सम्बन्धलाई ‘जिम्मेवारीपूर्वक व्यवस्थापन’ गर्ने प्रयासमा येलेनको चीन भ्रमण



वासिङ्टन । विश्वका शीर्ष दुई अर्थतन्त्रबीचको सम्बन्धमा देखिँदै आएको तनाव कम गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेनले यसै साता बेइजिङको भ्रमण गर्ने भएका छन् ।

अमेरिकी अर्थमन्त्रालयका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत जुनमा बेइजिङमा चीनका शीर्ष नेता सी चिनपिङ र विदेशमन्त्री किन गाङसँग भेटवार्ता गरेको केही हप्तापछि येलेनको जुलाई ६ देखि ९ सम्मको भ्रमण हुन लागेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “येलेनले आफ्ना समकक्षीहरूसँग ‘सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न, चासोका क्षेत्रहरूको बारेमा प्रत्यक्ष संवाद गर्न र विश्वव्यापी चुनौतीहरूको सामना गर्न सँगै काम गर्न’ दुवै देशको महत्वबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।”

करिब पाँच वर्षमा चीनको राजधानी बेइजिङ भ्रमण गर्ने सबैभन्दा उच्च पदस्थ अमेरिकी अधिकारी ब्लिन्केनको गत महिना भएको भ्रमण दुर्लभ भएको र यस क्रममा वासिङ्टन र बेइजिङबीचको तनावपूर्ण सम्बन्धमा आफूले प्रगति देखेको चिनियाँ राष्ट्रपति सीले बताएका थिए ।

बेइजिङमा येलेनले चीनसँगको आर्थिक सम्बन्धलाई अमेरिकाले कसरी हेर्छ भन्ने विषयमा छलफल गर्ने एक वरिष्ठ अर्थ अधिकारीले आइतबार बताएका छन् ।

उनले चीनका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने र प्रमुख अमेरिकी कम्पनीको अवलोकन गर्नेछन् अमेरिकी मन्त्रालयका प्रवक्ताले बताए । “अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा हित सुरक्षित गर्न र मानव अधिकारको रक्षा गर्न चाहेको भए तापनि यस सम्बन्धी कार्यहरू ‘चीनमाथि आर्थिक लाभ प्राप्त गर्ने उद्देश्य’ ले गरिएको होइन,” उनले भने ।

“वासिङ्टनले बेइजिङसँगको ’स्वस्थ’ सम्बन्धलाई पनि हेर्छ र जलवायु परिवर्तन र कर्जा संकटजस्ता अत्यावश्यक चुनौतीहरूमा सहकार्य गर्दै अर्थतन्त्रलाई कमजोर बनाउन चाहँदैन,” उनले भने ।

संयुक्त राज्य अमेरिकाले यस प्रारम्भिक यात्राबाट ‘महत्वपूर्ण सफलता’ को अपेक्षा गर्दैन, तर यसले चीनसँग सञ्चारको दीर्घकालीन च्यानलहरू निर्माण गर्ने लक्ष्य राखेको छ, अमेरिकी अर्थमन्त्रालयका एक वरिष्ठ कर्मचारीले भने ।

‘काउन्सिल अन फरेन रिलेसन्स (सीएफआर)’ का वरिष्ठ सदस्य एडवर्ड एल्डेनले एएफपीसँग भने, “मलाई लाग्छ कि अमेरिकी सरकारले स्पष्ट रूपमा आर्थिक सम्बन्धको बिग्रँदो अवस्थालाई कम गर्न प्रयास गरिरहेको छ ।

येलेनको यात्राले ‘तल्लो स्तरमा वार्ता र छलफलको स्थिर ढाँचा पुनः सुरु गर्न सक्छ,” उनले भने । “पछिल्लो समय अमेरिकाले समस्यालाई कसरी समाधान दिने भन्नेतिर भन्दा जोखिम कम गर्ने अस्पष्ट रणनीतिलाई अपनाएको देखिन्छ, उनले थपे ।

एल्डेनले भने, “यसको अर्थ रणनीतिक महत्व भएका वस्तुहरूको संकुचित दायरामा ध्यान केन्द्रित गर्नु हो, ती वस्तुहरूको वरिपरि तारबार निर्माण गर्ने प्रयास गर्नु हो । तर अमेरिका–चीन आर्थिक सम्बन्धलाई उचित रूपमा बलियो बनाउन जारी राख्ने प्रयास गर्नु उचित हो ।”

तर पर्यवेक्षकहरूले दुई सिद्धान्त र परिवेशबाट अघि बढिरहेका दुई ठूला अर्थतन्त्र भएका मुलुकका जिम्मेवार अधिकारीको भ्रमणले तनावको शीघ्र समाधान दिनेमा खासै आशा नगरेको देखिन्छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १ : ५२ बजे