ग्रीसमा आप्रवासी चढेको डुङ्गा डुब्दा हराएका सयौं बेपत्ताको खोजी जारी



कालामाटा । दक्षिणी ग्रीसमा भएको समुद्री विपत्तिमा बाँच्न सफल भएकाहरूको खोजी कार्य जारी रहेकै बेला उद्धारकर्मीहरूले मृत आप्रवासीको शव ‘रेफ्रिजेरेटेड ट्रक’मा स्थानान्तरण गरेका छन् । सयौं मानिस अझै हराइरहेको आशङ्का गरिएको छ ।

लिबियाबाट इटाली जान चाहने आप्रवासीलाई लिएर जाँदै गरेको एउटा माछा मार्ने डुङ्गा एक दिनअघि ग्रीसको तटीय क्षेत्रमा गहिरो पानीमा डुबेपछि कम्तीमा ७८ जनाको शव फेला परेको थियो ।

उद्धारकर्ताहरूले इजिप्ट, सिरियाली, पाकिस्तानी, अफगान र प्यालेस्टाइनी सहित १०४ जना यात्रुलाई बचाएका थिए, जसमा अधिकांश पुरुष र आठ जना नाबालिकहरू पनि थिए । यदि यसको पुष्टि भयो भने यो त्रासदी मध्य भूमध्यसागरमा अहिलेसम्मकै सबैभन्दा खराब घटना हुनेछ ।

“बाँचेकाहरु निकै कठिन अवस्थामा छन् । अहिले उनीहरू स्तब्ध छन्,” संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीको प्रतिनिधिमण्डलकी प्रमुख इरास्मिया रौमानाले दक्षिणी बन्दरगाह कलामाटाको भण्डारण ह्याङ्गरमा उद्धार गरिएका आप्रवासीलाई भेटेपछि एसोसिएटेड प्रेस (एपी)सँग भन्नुभयो ।

“उनीहरू आफ्नो परिवारसँग सम्पर्क गर्न चाहन्छन्, उनीहरूले आफुलाई ठीक छ भनेर बताउन चाहन्छन्, र हराएका आफन्तहरूको बारेमा सोधिरहेका छन् । धेरैका साथीभाइ र नातेदारहरू वेपत्ता छन् ।

ग्रीसले तीन दिनको शोकको घोषणा गरेको छ र राजनीतिज्ञहरूले जुन २५ मा हुने आम चुनावको लागि प्रचार अभियान स्थगित गरेका छन् ।

सर्वोच्च अदालतका एक अभियोजकले मृत्युको परिस्थितिबारे अनुसन्धान गर्न आदेश दिएका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले यस घटनाबाट आफू निकै दुःखी भएको बताउँदै आप्रवासीहरूलाई खतरनाक मार्ग हुँदै यूरोप अमेरिका लाने मानव तस्करमाथि थप कारबाही गर्न युरोपेली सङ्घ र आसपासका देशबीचको सहकार्यलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तर मानव अधिकारवादी समूहहरूले यस कारबाहीको अर्थ आप्रवासी र शरणार्थीहरू सुरक्षित देशहरूमा पुग्न लामो र खतरनाक बाटोहरू प्रयोग गर्न बाध्य भएको तर्क गरेका छन् ।

ग्रीसको पेलोपोनीज क्षेत्रको दक्षिणमा बिहीबार बिहानै गरिएको उद्धार अभियानले थप शव वा जीवित व्यक्ति फेला पार्न नसकिएको जनाएको छ ।
ग्रीसको तटरक्षक बलका अवकाशप्राप्त एडमिरल निकोस स्पानोसले सरकारी ईआरटी टेलिभिजनसँग भन्नुभयो, “अझै धेरै जीवित व्यक्तिहरू फेला पर्ने सम्भावना न्यून छ ।”

उहाँले भन्नुभयो, “हामीले लिबियाबाट आउने यस्ता पुराना माछा मार्ने डुङ्गाहरू आएको पहिले पनि देख्ने गरेका थियौँ । तिनीहरू लगभग ३० मिटर लामो हुन्छन् र छ सयदेखि सात सयसम्म मानिसहरूलाई बोक्न सक्दछन् । तर तिनीहरू कुनै पनि हालतमा समुद्री मार्गमा मानिस बोक्न योग्य हुँदैनन् । सरल भाषामा भन्ने हो भने, तिनीहरू तैरिरहेका कफिनहरू हुन् ।”

