सुडानको डार्फरमा ‘निर्मम हत्या’ रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह



जेनेभा । संयुक्त राष्ट्रसङ्घले पश्चिम डार्फर राज्यको राजधानी एल जेनेनाबाट भागेर आएका मानिसहरूको अर्धसैनिक बलको सहयोगमा अरब मिलिसियाले गरेको ‘निर्मम हत्या’ रोक्न तत्काल कदम चाल्न शनिबार आग्रह गरेको छ ।

अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सुडानी सेना दुई महिनाभन्दा बढी समयदेखि उनका पूर्व डेपुटी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँग लडिरहेको छ ।

चाडसँग सीमा जोडिएको विशाल पश्चिमी क्षेत्र डार्फरमा सबैभन्दा घातक हिंसा भड्किएको छ जहाँ द्वन्द्वले ‘जातीय आयाम’ लिएको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले एक विज्ञप्ति जारी गर्दै भनिन्, “हामी यस प्रकारका निर्मम हत्याका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौं र यसलाई रोक्न तत्काल कदम चाल्न आग्रह गर्दछौं ।”

“एल जेनेनाबाट भागेका मानिसहरूलाई सुरक्षित मार्गको ग्यारेन्टी गरिनुपर्दछ र मानवीय एजेन्सीहरूलाई मारिएकाहरूको अवशेष सङ्कलन गर्न त्यस क्षेत्रमा प्रवेश गर्न अनुमति दिनुपर्छ,” उनले थपिन् ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले चाडबाट भागेका मानिसहरूले ’¥र्‍यापिड सपोर्ट फोर्सेजद्वारा समर्थित सशस्त्र ‘अरब’ लडाकूले एल जेनिनाबाट पैदलै भाग्ने मानिसहरूलाई मारेको डरलाग्दो विवरण दिएको बताएको छ ।”

प्रत्यक्षदर्शीहरूले गैर–अरब मसालित समुदायका मानिसहरूलाई लक्षित गरेर अरब लडाकूको ‘पुष्टि गर्ने विवरणहरू’ दिएका थिए ।

“सवालमासहभागी सबैले सडकमा छरिएर रहेका शव र सडेगलेको दुर्गन्ध देखेको पनि बताएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

चाडसँग जोडिएको सुडानको सीमाबाट करिब १० किलोमिटर टाढा रहेको शुक्री भनिने क्षेत्रमा दर्जनौं शव देखेपछि धेरैले आक्रमणबारे बोलेका थिए ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले अन्तर्वार्ता लिएका १६ जनामध्ये दुई जनाबाहेक सबैले गत जुन १५ देखि १६ को बीचमा एल जेनिनादेखि सीमासम्मको सडकमा ‘हत्या’ गरेको र सर्वसाधारणलाई निशाना बनाइएको देखेको बताएको छ ।

संयुक्त राज्य अमेरिकाले गत हप्ता एल जेनिनामा एक हजार १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय अधिकार कार्यालयले जारी गरेको विज्ञप्तिमा एल जेनिना ‘बस्न अयोग्य’ भएको र आवश्यक पूर्वाधारहरू ध्वस्त भएको र शहरमा सहायताको आवागमन अवरुद्ध भएको उल्लेख गरिएको छ ।

यसले आरएसएफ नेतृत्वलाई ‘तत्काल, स्पष्ट रूपमा निन्दा गर्न र एल जेनिनाबाट भागेका मानिसहरूको हत्या रोक्न’ आह्वान गरेको छ ।

“हत्या र अन्य हिंसाका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।

“हामी चाड र एल जेनिनाबीच तत्काल मानवीय करिडोर स्थापना गर्न र द्वन्द्वबाट प्रभावित क्षेत्रहरूबाट नागरिकहरूको लागि सुरक्षित मार्ग स्थापना गर्न आग्रह गर्दछौं ।”

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : ३९ बजे