चीन सरकारलाई अध्यक्ष ओलीको आग्रह: कोभिडका बेला बन्द भएका सवै व्यापारिक नाका खोल्नुस्



काठमाडौं – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विश्व महामारीका बेला बन्द गरिएका नेपाल–चीन व्यापारिक नाका खोल्न चीन सरकारलाई आग्रह गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युयान च्याचुनसँगको भेटवार्तामा मंगलबार नेता ओलीले नेपाल र चीनविचका सवै व्यापारिक नाका खोल्न आग्रह गरेका हुन् । दुवै देशविचको जनस्तरको सम्वन्धलाई वलियो बनाउन र निर्वाधरुपमा द्धिपक्षीय व्यापारलाई प्रवद्र्धन गर्न नाका खोल्न आवश्यक रहेको बताएका हुन् ।

त्यस्तै, अध्यक्ष ओलीले नेपालको विकासमा चीनको सहयोग महत्वपूर्ण रहेको भन्दै समुन्नत नेपाल, समृद्ध नेपालीको राष्ट्रिय आँकाक्षामा चीन सहयोगी हुने विश्वास व्यक्त गरे । नेपालको कृषि, पर्यटन र पूर्वाधारलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने ओलीले बताएका थिए ।

सीपीसी पोलिटब्युरो सदस्य युयानले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला भएको सहमति र समझदारी स्मरण गर्दै तीनलाई कार्यान्वयन गरेर अघि बढ्नु दुवै देशको हितमा रहेको बताएका थिए । राष्ट्रपति सीले सन् २०१९ मा नेपालको भ्रमण गरेका थिए । त्यसबेला नेपाललाई भूपरिबेष्ठितबाट भूजडित राष्ट्रमा रुपान्तरण गर्न नेपालले थालेको प्रयासलाई चीनले सहयोग गर्ने बताएका थिए ।
उनले नेपालको जलश्रोत, पर्यटन र पूर्वाधारमा सहयोग गर्न चीन इच्छुक रहेको भन्दै नेपालको प्राथमिकताका क्षेत्रमा सहयोग बढाउने नीति चीनले लिएको बताएका थिए । राष्ट्रपति सीका विश्वासपात्र समेत रहेका युयान श्रींलकाको भ्रमण सकी नेपाल आएका हुन् । उनले २६ सदस्यीय प्रमण्डलको नेतृत्व गरेका थिए । नेपाल भ्रमणका क्रममा युयानले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिएभने इटली पुगेका प्रधानमन्त्री प्रचण्डलसँग भर्जुअल भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : ४९ बजे