बङ्गलादेशी इस्लामिक लडाकू समूहका प्रमुख पक्राउ



ढाका । बङ्गलादेशको राजधानी ढाकामा रहेको एक इस्लामिक सङ्गठनका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

देशको अशान्त चटगाउँ पहाडी क्षेत्रमा लडाकू प्रशिक्षण शिविर सञ्चालन गर्न सहयोग गरेको आरोप लागेका जमात अल अन्सार फिल हिन्दल शारकियाका संस्थापक शमिन महफुजलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार महफुजलाई शुक्रबार राति राजधानीको एक औद्योगिक उपनगरबाट उहाँकी श्रीमतीसहित पक्राउ गरिएको थियो । उनीहरू पेस्तोल, विस्फोटक पदार्थ र बम बनाउने सामग्रीसहित फेला परेका थिए ।

“महफुजविरुद्ध आतङ्कवाद विरोधी मुद्दा दायर गरिएको छ । ढाका नगर प्रहरी काउन्टर, आतङ्कवाद नियन्त्रण एकाइका मोहम्मद असदुज्जमानले पत्रकारहरूसँग भने, “हामी उहाँसँग सोधपुछ गर्नका लागि उहाँलाई १० दिनको लागि हिरासतमा लिएका हौँ ।”

महफुजका वकिलहरूसँग टिप्पणीका लागि सम्पर्क हुन सकेन ।

असदुज्जमानका अनुसार शारकियाका संस्थापकलाई सन् २०१४ मा पहिलो पटक हिरासतमा लिइएको थियो र जेलमा रहँदा उहाँ अन्य प्रतिबन्धित चरमपन्थी समूहको सम्पर्कमा आएका थिए ।

प्रहरीका अनुसार महफुजले सङ्गठनलाई क्रिश्चियन जातीय समूह, कुकी–चिन नेसनल फ्रन्ट (केएनएफ), द्वारा सञ्चालित प्रशिक्षण शिविरहरू प्रयोग गर्नका लागि मध्यस्थता गरेको थियो ।

गत अक्टोबरमा देशको विशिष्ट र्‍यापिड एक्सन बटालियन’ ले भारतीय सीमा नजिकका तीन दुर्गम पहाडी शहरहरूमा केएनएफ र शारकिया शिविरहरूमा आक्रमण गरेको र दर्जनौं मानिसहरूलाई गिरफ्तार गरेको बताएको थियो ।

यस कारबाहीका कारण सयौं गाउँलेहरू सीमापारी भाग्न र उत्तरपूर्वी भारतीय राज्य मिजोरममा शरण लिन बाध्य भएका थिए ।

केएनएफ र बङ्गलादेशी सेनाबीच पछिल्लो चार महिनामा भएको झडपमा कम्तीमा पाँच सैनिकको मृत्यु भएको सेनाले जनाएको छ ।

केएनएफले भने गत वर्ष एक फेसबुक पोस्टमा शारकियासँग कुनै पनि सम्बन्ध अस्वीकार गरेको थियो ।

करिब एक दर्जन नास्तिक लेखक, धर्मनिरपेक्ष र समलिंगी अधिकारकर्मी र अल्पसङ्ख्यकको ज्यान जाने गरी भएको शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणपछि बङ्गलादेशको सुरक्षा बलले गत दशकमा इस्लामी अतिवादीहरूविरुद्ध देशव्यापी अभियान चलाएको थियो ।

सन् २०१६ मा ढाकाको एक रेष्टुरेन्टमा इस्लामिक स्टेटसम्बद्ध समूहका सदस्यले १७ जना विदेशीसहित २२ जना सर्वसाधारणको हत्या गरेका थिए ।

बङ्गलादेश प्रहरीले चरमपन्थीहरूको लुकेका स्थानहरूमा राष्ट्रव्यापी छापामा १०० भन्दा बढी व्यक्तिहरूलाई गोली हानेर मारेको छ र हजारौं कथित चरमपन्थी समूहका सदस्यहरूलाई गिरफ्तार गरेको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : ४२ बजे