आशा

आजका सकारात्मक समाचार: ल्यापटप नलिने घोषणादेखि राजाको सम्पति छानविन गर्नेसम्म



काठमाडौं – विहानदेखि राती अवेरसम्म पत्रपत्रिका र अनलाइन समाचार पढ्दा होस् वा टेलिभिजन हेर्दा र रेडियो सुन्दा होस्, नेपालमा सकारात्मक र उत्साहप्रद समाचार खासै पाइदैंन । त्यसो त मिडियामा सकारात्मकभन्दा नकरात्मक समाचारले बढी स्थान पाउँछन् किनकी ती चाडै खपत हुन्छन् ।

फेरी एउटा भनाई तार्किक के छ भने देश बनाउने जनमत पाएको राजनीतिक नेतृत्व वा स्थायी सरकार भनिने कर्मचारीतन्त्रले केही राम्रो गर्यो भने त्यसको प्रचार किन आवश्यक छैन भने त्यो उसको कर्तब्य हो । कर्तब्य प्रचारको सामाग्री होइन । गलत गर्यो भने कर्तब्यच्यूत भयो, त्यसैले त्यो समाचारको बिषय बन्छ ।

नेपालमा निराशा छ र परसम्म पनि आशा देखिदैंन । तर पछिल्लोपटक भ्रष्टाचारीमाथी कारवाही प्रारम्भ भएपछि र जनताको निगरानी व्यापक भएपछि राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दवावमा परेको छ । वास्तममा देश सिध्याउनेमा राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्व बराबर जिम्मेवार छन् । नक्कली भुटानी शरणार्थी प्रकरण त्यसको एउटा पछिल्लो नमुना हो । यो मुद्दा पनि गुपचुप राख्ने वा छानविन नहुने सम्भावना थियो तर जनदवावले मात्र अघि बढेको हो ।
आजमा समाचार सरसर्ती हेर्दा केही सकारात्मक कन्टेट पनि देखिएका छन् ।

पहिलो, कोशीका सवैमा सांसदले ल्यापटप नलिने । कोशी प्रदेश सरकारले सबै सांसद र संसदका कर्मचारीलाई ल्यापटप किन्न डेढकरोड बजेट छुट्याएर बोलपत्र आव्हानसमेत गर्यो । यो समाचार मिडियामा आयो । प्रदेशसभा सांसद हुने व्यक्तिको घरमा ल्यापटप छैन भनेर पत्याउन सकिदैंन । छैन भनपनि किन्न सक्ने हैसियत उसको हुन्छ । यो लालच नै थियो । वा यसका केही आर्थिक चलखेल पनि थियो शायद । तर जनदवाव यस्तरी परयोकी अहिले कांग्रेस, एमाले र माओवादीले समेत ल्यापटप नलिने घोषणा गरेका छन् । हेरौं, यो कार्यान्वयन गर्छन कि गर्दैनन ?

दोश्रो, ललितपुरका प्रतिनिधिसभा सदस्य कांग्रेस नेता उदय शम्सेर राणाको घोषणा । राणा आफै हुनेखाने नेता हुन् । उनले सोमबार प्रतिनिधिसभामा बोल्दा साधरण खर्चमा कटौती आवश्यक रहेको भन्दै आफुले संसदमा बैठक भत्ता नलिने निर्णय गरे । यद्धपी उनले मासिक तलव पनि नलिने घोषणा गर्न सकेनन् । जे होस्, वैठक भत्ता नलिनेभन्दै सवै सांसदलाई भत्ता नलिन आग्रह पनि गरे । हेरौं, अव कसकसले बैठक भत्ता नलिने घोषणा गर्छन । तर त्यो सकारात्मक आरम्भ नै हो । यतिसम्म हुन्छ कि भत्ता लिनकै लागि संसदमा गएर हाजिर गरेर बाहिरिने सांसदको बाहुल्यता छ । त्यस्तो अवस्थामा यस्ता घोषणाको महत्व हुन्छ ।

तेश्रो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको आव्हान । उनले २०४८ पछिका नेताहरुको मात्र होइन, राजा, पञ्चे र मण्डलेहरुको पनि सम्पति छानविन गर्न सरकारलाई आग्रह गरे । राप्रपा राजावादी पार्टी हो र उसको एजेण्डा राजतन्त्रको पुर्नस्थापना हो । राजा आउ देश बचाउ भन्ने पार्टीका अध्यक्षले राजा, राजाका सन्तान, पञ्चे, मण्डले सवैको सम्पति छानविन गरौं भन्नु सकारात्मक नै हो । त्यसो त अहिले सवैले सवैको सम्पति छानविन गरौं भन्छन् लवजमा तर त्यसका लागि आवश्यक काम गर्दैनन् । लिङदेनले भने एउटा स्वतन्त्र आयोग बनाएर छानविन गर्न र बढी भएमा जफत गर्नसमेत माग गरेका छन् । यो राम्रो हो । यो सरकारले जुनसुकै कार्यकालमा भएका भ्रष्टाचारका फाइल खोल्न तयार हुने भन्ने अघिल्लो नीति तथा कार्यक्रमलाई हटाएर पछिल्लो पाँचबर्षका मात्र भन्नुको अर्थ भ्रष्टाचारप्रति गम्भीर छैन भन्नेनै देखिन्छ । कथनी र करणीमा फरक देखियो ।

नोट : हरेक दिन हामी केही सकारात्मक सन्देश दिने समाचारमाथि छोटो टिप्पणी गर्नेछौं । हामीलाई लागेको सकारात्मक कसैलाई नकरात्मक लागेमा पनि हामी त्यसलाई स्वागत नै गर्नेछौं ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  १० : १९ बजे