उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्री किरातीको ९ बुँदे स्पष्टीकरण



काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।

नागरिक उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको लगायतका दर्जन बढी आरोप लगाइएको छ ।

सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गर्ने नीति लिएको भए पनि त्यस नीति विरुद्ध काम गरेको र अभिव्यक्ति दिइएको आरोप छ । चालु आर्थिक वर्ष २०७८÷७९मको बजेटको घोषणा तथा अन्तर्राष्ट्रिय हवाई संगठनको सिफारिसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकायका रुपमा छुट्याउने नीति विपरीत सार्वजनिक सञ्चारमाध्यममा कार्यात्मक विभाजन मात्रै गर्दा हुने अभिव्यक्ति दिएको, महानिर्देशक भएपछि २ वटा यात्रुबाहक विमान र ३ वटा हेलिकप्टरहरु दुर्घटना भएको लगायतका विषय समेत उठाएर स्पष्टीकरण सोधिएको हो ।

त्यस्तै, दुर्घटना रोक्नभन्दा दुर्घटनापछि प्रतिक्रिया दिन मात्रै अघि सरेको, एरोड्रम सेफ्टी स्टान्डर्ड विभाग र राष्ट्रिय गौरबका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाएर पोखरा विमानस्थलको प्रमाणीकरण गरेको,फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई उड्डयन सुरक्षा मूल्यांकनको पूर्व तयारीसमेत नगरीकन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको, परीक्षण उडानपछि प्रतिवेदन प्राप्त नभई एयरबस ३२० विमानलाई पोखरा विमानस्थलमा उडान गराएको आरोप पनि लगाइएको छ ।

यी लगायत पोखरा विमानस्थल उद्घाटनको दिन भीएफआरको समय सकिएपछि पनि लापरवाहीपूर्वक उड्डयन सुरक्षा नियम प्रतिकुल हुने गरी ५ वटा विमान कम्पनीका उडानहरु गराएको विषयमा मन्त्रालयले अधिकारीलाई जवाफ पेश गर्न भनिएको छ । पोखरा विमानस्थलको सञ्चालनमा ल्याउन छिनडाँडा काट्दा आर्थिक हानि नोक्सानी पुर्याएको लगायतका विषयमा पनि स्पष्टकीरण सोधिएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १२ : ५३ बजे