शून्य समयः किसानका समस्यादेखि नाका खुलाउने विषयसम्म



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले किसानका समस्या, मौलिक हकको कार्यान्वयन, पूर्वाधार निर्माणमा भएको ढिलाइ, तराई क्षेत्रमा डुबान, नाका खुलाउने समस्यालगायत विषय उठान गरेका छन् ।

सांसद अच्युतप्रसाद मैनालीले यही जेठ २ र ४ गतेको हावाहुरीले बाराको निजगढमा पाँच सय बिगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । उनले गत वर्ष पनि पीडित भएका किसानलाई बीमा कम्पनीले बीमा रकम उपलब्ध नगराएको भन्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराए । यस्तै सिम्रौनगढ पुरातात्विक महत्वको स्थान भएकाले विश्वसम्पदा सूचीमा राख्नका लागि पहल गर्न मैनालीले माग गरे ।

सांसद गोकुलप्रसाद बास्कोटाले गत साताको वर्षाका कारण काभ्रेपलाञ्चोकमा बाली र तरकारी नष्ट भएकाले बाली बीमा र तटबन्धको प्रबन्ध गर्न माग गरे ।

सांसद अजयकुमार चौरसियाले नेपालको अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको उल्लेख गर्दै न्यून आय भएका नागरिकले शिक्षा, स्वास्थ्यलगायत मौलिक हक पाउन नसकेको बताए । “गरिब झन् गरिब हुने अवस्था छ । देशले गरिबी हटाउनका लागि शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको अनिवार्य व्यवस्था गर्नुपर्छ । सार्वजनिक विद्यालयमा गुणस्तरीय पठाइ नहुने, सरकारी अस्पतालमा पर्याप्त औषधि उपाचार नहुने अवस्थाको अन्त्य गरिनुपर्छ”, उनले भने ।

सांसद अम्मरबहादुर रायमाझीले सामुदायिक विद्यालयमा देखिएका समस्याबारे ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयका शिक्षक न्यून सेवासुविधा र अनुदानका भरमा काम गरिरहेको उल्लेख गर्दै उनले अब बन्ने शिक्षा ऐनमा सेवासुविधा, दरबन्दीबारे स्पष्टरुपमा खुलाउन माग गरे ।

सांसद अनिता देवीले जग्गा कित्ताकाट खुलाउने सरकारी निर्णय कार्यान्वयन गरिनुपर्ने धारणा राखेकी छन् । मन्त्रिपरिषद्को गत वैशाख ५ गतेको बैठकले भू–उपयोगसम्बन्धी नियमावली, २०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको र सोही नियमावलीअनुसार अंशबण्डा, जग्गाको कित्ताकाट, जग्गाको कारोबार खुलाइएको भए पनि नागरिकलाई अझै त्यो सुविधा पाउन समस्या रहेको उनले बताइन् ।

सांसद अनिसा नेपालीले सरकारले उखु किसानलाई उत्पादनमा निश्चित प्रतिशत अनुदान दिने भनेर पटकपटक निर्णय गरे पनि उनीहरुले उत्पादनको मूल्य पाउन नसकेका बताइन् ।

सांसद अमरेशकुमार सिंहले उखु किसानका समस्याबारे सरकार गम्भीर नभएको आरोप लगाए । “हामी उखुलाई नगदेबाली भन्छौँ, तर सरकारले त्यसलाई उधारो बाली बनाइदिएको छ । किसानले समयमा मल, बीउ र सिँचाइको सुविधा पाउन सकेका छैनन् । किसानले उत्पादनको गरेको उखुसमेत सरकारले उधारोमा राख्छ”, उनले भने–“अनुदान तत्काल पाउनुपर्छ ।”

सांसद कुसुमदेवी थापाले पहाडी क्षेत्रमा बाँदरले किसानको बाली नष्ट गरिरहेकामा यसलाई नियन्त्रणका लागि सम्बन्धित निकायले पहल गर्नुुपर्ने बताइन् ।

सांसद ऋषिकेश पोखरेलले मोरङका सात ठूला नदीमा हरेक वर्ष क्षति हुने गरेको उल्लेख गर्दै तटबन्धको व्यवस्था गर्न माग गरे ।

सांसदद्वय किरणकुमार साह र जुलीकुमारी महतो महासेठले तराईका क्षेत्रमा वर्षायाममा हुने बाढीको समस्या न्यूनीकरणका लागि पहल थालिनुपर्ने बताए । तराई क्षेत्रमा वर्षायाममा हुने डुबानको समस्या समाधान गर्न तटबन्ध निर्माणका लागि उनीहरुले सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अमरबहादुर थापाले दैलेखको लाँकुरीमा केही दिनअघि चट्याङ परेर एकै घरका चार जना घाइते भएका र आठबिस नगरपालिकामा डढेलोमा परी घाइते भएकालाई सरकारले तत्काल औषधि उपचारको व्यवस्था गर्न माग गरे ।

सांसद अमृतलाल राजवंशीले अहिले करिब १४ लाख व्यक्ति नागरिकताविहीन रहेको उल्लेख गर्दै उनीहरुले रोजगार पाउन नसकेको बताए ।