उहाँले थप्नुभयो, “सामुद्रिक सुरक्षाविद्का अनुसार डुङ्गामा इन्धन सकिएपछि वा इन्जिनमा समस्या आएपछि डुबेको हुन सक्छ । समस्यापछि जहाजभित्र यात्रुको ओहोरदोहोर हुँदा डुङ्गा डगमगाएर डुबेको पनि हुन सक्छ ।”

ग्रीक अधिकारीहरूले जहाज डुब्नुअघिको हवाई तस्वीर सार्वजनिक गरेका थिए जसमा मानिसहरू डेकमा खचाखच भरिएको देखिएको थियो । अधिकांशले लाइफ ज्याकेट लगाएका थिएनन् ।

“हामी भूमध्यसागरमा सबैभन्दा ठूलो त्रासदीको साक्षी बनिरहेका छौं, र अधिकारीहरूले घोषणा गरेको सङ्ख्या विनाशकारी छ,” संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकाय ९आईओएम०को ग्रीक शाखाका प्रमुख जियानलुका रोक्कोले भन्नुभयो ।

आईओएमले सन् २०१४ देखि मध्य भूमध्यसागरमा २१ हजारभन्दा बढीको मृत्यु र बेपत्ता भएको जनाएको छ ।

ग्रीसको तटरक्षक बलले इटालियन अधिकारीहरूले अन्तर्राष्ट्रिय जल क्षेत्रमा माछा मार्ने माझीको उपस्थितिबारे जानकारी गराएको जनाएको छ ।

डुङ्गालाई सहयोग गर्ने आफ्नै जहाज र व्यापारिक जहाजहरूको प्रयासलाई बारम्बार अस्वीकार गरिएको र जहाजमा सवार मानिसहरूले उनीहरूलाई इटालीमा जारी राख्न चाहेको बताएका छन् ।

दक्षिणी ग्रीसमा बाँचेकामध्ये २९ जना अझै पनि अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्, जसमध्ये अधिकांशमा हाइपोथर्मियाको लक्षण देखिएको छ भने आठ जनालाई तटरक्षकका अनुसन्धानकर्ताहरूले सोधपुछ गरेका छन् । सरकारी अधिकारीहरूले बाँचेकाहरूलाई बिहीबार वा शुक्रबार एथेन्स नजिकैको आप्रवासी आश्रयस्थलमा स्थानान्तरण गरिने बताएका छन् ।

मृतक आप्रवासीको शवलाई एथेन्सबाहिरको मुर्दाघरमा लगिएको छ, जहाँ डीएनए नमूना र अनुहारको फोटो खिचेर पहिचान प्रक्रिया सुरु गरिनेछ । यसका लागि सम्बन्धित देशका दूतावासले सहयोग गर्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यो स्थान भूमध्य सागरको सबैभन्दा गहिरो भागको नजिक छ, जहाँ १७,० फिट (५,२०० मिटर) सम्मको गहिराइले डुबेको जहाज पत्ता लगाउने कुनै पनि प्रयासमा बाधा पुर्‍याउन सक्छ ।

आइओएमका अनुसार प्रारम्भिक रिपोर्टअनुसार डुङ्गामा ४०० जनासम्म सवार थिए । अधिकारकर्मीहरूको एक सञ्जालले सोही क्षेत्रमा रहेको एउटा डुङ्गाबाट ७५० जना यात्रु बोकेको डुङ्गाबाट आपतकालीन फोन आएको बताएको छ ।

सन् २०१५ को अप्रिल १८ मा लिबियामा आप्रवासीहरू बोकेको माछा मार्ने एउटा डुङ्गा उद्धारका लागि आउने क्रममा मालवाहक डुङ्गासँग ठोक्किएर दुर्घटना भएको थियो । उक्त डुङ्गामा सवार २८ जना मात्र बाँचेका थिए । फरेन्सिक विशेषज्ञहरूले विमानमा करिब एक हजार १०० जना सवार रहेको निष्कर्ष निकालेका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १० : १४ बजे