छ जना अवोध बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार



पेरिस । फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिका छुरी आक्रमणको शिकार भएका छन् ।

बिहीबार बिहान सहरको ताल नजिकैको उद्यानमा चक्कु बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएको एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै सुरक्षा स्रोतले एएफपीलाई बताएको छ । आक्रमणकारीलाई पक्राउ गरिएको छ ।

आक्रमणमा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको सुरक्षा स्रोतले बताएको छ ।

प्रधानमन्त्री एलिजाबेथ बोर्न आक्रमणबारे जानकारी लिन र त्यहाँको वस्तुस्थिति बुझ्न घटनास्थल जाने तयारमी छिन् । फ्रान्सेली सञ्चारमाध्यममा आक्रमणको खबर सार्वजनिक भएपछि राष्ट्रिय संसद्का सदस्य एक मिनेट मौन भएका थिए ।

आक्रमणकारी फ्रान्समा शरण चाहने सिरियाली नागरिक भएको बताइएको छ ।

यसैबीच, राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ९ : ४० बजे