनिष्ट नेताको मृत्युभयो र आजसम्म जे जस्ता तथ्यहरु सामुन्यमा आए त्यसबाट सिद्ध हुन्छ गिरिजाप्रसाद कोईरालाले ड्राइभरको लापरवाही भनेर दुर्घटना सावित गर्न लागेको घटना दासढुंगा हत्याकाण्ड सामान्य दुर्घटना थिएन, योजनाबद्ध षड्यन्त्र थियो । उपर्युक्त हत्याको एकमात्र उद्धेश्य नेपाली बामपन्थी राजनीतिको निरन्तर तथा प्रचण्ड हुदै गहिरहेको वेग रोक्नु थियो । कमरेड मदन भन्डारीले आजभन्दा दुई अढाई बर्ष अघि एउटा कुराकानीमा बताउनुभएको थियो कि अमेरिकी साम्रराज्यवाद तथा राष्ट्रभित्रै कयौ दशक अघिदेखि जनतालाई आफ्नो शोषणको सिकार बनाएर आईरहेको प्रतिक्रियावादी शक्तिहरु यहाँ सक्रिय छन् । ……विश्वमा सारा देशमा साम्यवाद सखाप पारेको सफलतामा खुशी मनाइरहेको अमेरिकालाई कुनैपनि देशको राष्ट्रिय राजनीतिमा साम्यवादी शक्ति मुख्यधारको रुपमा विकसितहुनु चिन्ताको बिषय बन्छ । दक्षिण अफ्रिकी कम्युनिष्ट नेता क्रिस हानीको हत्यामा यो सन्देस मिलेको छ कि साम्राज्यवादी शक्तिले आफ्नो निसाना त्यस्तो ठाउँमा लगाएको छ जहाँ कम्युनिष्ट आन्दोलन प्रभावकारी र तेजिलो छ ।”

नेकपा एमालेले आफ्नो सरकार आएपछि यो घटनाको छानबिन गर्ने उदघोष गर्‍यो तर अहिले सम्म एमाले पटक–पटक सरकारको नेतृत्वमा पुग्यो, तर यो रहस्यमय घटनाको बारेमा छानविन हुन सकेन । स्वयम मदनको धर्मपत्नी अहिले राष्ट्रप्रमुखबाट विदा भएकी छन् तर यो घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन । मदनको नाममा अध्ययन केन्द्र, फाउन्डेसन, कलेज लगायत बिभिन्न संस्था खुलेका छन् तरपनि छानविन हुन नसकेको यो दुर्घटना एकादेशको कथामा परिणत हुन लागेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ८ : १८ बजे