एमालेले प्रधानमन्त्रीलाई भन्यो: ईपीजी प्रतिवेदन बुझ्न र सीमा समस्या समाधान गर्न जोड दिनुस्



काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको क्रममा ईपीजीको प्रतिवेदन बुझ्न र सीमा समस्या समाधानको पहल गर्न सुझाव दिएको छ । ईपीजी कार्यान्वयन भएमा दुई देशको सम्वन्ध सुदृढ हुने भएकाले त्यसमा जोड गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।

प्रधानमन्त्री दाहालले सिंहदबारमा पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँगको छलफलमा एमालेले नेपालको राष्ट्रियहितमा पक्षमा दृढताको साथ उभिन सुझाएको हो । नेपालको हितका पक्षमा हुुने पहललाई प्रमुख प्रतिपक्ष दलको हिसाबले एमालेले पूर्णसमर्थन गर्ने छलफलमा सहभागि पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

‘बाह्य सम्बन्ध र परराष्ट्र नीतिमा हामी एकैठाउँमा उभिनुपर्छ । भारत भ्रमणको क्रममा २०१६ मा आवश्यक सुझाव दिन भनेर बनाइएको रिपोर्ट तयार भएको छ । तर, भारतकै कारणले सम्भव हुन सकेको छैन । त्यसैले ईपीजी प्रतिवेदन बुझ्न विशेष जोड दिनुपर्छ । त्यो कार्यान्वयन हुँदा मात्रै दुई देशको सम्बन्ध सुदृढ हुन्छ,’ उनले भने ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भन्ने तथ्यको आधारमा प्रष्ट भएकोले त्यसको समाधानका लागि कूटनीतिक संवाद अघि बढाउन पनि आवश्यक रहेको बताए । ‘त्यो भूभाग नेपालले प्रयोग गर्नेगरी टुंग्याउनुपर्छ । दुई देशका सचिवहरूका संयन्त्रण टुंग्याउने भन्ने समझदारी छ । त्यो कार्यान्वयन हुनुपर्छ’, उनले भने ।

त्यसबाहेक नेपाल भारत व्यापारको बारेमा पनि सहमति गर्ने सुझाव दिएको बताए । वाणिज्य सन्धिको पूर्नरावलोकन र नेपालका वस्तुहरु निर्वाध निर्यातमा पहल गर्न आग्रह गरे । उनले भने, ‘पञ्चेश्वर परियोजना लामो समयदेखि अड्किएको छ । पानीको बाँडफाँट टुंगिएको छैन । महाकाली सीमा नदी हो त्यसमा नेपालको आधा पानीमा हक लाग्छ । त्यसलाई सुनिश्चित गर्नुपर्छ ।’ अरु केही ऊर्जाको भारतले होल्डमा राखेको परियोजना अगाडि बढाउन पनि भ्रमणको क्रममा प्रधानमन्त्रीले पहल गर्न आग्रह गरेको बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ५ : ०२ बजे