सांसद अर्जुन नरसिंह केसीले नुवाकोट दरबार भूकम्पपछि पुनःनिर्माण र मर्मतसम्भार हुन नसकेका कारण अहिले जीर्ण अवस्थामा रहेकाले पुनःनिर्माणका लागि सरकारको ध्यानाकर्षण गराए । साथै उनले नुवाकोट बस्ती विकास आयोजनाको हालसम्म प्रभावकारिता देखिन नसकेको र खानेपानीकोसमेत समस्या रहेको बताए ।

सांसद अशोककुमार चौधरीले टीकापुर घटनाको अध्ययन गरेर तयार पारिएको लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग राखे ।

सांसद आस्माकुमारी चौधरीले भूमिहीन र कमैयाका समस्या कायमै रहेकाले त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताइन् ।

सांसद असीम शाहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गम्भीर ढङ्गले गर्न माग गरे ।

सांसद गोमा सापकोटाले भ्रष्टाचारका मुद्दामा ठूला नेता मुछिनु लाजमर्दो विषय भएकाले यस्ता घटनाको गम्भीर छानबिन गरिनुपर्ने बताए ।

सांसद ईश्वरबहादुर रिजालले दोलखाबाट चीनको तिब्बत नाका जोड्नेगरी सडक निर्माणका लागि यसै वर्षको बजेटमार्फत व्यवस्था गरिनुपर्ने माग गरे ।

सांसद उर्मिला थेबेले ताप्लेजुङको ओलाङचुङ्गोला नाका अझै खुल्न नसकेका कारण त्यस क्षेत्रका बासिन्दा समस्यामा परेको बताइन् ।

त्यसैगरी, सांसद ईश्वरी घर्तीले बेलायती सैनिकका रुपमा कार्यरत रहँदा दुवै खुट्टा गुमाएका रोल्पाको थवाङका हरि बुढामगरले सगरमाथा आरोहण गरेकामा सरकारले उनलाई विशेष सम्मान गर्नुपर्ने बताइन् ।

सांसद कालुराम राईले अपाङ्गता भएका व्यक्तिको सीप, क्षमताबारे सरकारको नीति तथा कार्यक्रममा कुनै प्रावधान नभएकोबारे ध्यानाकर्षण गराए । अपाङ्गता भएका व्यक्तिको सिर्जनालाई कदर गर्ने नीति सरकारले लिनुपर्ने उनको भनाइ छ ।

सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी रहेकोबारे सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी सांसद चित्रबहादुर केसीले नेपाललाई हिन्दूराज्य बनाउनका लागि वकालत गर्न भारतबाट पैसा आएको भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने र नेपालमा भइरहेको इसाइकरण रोकिनुपर्ने बताए ।

सांसद गगनकुमार थापाले विद्युतीय सवारीसाधन ‘यात्री’ नेपालमा दर्ता भए पनि अहिले फेरि समस्या देखिएको बताए । “सरकारले भ्याटबिल तिरेको ३५ दिनभित्रमा दर्ता हुनुपर्ने भन्ने व्यवस्था गरेकामा त्यसले समस्या देखिएको छ । हाम्रा यस्तै नीतिका कारण हामी आफैँ लज्जित हुनुपर्ने अवस्था छ । स्वदेशी उत्पादन बढाउँछु भनेर अघि बढेको सरकारले यी विषयमा गम्भीर हुन जरुरी छ”, उनले भने ।

सांसद कृष्णकुमार श्रेष्ठले पुराना उद्योग सञ्चालनका लागि पहल गरिनुपर्ने र वीरगञ्ज कृषि औजार कारखानाको व्यवस्थापनमा थप जिम्मेवार हुन सरकारको ध्यानाकर्षण गराए ।

सांसद गणेश पराजुलीले बर्सेनि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्या बढिरहेकामा ठूलो जनशक्तिसँगै धनराशि पनि बाहिरीने गरेकाले त्यसको निगरानीका लागि तथ्याङ्क प्रणाली बनाइनुपर्ने धारणा राखे । स्वदेश फर्किनेलाई उद्यमशील बनाउन सरकारले ठोस योजना ल्याउनुपर्नेमा उनको जोड छ ।

सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्यको हक संविधान प्रदत्त मौलिक अधिकार रहे पनि नागरिकले अझै त्यसको प्रत्याभूत गर्न नसकेको बताइन् । महिलामा हुने पाठेघरको मुखको क्यान्सरको समस्याबारे सरकारले स्पष्ट नीति लिनुपर्ने उनले बताइन् ।

सांसद चन्द्रबहादुर विश्वकर्माले पुष्पलाल लोकमार्गअन्तर्गत रुकुम र जाजरकोट जोड्ने पुल निर्माणमा ढिलाइ हुनुका कारणबारे सरकारसँग जवाफ मागे ।

त्यस्तै सांसद ज्वालाकुमारी साहले बाराका विभिन्न सडक कालोपत्र गर्नका लागि ठेक्का लिएका ठेकादार नै फरार रहेको उल्लेख गर्नुहुँदै यसबारे सम्बन्धित निकायको जवाफ संसदमार्फत मागेकी छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ३ : ५४ बजे