नेपाली संस्कृति संरक्षणका लागि विद्यार्थीलाई अनिवार्य नेपाली टोपी



किमाथाङ्का ।
मेरो टोपी कैलासको शिरजस्तो, हिमाली भिरजस्तो
कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने

गोपाल योञ्जनको यो गीतले भनेझै ढाका टोपी पहिरिएपछि गर्वको अनुभूति हुन्छ । टोपी सौन्दर्यको साधनमात्र होइन राष्ट्रको पहिचान पनि भएकाले गौरवको महसुस हुने गरेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा रहेको हिमालय माध्यमिक विद्यालयमा नेपाली टोपी अनिवार्य गरेको छ ।

राष्ट्रियताप्रतिको सम्मान र नेपाली संस्कृति संरक्षणका लागि हिमालय माध्यमिक विद्यालयमा छात्रका लागि नेपाली टोपी अनिवार्य गरेको हो । विद्यालयले नेपाली टोपी अनिर्वाय गरेपछि हिमालय माविका छात्र शिरमा नेपाली ढाकाटोपी सजाएर आउन थालेका छन् ।

नयाँ शैक्षिकसत्रको सुरुबाटै छात्रलाई विद्यालय पोशाकमा नेपाली टोपी र छात्रालाई दुईचुल्ठी बाट्ने र कक्षागत रिबन लगाउन अनिर्वाय गरेको हिमालय माविका सूचना अधिकारी भरत कुलुङले जानकारी दिए। नेपाली पहिचान र गौरवसँग जोडिएको नेपाली टोपी सबै विद्यार्थीलाई अनिवार्य गरिएको सूचना अधिकारी कुलुङले बताए । सुरुआतमा ७० प्रतिशत विद्यार्थीले नेपाली टोपी लगाएर आउन थालेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर र नेपाली टोपी खरिद गर्न नसक्ने विद्यार्थीले लिखित निवेदनका आधारमा विद्यालयले खरिद गरेर उपलब्ध गराउने सूचना अधिकारी कुलुङले बताए ।

नेपाली टोपी नलगाउने छात्र र दुईचुल्ठी कपाल नबाट्ने छात्रालाई हुने अतिरिक्त क्रियाकलापमा भाग लिन पाउँदैनन् । आधुनिकता भित्रिएसँगै विद्यार्थी आधुनिक पोशाक नै लगाउन खोज्छन्, टाइसुटमा नसजिइकनै विद्यार्थी स्कुल जानसमेत मान्दैनन् । तर पछिल्लो समय हिमालय माविका विद्यार्थी ढाका टोपीमा विद्यालय आउँछन् । विद्यालयका करिब एक हजार चार सय ५४ विद्यार्थीले नेपाली टोपी र दुईचुल्ठी कपाल बाटेर विद्यालय प्रवेश गर्छन् ।

ढाकाटोपी नेपालीको पहिचान हो । एक दशकदेखि नेपालमा टोपी दिवससमेत मनाउन थालिएको छ । टोपीले विश्व समुदायमाझ नेपालीको चिनारी बोक्ने भएकाले यसको महत्व छ । हुन त जातीय राजनीति गर्ने दलले अहिले पहिचानका धेरै बहस बाहिर ल्याएका छन्, तर नेपाली टोपीले तराईका यादव समुदायदेखि हिमालका भोटे समुदायको प्रतिनिधित्व गर्छ भन्ने कुराको हेक्का राखिएको छैन । क्षेत्री, बाहुन, नेवार, तामाङ, राई, लिम्बू, यादव सबैले लगाउने भएकाले यो टोपी बहुजातीय पहिरन बनेको छ, तर युवा भने नेपाली टोपीलाई दिवसका दिनमा मात्रै पहिरिने गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ९ : ०० बजे