प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ देखि, सीमादेखि ईपीजी प्रतिवेदनसम्मका एजेण्डा



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गर्नेभएका छन् । नेपाल र भारतले आज एकैसाथ भ्रमणको तालिका सार्वजनिक गरेका हुन् ।

प्रचण्डले प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताएका थिए । तर भारतीय प्रधानमन्त्रीको व्यस्तता कारण करिव छ महिनापछि वल्ल भ्रमण तय भएको हो । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ आज भ्रमणको औपचारिक मिति घोषणा गरेका हुन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको चार दिने भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्ट्राचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोली स्वकीय सचिव गंगा दाहाल, नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालका तर्फबाट प्रस्तुत गर्ने एजेण्डाका बारेमा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिंदै भारतसँग सुमधुर सम्वन्ध कायम गरिने आफ्नो प्राथमिकता भएको बताएका छन् । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित विवादित सीमा समस्याको कूटनीतिक समाधान खोज्न सरकार तयार रहेको बताए । त्यस्तै, इमिनेन्ट पर्सन ग्रुप (ईपीजी)को प्रतिवेदन बुझ्नेबारेमा समेत छलफल हुने उनले बताएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ९ : २७ बजे