युक्रेनद्वारा डोनेट्स्कमा भीषण आक्रमण


रासस

२० असार २०८०, बुधबार  

0
Shares

मस्को । रुसी सेनाको नियन्त्रणमा रहेको पूर्वी युक्रेनी सहर डोनेट्स्कको माकिभकामा युक्रेनले भीषण आक्रमण गरेको छ । युक्रेनी कारबाहीमा एक जनाको मृत्यु भएको तथा अन्य ४१ जना घाइते भएका छन् ।

रुसी अधिकारीहरूका अनुसार युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित ४१ जना घाइते भएका छन् । युक्रेनको सेनाले माकिभकामा रहेको रुसी सेनाको एउटा संरचनालाई पनि ध्वस्त पारेको छ । युक्रेनी सेनाले आवासीय क्षेत्र र माकिभकाको अस्पताल परिसरमा पनि भीषण आक्रमण गरेको छ ।

सन् २०१४ देखि नै डोनेट्स्क क्षेत्र आंशिकरूपमा क्रेमलिन समर्थित पृथकतावादीको कब्जा गरेको छ । यसलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिनु रुसी फौजको मुख्य सैन्य उद्देश्य हो । केही दिनदेखि यहाँको औद्योगिक क्षेत्रलाई पनि युक्रेनी सेनाले आक्रमणको केन्द्रबिन्दु बनाएको छ ।

युक्रेनी सेनाले गरेको आक्रमणमा नौ वटा स्वास्थ्य सेवा केन्द्रमा क्षति पुगेको डोनेट्स्कस्थित रुसी अधिकारी डेनिस पुशिलिनले बताएका छन् । चालीस वटा आवसीय भवन, विद्यालय र वारुणयन्त्र कार्यालयमा पनि क्षति भएको छ । यद्यपि उनले थप विवरण दिएका छैनन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ९ : १४ बजे